महिलाहरुले भने रक्सीले महिला हिंसा बढायो

मदिरा नियन्त्रण गर्न माग

  सरलपाटी सम्वाददाता

 503 पटक हेरिएको


इलाम/दिनहुँ जसो गाउँघर, छरछिमेकमा घरेलु हिंसाका घटना बढेपछि इलाम नगरपालिका– ४ का वडाबासीले मदिरा नियन्त्रण गर्न आग्रह गरेका छन् ।
मदिरा सेवनका कारण गाउँघरमा महिला तथा बालबालिका र ज्येष्ठ नागरिक बढी पीडित भएको भन्दै स्थानीयबासीले वडा कार्यालय र नगरपालिकासँग मदिरा उत्पादन तथा बेचविखन र सेवनमा रोक लगाउन आग्रह गरेका हुन् ।
घरेलु हिंसा सम्बन्धी एक कार्यक्रमका सहभागीले मदिराका कारण दैनिक जसो झैझगडा हुने र गाउँमा वितण्डा मच्चिने भन्दै वडा क्षेत्रमा खुलेका मदिरा बिक्रीका पसलहरू समेत बन्द गर्न माग गरेका छन् । मदिरा उत्पादन र बिक्रीको विकल्पमा अन्य आयआर्जनका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा सहभागीले जोड दिए । इलाम नगरपालिका– ४ का श्यामकमल मुखियाले मदिरा नियन्त्रण गर्न कसरी सकिन्छ भन्ने विषय महत्वपूर्ण बनेको बताए । उनले भन,े ‘गाउँ र टोलहरूमा पूर्ण रूपमा मदिरा नियन्त्रण गर्नुपर्ने अवस्था छ ।’

मदिराका कारण परिवारका सदस्यले घरेलु हिंसा र दुव्र्यवहार सहनु परेको स्थानीय धनमाया नेपालको भनाई छ । धेरै परिवारमा पतिले मदिरा सेवन गरेरै हिंसा गरिरहेका छन्, महिलाहरू जन्मदेखि मृत्यु संस्कारसम्म घरेलु हिंसाका शिकार भएका छन्, मदिराले होस् अथवा अन्य कुनै कारण अब घरेलु हिंसा कसरी न्युनिकरण हुन्छ नगरपालिकाले विकल्प खोज्न जरूरी छ ।

गाउँमा मदिरा सेवनका कारण घरेलु हिंसाका घटना बढ्नुले वडा अध्यक्ष नुतनदेव दुलाललाई पनि पिरोलेको छ । ‘मदिराको पसलनै चलाए धेरै परिवार बसेका छन्, यो साउन १ गतेदेखि तिनीहरूलाई वडा र नगरमा दर्ता हुन आउ भनेर सूचना गरिएको छ, दुलालले भने, ‘मदिरा पसललाई हामी अन्य व्यसायमा रूपान्तरित गर्न चहान्छौं ।’ त्यसकारण यो वर्षदेखि मदिरा उत्पादन गर्नेलाई पनि त्यसको विकल्पमा अन्य पेशा र व्यवसायका निम्ति सीपमूलक कार्यक्रम शुरू गरेको वडाध्यक्ष दुलालको भनाइ छ । तर, दिनहुँ हुने यस्ता घटना र परिवारका सदस्य बीचको झगडा मिलाइ दिन जानुपर्दा वडा अध्यक्ष र वडा सदस्यहरू पनि हैरान भएका छन् । झगडा ग¥यो, कुट्यो भन्ने सम्मका मौखिक उजुरी आएपछि के भएको भन्ने त बुझनै पर्छ, अब गाउँलाई शान्त बनाउन मदिरानै नियन्त्रण गर्नुपर्छ भन्ने हाम्रो बुझाइ छ, वडाध्यक्ष दुलाल भन्छन् ।
जिल्लामा गत आर्थिक वर्षमा ३४ वटा घरेलु हिंसाका घटना सम्बन्धी निवेदन दर्ता भएको इलामका प्रहरी निरीक्षक रामेश्वर पण्डितले बताए । तर सन् २०१८ को जनवरीदेखि जुन महिनासम्ममा जिल्लामा १५ वटा घरेलु हिंसा सम्बन्धी घटना भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले जनाएको छ । इन्सेकका अनुसार सन् २०१७ मा इलाममा ६७ वटा घरेलु हिंसाका घटना भएका छन् ।
घरेलु हिंसाका घटना यति धेरै भइरहे पनि कडा ढंगको कानुनी कार्वाही नभएकाले घटनाले निरन्तरता पाएको मानव अधिकारकर्मी गायत्री थेगिमको भनाइ छ । ‘घरेलु हिंसा सम्बन्धी कानूनले मेलमिलापलाई पनि प्राथमिकता दिएको छ, त्यसले गर्दा मेलमिलाप गराउनु पनि पर्छ’ थेगिम भन्छिन् ‘ जतिपनि घरेलु हिंसाका पीडितहरू छन्, उनीहरूले न्यायका निम्ति उजुरी गर्दा बेलुका देखि घरमा बास हुँदैन, कहाँ गएर बस्ने ? त्यही कारण पनि पीडित मौन बस्नुपर्ने बाध्यता छ, ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार