चियामा गुणस्तर बढाउँदै किसान

चिया ‘टेस्टिङ’ सिक्दै किसान

  सरलपाटी सम्वाददाता

 686 पटक हेरिएको

sdr
इलाम।भारतको सिलिगुढीबाट आएका चिया विज्ञ जेपी गुरूङले जिब्रोमा स्वाद घुमाइ रहंदा छक्क परेका अजम्बरे चिया उत्पादक सहकारी संस्थाका हिरालाल तामाङलाई चियाको चखाइनै अचम्मको लाग्यो । सुरूप्प तानेर जिब्रोको अगाडि, पछाडि, दायाँ, बायाँ सबै घुमाउँदामात्र चियाको स्वाद पाइन्छ, दूध–चिनी मोलेर खाएको चिया, चिया होइन स्वास्थ्यका लागि विष हो, चिया विज्ञ गुरूङले चियाको तरिका सिक्न भेला भएका किसान सँग भन्नुभयो– जुन चियाको स्वाद धेरैबेर जिब्रोमा रहन्छ त्यसलाई विदेशी व्यापारीले धेरै मन पराउँछन् ।
किसानहरूलाई चिया टेस्टिङको तरिका सिकाउन साउनको पहिलो साता इलाममा आउनुभएका गुरूङलाई चाखेमध्ये त्यही देउमाइ नगरपालिका– ८ जीतपुर स्थित अजम्बरे चिया उत्पादक सहकारी संस्थाको ‘सिल्भर टी’ उत्कृष्ट लाग्यो । तातो पानीमा राखेपछि पनि हेर्दा पानीनै देखिने सिल्भर टी चियाको एउटा सुइरोकोमात्र हुने गरेको छ । तीन सय किलो क्षमताको सानो उद्योग छ, अजम्बरे संस्थाको सबै हरियो पत्ती, अन्य किसानहरूको पनि लिएर तयारी चिया बनाउँछु, हिरालालले भन्नुभयो–यो उत्कृष्ट भनेको सिल्भर टी थोरै हुन्छ, एक वर्षमा अन्य आठ–दश हजार किलो तयारी चिया मध्ये केही विदेश पनि पठाउने गरेको छु । हिरालालले गतवर्ष ६७ किलो चिया जापान पठाएको जानकारी दिनुभयो । यहाँ उत्पादन भएको चिया सबै अर्गानिक हो । तर, अजम्बरेले अर्गानिक प्रमाणिकरणको अन्तिम चरणको प्रक्रियामा छ ।
चमैतास्थित तीनजुरे चिया सहकारी संस्थाले तयार गरेको ‘स्पेशियालिटी टी’ ले पनि चिया विज्ञ गुरूङको ज्रिब्रामा राम्रै स्वाद दियो । ‘एपिरेन्स, ड्राइ लिफ, इन्ल्फुज लिफ (भिजेको चिया), लिकंर (झोल), टेस्टिङका मुख्य प्वाइन्ट हुन्, चिया विज्ञ गुरूङले भन्नुभयो, व्यापारीले वास्ना लिने, कलर हेर्ने र टेस्ट गर्ने हो तर, चिया अर्गानिक हुनुपर्नेमा कुनै शर्त हुँदैन ।
नेपालका चिया सहकारी अथवा ठूला–साना उद्योगहरूले उत्पादन गरेको तयारी चिया विदेश पठाउन भने अर्गानिकनै हुनुपर्छ । अझ अर्गानिक प्रमाणिकरण गरेको भए विदेशीले त्यो चियालाई बढी मनपराउने गरेका छन् । अर्गानिक चियामा विदेशीको ध्यान केन्द्रित हुनथालेपछि किसान, सहकारी तथा उद्योगहरू आफैंले चियालाई पूर्ण अर्गानिक बनाउने अभ्यास गरिरहेका छन् । अहिले सम्म साँखेजुङस्थित साँग्रिला चिया कारखाना, सुन्दरपानीको गोर्खा टी स्टेट, पाँचथरको कञ्चनजंघा टी स्टेट, माइपोखरीको सन्दकपुर चिया कारखाना, जसविरे चिया कारखाना, देउमाइको ब्रर्दश चिया उद्योगले विदेशी संस्थाहरू नासा, आइओएम र सेरेसबाट अर्गानिक प्रमाणिकरणको प्रमाणपत्र लिइसकेका छन् ।
यस्तै साँखेजुङको उच्चपहाडी चिया उत्पादक सहकारी संस्था, गोर्खा टी स्टेट अन्र्तगत सुन्दपानी चिया उत्पादक सहकारी संस्था, कोलबुङस्थित इको सहकारी संस्था, पञ्चकन्याको हिमशिखर चिया उत्पादक सहकारी संस्थाले नासाबाट अर्गानिक प्रमाणिकरण गरिसकेका छन् । साँखेजुङको ग्रीनहील, चमैताको तीनजुरे सहकारी संस्था, फिक्कलको इलामेली चिया उत्पादक सहकारी संस्था, जीतपुरको अजम्बरे, देउराली र नवमी चिया उत्पादक सहकारी संस्थाले भने अर्गानिक प्रमाणिकरणका लागि युरोपियन अर्गानिक एजेन्सी सेरेस र आइओएममा निवेदन दिएका छन् । यी सबैको अर्गानिक प्रमाणिकरण अन्तिम चरणमा रहेको केन्द्रीय चिया सहकारी संघले जनाएको छ ।
अर्गानिक प्रमाणिकरण गर्न पनि किसानलाई त्यति सजिलो छैन । अर्गानिक प्रमाणिकरण गर्ने संस्थाहरू नासा, आइओएम, सेरेस जस्ता विदेशी संस्थामा, म अब पूर्ण अर्गानिक बनाउँछु भनेर निवेदन दिनुपर्ने हुन्छ । निवेदन दिएपश्चात अर्गानिकको मापदण्ड अन्र्तगत रहेर रासायनिक मल, विषादीको प्रयोग बन्द गर्नु किसान स्वयंको आचार संहिता हो, केन्द्रीय चिया सहकारी संघका महासचिव रविन राईले भन्नुभयो–त्यसपछि आन्तरिक रूपमा अनुगमन कर्ता पनि राखिएको हुन्छ । किसानका समुहहरू एक–अर्काकामा गएर चियामा मल र विषादीका बारेमा निरिक्षण गर्छन् । तीनवर्ष सम्म यो प्रक्रिया चलेपछि बल्ल हामीले पूर्ण अर्गानिक बनायौं भनेर प्रमाणिकरण गर्ने संस्थामा खबर गरेपछि त्यहाँबाट अनुगमन कर्ता आउँछन् । यसरी आउने अनुगमनकर्तालाई इन्स्पेक्टर भनिन्छ । यी इन्स्पेक्टरलाई निवेदकवाला आफैं खर्च गर्नुपर्ने हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार