इलाम।सूर्योदय नगरपालिकाले चालू आर्थिक वर्ष ०७५।०७६ का लागि ७८ करोड ७३ लाख ३६ हजार रूपैयाँ बराबरको आयव्यय सार्वजनिक गरेको छ । मंगलबार आयोजित कार्यक्रममा नगरपालिकाद्धारा प्रकाशित सूर्योदय राजपत्रको जिल्ला समन्वय समिति प्रमुख गणेश बराल र नगरप्रमुख रणबहादुर राईले सार्वजनिक गरेका हुन् ।
आम्दानी तर्फ राजश्ववापत २४ करोड १९ लाख ४४ हजार अनुमान गरिएको छ । यसमा आन्तरिक स्रोततर्फ नौ करोड ९८ लाख ५६ हजार, राजश्व बाँडफाँटबाट १३ करोड ५३ लाख ८ हजार र अन्य आय ६७ लाख ८० हजार रूपैयाँ अनुमानित छ । अन्तर सरकारी वित्तिय हस्तान्तरण मार्फत ५४ करोड ५३ लाख ९२ हजार अनुमान गरिएकामा संघीय सरकारबाट ५३ करोड ११ लाख ९८ हजार र प्रदेश सरकारबाट एक करोड ४१ लाख ५४ हजार आय हुने अनुमान गरिएको छ । व्ययतर्फ चालू खर्च वापत ६६ करोड नौं लाख ८९ हजार रूपैयाँ छ भने व्यवतर्फनै पूँजीगततर्फ १२ करोड ६३ लाख ४७ हजार अनुमान गरिएको छ ।
सार्वजनिकिकरण कार्यक्रममा नेपाली संगीतको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै प्राज्ञ गणेश रसिकलाई सम्मान गरिएको थियो । यस्तै निहारिक बचत तथा ऋण सहकारी संस्था र करूणा फाउण्डेशनलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रममा सबैभन्दा बढी कर बुझाउने सूनपा– २ का सन्तोषकुमार पाण्डे, उत्कृष्ट उद्योगी दिलिप सुब्बा, उत्कृष्ट कृषक कूलबहादु राई, ज्येष्ठ नागरिकको उत्कृष्ट संरकक्ष हेमु गुरूङ, उत्कृष्ट महिला उद्यमी पिंगलादेवी बस्नेत, उत्कृष्ट टोल विकास संस्था मंगल ज्योति, उत्कृष्ट कन्याम चिया उत्पादन सहकारी, उत्कृष्ट उपभोक्ता समिति गोर्खे मानेभन्ज्याङ सडक उपभोक्ता समिति, उत्कृष्ट सामुदायिक विद्यालय जनक मावि, पुन्य स्मारिका आधारभूत विद्यालय, उत्कृष्ट संस्थागत विद्यालय सनराईज बोडिङ स्कूललगायतलाई पुरस्कार प्रदान गरिएको थियो । सोही अवसरमा उत्कृष्ट सञ्चारकर्मी अन्नपूर्ण पोष्टका इलाम संवाददाता तोयानाथ भट्टराईलाई पनि पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा जिसस प्रमुख गणेश बराल, नगरपालिकाकी उप–प्रमुख दुर्गादेवी भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।