जिल्ला निकासी कर नलिन अन्तरिम आदेश

  सरलपाटी सम्वाददाता

 1328 पटक हेरिएको


इलाम। जिल्ला समन्वय समिति इलामले लिँदै आएको जिल्ला निकासी कर तत्काललाई नलिन विराटनगर उच्च अदालत इलाम इजलासले विहीबार आन्तरिम आदेश जारी गरेको छ ।
वन पैदावर व्यवसायीहरुले जिल्ला समन्वय समिति इलाम, निकासी ठेकेदार र जिल्ला समन्वय समितिका प्रमुखलाई विपक्षी बनाई बुधाबार दायर गरेको मुद्धामा अदालतले यस्तो आदेश गरेको हो । अन्तरिम आदेशमा अदालतले हाललाई वनजन्य, खनिजजन्य र कृषिजन्य वस्तु निकासीमा कर नलिन आदेश जारी गरेको हो ।
संविधानको धारा २३६, स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा गरिएको व्यवस्थाका अतिरिक्त निवेदकलाई पुग्न जाने अपुरणीय क्षति पुग्ने भएकाले वन्यजन्य गोलिया, कृषिजन्य र खनिजजन्य वस्तु जिल्ला बाहिर ढुवानी गरी लैजादा कुनै पनि खालका कर नलिनु भन्ने अदालतको आदेशमा उल्लेख छ ।
अदालतले दुवै पक्षलाई वहशका लागि साउन २७ गते अदालतमा बोलाएको छ । वन पैदार व्यवसायी विमलकुमार प्रधान, डिल्ली श्रेष्ठ, बुद्ध राई, अरुण बराल र मित्रकुमार काफ्लेले करको विरुद्धमा विराटनगर उच्च अदालत इलाम इजलासमा रिट दायर गरेका थिए । निवेदकको तर्फबाट कानुन व्यवसायी सुधिर बोहोरा र हिरण्यप्रसाद अधिकारीले वहस गरेका थिए ।
प्रदेशको निर्देशन अनुसार जिल्ला समन्वय समितिले साउन १ गतेदेखि ठेक्का मार्फत जिल्ला निकासी कर उठाउँदै आएको छ । प्रदेश सरकारले आर्थिक विधेयक मार्फत जिल्ला निकासी कर उठाउनका लागि जिल्ला समन्वय समितिहरुलाई जिम्मेवारी दिएको छ । तर, संघीय सरकारले भने निकासी कर उठाउनु गैर संवैधानिक भएको भन्दै त्यसलाई रोक्न प्रदेश सरकार र जिल्ला समन्वय समितिहरुलाई पत्राचार गरेको थियो ।
जिल्ला समन्वय समिति इलामले आर्थिक वर्षको शुरु (साउन १) बाटै निकासी कर उठाउन थालेको छ । प्रदेश सरकारको निर्देशन अनुसार कर उठाइरहेको बेला साउन ४ गतेको मितिमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्रोत परिचालन समन्वय शाखाले कर उठाउने प्रदेशको निर्णय कार्यान्वयन नगर्न पत्राचार गरेको थियो । साउन ४ गतेकै मन्त्रीस्तरीय बैंठकको निर्णय भन्दै मन्त्रालयले पत्राचार गरेको थियो । मन्त्रालयले प्रदेशले प्रदेश आर्थिक विधेयक २०७५ बाट संविधानको धारा २३६ विपरित एक जिल्लाबाट अर्को जिल्लामा निकासी हुने वनजन्य, कृषिजन्य र खनिजजन्य वस्तुको निकासीमा शुल्क निर्धारण गरी कार्यान्वयनका लागि जिल्ला समन्वय समितिलाई तोकेकामा कार्यान्वयन नगर्न भन्दै परिपत्र गरेको थियो ।

कर लिने प्रदेश सरकारको अधिकार भएकाले यसलाई निरन्तरता दिने निर्णय गर्दै कर संकलनलाई निरन्तरता दिन पुनः प्रदेश सरकारले परिपत्र गरेको थियो ।
जिल्ला समन्वय समितिले दुई करोड दुई लाख १० हजारमा निकासी कर संकलनका लागि ठेक्का लगाएको छ । यो रकम विगतको भन्दा दश हजार मात्र बढी हो । तर, करको दर भने विगतको भन्दा तेब्बरसम्म बढाएर उठाउने गरिएको छ ।
ठेकेदारहरु सागर उप्रेती र गणेशबहादुर बस्नेतले ठेक्का लिएका छन् ।
गोलिया निकासीमा गतसाल भन्दा दोब्बर बढी निकासी कर लिन थालिएपछि व्यवसायीहरु अदालत गएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार