इलाम।हत्या गरिएका आफ्ना छोराछोरीको स्मरणमा बाटो, मन्दिर र ढुङ्गा खोपेर छोराछोरीहरुको आकृति खोपिरहेका माइपोखरीका डम्बरसिंह सुनुवार यतिबेला प्रधानमन्त्री केपी ओलीसँग साक्षात्कार गर्न काठमाण्डौं पुगेका छन् ।
विनोद पाण्डेले सञ्चालन गर्ने जनतासँग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री ओलीसँग साक्षातकार गर्न उनी काठमाण्डौं पुगेका हुन् । नेपाल टेलिभिजनलगायत तीन वटा टेलिभिजनमा प्रशारण हुने सो कार्यक्रमको सुटिङ्ग सोमबार हुने भएको छ । ९३ वर्षीय सुनुवार नाती राजबहादुर मुखियासँग काठमाण्डौं पुगेका हुन् । अहिले उनी अस्वस्थ्य भएका छन् । यसैले उनी अहिले नातीहरुसँग बस्दै आएका छन् । तर, अहिले पनि स्वास्थ्यले साथ दिएको बेला बाटो मर्मत गर्न, सरसफाइ गर्न व्यस्त रहने उनका नाती राजबहादुरले बताए ।
माई पोखरीको पूर्वोत्तर क्षेत्रबाट करिब पाँच सय मिटर मोटर बाटो हुँदै जाँदा डम्बरसिंह सुनुवारको घर पुगिन्छ ।
वर्षौंदेखि ढुंगामा राजामहाराजादेखि आफ्ना सन्ततिको आकृति बनाउँदै आएका छन् ।
सुरक्षा फौजले विद्रोहीलाई प्रहार गरेको टुइचबम लागेर दुई छोराछोरी गुमाएपछि बिरक्तिएका डम्बरबहादुरको दैनिकीमा वर्षौंदेखि यस्तै छन् । माइपोखरी ६ का यी वृद्ध ९३ वर्षको पाको शरीर लिएर शोकलाई शक्तिमा बदल्दैं उनले सिर्जनात्मक काम गर्दै आएका थिए । ०१८ माघ २ गते १२ वर्षका छोरा डिकबहादुर र डेढ वर्षीया छोरी ओममाया घरमा खेलिरहेका बेला बम लागेर मारिएका थिए ।
गएको वर्षसम्म छोराछोरीका स्मृतिमा ढुङ्गे शिल्पी कोर्न व्यस्त थिए । घटना भएयता बाहिरी दुनियाँ छाडेर उनी भिन्न संसारमा जमेका हुन् ।
सिर्जेका सामग्रीको संरक्षण कसले गर्ला भन्ने मात्र उनलाई चिन्ता छ ।
उनले माइपोखरी आसपास अढाई किलोमिटर सडक खनेका छन् । घरनजिकै पोखरी र धारा निर्माण गरेका छन् । जीवनसंगिनी सञ्चमायाले बिदा लिएपछि उनी साँच्चै एक्ला भएका छन् । आम्दानीको स्रोत केही नभए पनि उनी पेट पाल्नभन्दा नयाँ सिर्जना गर्नै रुचाउँछन् ।