इलाम/भारतीय सीमासँग जोडिएको पूर्वी नेपालको दशगजा वर्षाैंदेखि भारतीय पक्षबाट अतिक्रमित भएपनि समस्या समाधान गर्न बैठक बस्नेबाहेक केही प्रयास हुन सकेको छैन । यही विषयलाई मुद्दा बनाएर झापा, इलाम, दार्जिलिङ, सिलिगुडीलगायत स्थानमा पटक–पटक दुवै देशका सुरक्षा निकायबीच बैठक बसेपनि ठोस काम भने केही हुन सकेको छैन ।
सीमाकै विषयलाई लिएर नेपाल–भारत गृहसचिवस्तरको बैठक हरेक वर्ष आयोजना गरिन्छ । यो पटक पनि आउँदो सेप्टेम्बरमा सचिवस्तरको बैठक बस्ने तय भएको छ । तर, वर्षाैंदेखिको सीमा अतिक्रमण र सीमाक्षेत्रको सुरक्षाबारे बैठकमा छलफल, कागजी निर्णय भइरेहपनि कार्यान्वयन भने हुन सकेको छैन । सीमा सुरक्षाको निर्णय कार्यान्वयन नभएकै कारण भारतीय पक्षले बेला–बेला दशगजा अतिक्रमण र नेपाली भूमिमा आएर ‘रजाइँ’ गर्ने गरिरहेको छ । दशगजामा पक्की संरचना बनाउनेदेखि सीमास्तम्भ गायब पार्नेक्रम चलिरहेपनि सीमा स्पष्ट गर्ने काम नेपाल–भारत दुवै पक्षबाट हुन नसकेको हो ।
दशगजा मिच्नेमात्र होइन, खुला सीमा भएका कारण भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवान पटक–पटक नेपाली भूमि छिरेर जंगलबाट घाँस–दाउरा गर्ने, घरपालुवा र वन्यजन्तुसमेत लैजाने गरेको स्थानीयको गुनासो छ । तर, जिल्लास्थित सुरक्षा निकायले भने भारतीय समकक्षीसँग बैठकबाहेक समस्या समाधानको प्रयास गर्न सकेको छैन । सीमास्तम्भ संरक्षण र सीमा अतिक्रमणबारे जिल्लास्थित सुरक्षा निकायको सधैंको जवाफ छ– हामीले सीमाको अवस्थाबारे माथिल्लो तहमा जानकारी गराएका छौं, सुरक्षा बैठक बसेका छौं ।
गतवर्ष भारतीय पक्षले पूर्वी पशुपतिनगरमा पुरानो कच्ची गुम्बा मर्मतका नाममा नयाँ तर पक्की गुम्बा बनायो । गुम्बा निर्माण नहुँदैदेखि स्थानीयले जिल्ला प्रशासन र मन्त्रालयस्तरमा समेत निर्माण रोक्न पहल गरे । तर, गुम्बा बनाउने क्रम रोकिएन । यो पछिल्लो उदाहरण मात्रै हो । यसअघि पटक–पटक भारतीय पक्षले दशगजामा विद्यालय भवन बनाउनेसम्मका काम गर्दा पनि नेपाली पक्षले त्यसलाई रोक्न सकेको थिएन । संरचना निर्माण हुन थालेपछि सुरक्षा बैठक बस्ने तर प्रभावकारी काम नहुनेक्रम पनि चलिरहेकै छ ।
जिल्लाका श्रीअन्तु, सन्दकपुर, माबु, जमुना जोगमाई, माइमझुवालगायतका भारतीय सीमाक्षेत्रमा भारतीय सुरक्षाकर्मी हतियारसहित आउँदा पनि नेपाली पक्ष चुपचाप छ । स्थानीयलाई गाली, कुटपिट गर्नेक्रम पछिल्लो समय केही कम भएपनि स्थानीय सर्वसाधारण त्रसित भएर जीवन बिताउन बाध्य छन् । भारतीय भूमि छोएको जिल्लाको सन्दकपुरदेखि जिर्मलेसम्मको दूरीमा यस्ता घटना बारम्बार दोहोरिने गरेका छन् । जैविक विविधतामा संवेदनशील र पर्यटकीय हिसाबले महŒवपूर्ण नेपाली गाउँमा सुरक्षा निकाय उपस्थिति ज्यादै पातलो भएकाले पनि सीमा क्षेत्र असुरक्षित भएको हो ।
भारतपट्टि ३–३ किलोमिटरमा एसएसबी क्याम्प रहेपनि नेपालपट्टि भने सुरक्षा व्यवस्था राम्रो छैन । छिटफुट रहेका प्रहरी चौकीमा असईको कमान्डमा ६–६ प्रहरी मात्रै बस्छन्, त्यो पनि सीमाभन्दा निकै टाढा । भारतपट्टि सुरक्षा निकायको बाक्लो उपस्थिति रहेपनि नेपालपट्टि नदेखिएको सन्दकपुरका पेम्बाडन्डु शेर्पाले बताए । उनले सुरक्षा निकाय नहुँदा जोखिम मोलेर विभिन्न व्यवसाय गर्नुपरिरहेको पनि सुनाए ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आउँदो गृहसचिवस्तरको वार्तामा सीमाबारे छलफल हुने बताए । ‘गत जेठ २० मा पनि हामीले झापामा बैठक गरेर सीमाको पछिल्लो अवस्थाबारे माथिल्लो तहमा जानकारी गराएका छौं,’ उनले भने, ‘सीमावर्ती क्षेत्रमा सुरक्षा इकाई राख्न पनि सिफारिस गरेका छौं ।’ उनले सीमा क्षेत्रमा सशस्त्र प्रहरी इकाई राख्ने तयारी अघि बढेको पनि बताए । प्रहरी प्रमुख एसपी माधवप्रसाद श्रेष्ठले सीमा क्षेत्रको २ स्थानमा प्रहरी इकाई राखिसकेको जनाए ।