इलाम। नेपाली गोलभेडा निकासीमा भारतले लगाएको प्रतिबन्ध हटेसँगै पूर्वी पहाडी क्षेत्रमा उत्पादित गोलभेडा भारतीय बजारमा निकासी हुन थालेको छ । इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुममा उत्पादित गोलभेडा भारतीय बजारसम्म निकासी हुन थालेको हो । नेपालबाट भारत निर्यात हुने सामग्रीको सूचीमा गोलभेडा नरहेको भन्दै असार १४ गतेदेखि सिमानाकावाट भारतले गोलभेडा निर्यात हुन दिएको थिएन ।
निकासी नभएपछि करोडौंको गोलभेडा कुहिएको समाचार सार्वजनिक भइरहेका बेला प्रदेश र संघीय सरकारको समन्वयमा भारत स्थित वाणिज्य तथा आपुर्ति मन्त्रालयसँग वार्ता गरी गोलभेडाको निकासी सहज वनाउन पहल गरेको हो ।
दुईपक्षिय वार्तापछि सोमवार नेपाली गोलभेडा भारत निकासी हुन थालेको ब्यवसायीहरुले बताएका छन् । पूर्वी पहाडी क्षेत्रमा उत्पादित गोलभोडा शिलिगुडी सहित भारतका विभिन्न वजारसम्म निकासी हुने गरेकोमा असार १४ गतेदेखि भारतीय अवरोधसँगै निकासी ठप्प भएको थियो ।
दुवै देशका आपुर्ती मन्त्रालयका सचिव स्तरीय छलफल पश्चात सोमवारदेखि तत्कालका लागि गोलभेडा निकासीमा लगाइएको प्रतिवन्ध हटाउनका साथै नेपालवाट निर्यात हुने वस्तुको सूचीमा गोलभेडालाई समावेश गर्न प्रकृया थाल्ने सहमति भएको १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रवहादुर आङवोले जानकारी दिए । निकासी खुकुलो भएपछि गोलभेडा किसानले राहत महसुश गरेको छन् ।