इलाम।इलाममा सवारी दुर्घटनाको अवस्था निकै दर्दनाक रहेको पाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको पछिल्लो नौं बर्षको तथ्याङ्कलाई हेर्दा जिल्लामा सवारी दुर्घटनाको अवस्था निकै डरलाग्दो रहेको पाइएको हो ।
आर्थिक बर्ष २०६६।०६७ देखि आर्थिक बर्ष २०७४।०७५ अर्थात गएको नौं बर्षमा जिल्लामा ३ सय ९१ वटा सवारी दुर्घटना भएका छन् । त्यसमा सबैभन्दा बढि ०६९–०७० मा ९६ वटा र सबैभन्दा कम आर्थिक बर्ष ०७४–०७५ मा २५ वटा सवारी दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।
नौं वर्षको अवधिमा सवारी दुर्घटनामा परी एकसय ३८ जनाको ज्यान गएको छ । सात सय ५४ जना सामान्य घाईते र ३ सय २८ जना गम्भिर घाईते भएको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाएको छ ।
आर्थिक बर्ष २०६९।०७० मा सबैभन्दा बढी ४० जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको थियो । जिल्ला ट्राफिक प्रहरीको तथ्याङ्कलाई हेर्दा आर्थिक बर्ष २०६६।०६७ देखि आ.व. २०७०।०७१ सम्म सवारी दुर्घटनाको दर बढ्दो मात्रामा रहेको थियो । तर आ.व. २०७१।०७२ देखि सवारी दुर्घटना दर घट्दै गएको छ । अघिल्लो आर्थिक बर्ष २०७३।०७४ मा ३८ वटा सवारी दुर्घटना हुँदा ८ जनाको ज्यान गएको थियो भने गत आव २०७४।०७५ मा २५ वटा सवारी दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ ।
जिल्लामा सबैभन्दा बढि मोटरसाईकल, ट्याक्टर, टयाक्सी दुर्घटना भएको छ । यता जिल्लामा सवारी दुर्घटनाको दर बर्षेनी घट्दो क्रममा रहेपनि सवारी कार्वाहीको दर भने बढ्दो क्रममा रहेको छ । ट्राफिक नियम उल्लंघन गर्ने, मापसे गरेर सवारी चलाउनेहरुलाई ट्राफिक प्रहरीले कार्वाही गरेका छन् । ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०६६।०६७ देखि गत आर्थिक बर्ष ०७४–०७५ अर्थात नौं बर्षको तथ्याङ्कलाई हेर्दा जम्मा ८५ हजार ७ सय ३२ वटा सवारी साधनलाई कार्वाही गरेको छ । त्यसमा सबैभन्दा बढी ३१ हजार ७ सय ८१ वटा मोटरसाईकल कार्वाहीमा परेका छन् । यस्तै जिप÷कार, भेन ३१ हजार २ सय १६, ट्रक ११ हजार ७ सय ३०, टयाक्टर ७ हजार २ सय १३ र बस ३ हजार ७ सय ९२ वटालाई कार्वाही गरीएको जिल्ला ट्राफिक प्रहरीको तथ्याङ्कमा उल्लेख छ । बिगतमा सवारी दुर्घटनाहरु बढ्ने क्रम बढेपछि चेकजाँचलाई कडाई गरिएको प्रहरीले जनाएको छ । ट्राफिक नियम पालना नगर्ने, मापसे गरेर सवारी चलाउनेको सङ्ख्या बढ्दा सवारी साधन बढी कार्वाहीमा परेको जिल्ला ट्राफिक इन्चार्ज पदमबहादुर राईले बताए ।
सवारी साधन कार्वाही गर्दा नौं आर्थिक बर्षमा दुई करोड ८० लाख ३९ हजार ६ सय रुपैंयाँ राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०७३।७४ मा ९ हजार ६ सय ५५ सवारीसाधनलाई कार्वाही गर्दा ५३ लाख ८२ हजार ५ सय राजस्व संकलन भएको थियो । यसरीनै आर्थिक बर्ष २०७४।०७५ मा मात्र १४ हजार ९ सय ८६ वटा सवारी साधनलाई कार्वाही गर्दा ८१ लाख ९२ हजार रुपैंयाँ राजश्व संकलन भएको जिल्ला ट्राफिक कार्यालयले बताएको छ ।