इलाम।सूर्योदय नगरपालिका हर्कटेका चिया किसान मुकुन्द पौडलले असारसम्ममा छ हजार किलो हरियो पत्ति उत्पादन गरिसकेका हुन्थे । तर, यो वर्ष मुस्किलले एक हजार पाँच सय किलो मात्रै हरियो पत्ति उत्पादन गरेका छन् । चिया उत्पादनको मुख्य सिजनमानै उत्पादन घटेपछि पौडेल चिन्तित छन् । उनले सदाझंै चियालाई मलजल र गोडमेल गरेका छन् । तर, उत्पादन भने पहिलोको भन्दा ह्वात्तै घटेको छ । अन्य किसानको हाल पनि पौडेलको भन्दा फरक छैन । चियाको उत्पादन घटेपछि किसान समस्यामा परेका छन् ।
एकै सिजनमा दुई पटक चिया
भएपछि उत्पादन घटेको हो । यस अघि एकै सिजनमा दुई पटक चिया बाँझी हुँदैनथ्यो । यस पटक एकै सिजनमा दुई पटक चियँ बाँझी भएपछि किसान अच्चमित बनेका छन् । ‘एकै वर्षमा दुई पटक चिया बाँझी भएको थाहाँ थिएन’–पौडेलले भने–‘यो पटक अच्चम्म भयो, चियाले मुना सुट गरेको छैन ।’
चैत–वैशाखमा पहिलो चरणको टिपाई सकिएपछि १५÷२२ दिन चियाको मुना पलाउँदैन । यसलाई किसानहरुले चियाको बाँझी समय भन्ने गर्छन् । वर्षमा एक पटक चिया बाँझी हुने गरेको भएपनि यो पटक भने एकै सिजनमा दुई पटक चिया बाँझी बसेको छ । चैत–वैशाखमा पहिलो टिपाई सकिएपछि जेठको १५ सम्म चिया बाँझी रह्यो । पहिलो पटक बाँझी भएर पलाएको मुना टिपेपछि चिया फेरी बाँझी भएको छ । यसले चिया उत्पादन आधाभन्दा कम हुने किसानहरु बताउँछन् ।
चियाको लागि पर्याप्त बर्षा भइरहेपनि गुणस्तरीय मलको अभावमा चिया बाँझी भएको हुनसक्ने चियाका जानकार ज्योति अधिकारीले बताए । ‘केही वर्ष अघि बजारको युरियामा परीक्षण गर्दा सात प्रतिशत मात्रै नाइट्रोजन भेटिएको थियो’–उनले भने–‘किसानले मल लगाएका छन् तर, त्यो गुणस्तरहीन हुनसक्छ ।’ सरकारले अनुदानमा दिने युरीया मात्रै होइन, भारतीय बजारबाट लुकिछिपि ल्याएको युरिया समेत किसानले प्रयोग गर्ने गरेका छन् । त्यस्तो मल झन गुणस्तरहीन हुनसक्ने अधिकारीले बताए ।
चियाको लागि मौसम अनुकुल नभएकाले समेत एकै सिजनमा दुई पटक चिया बाँझी भएको हुनसक्ने उनले बताए । ‘पानी पर्दा एकोहोरो पानी पर्ने र घाम लाग्दा हप्तौं घाम लाग्ने भइरहेको छ’ –अधिकारी भन्छन्–‘यस्तो मौसम चियाको लागि उपयुक्त होइन, २२–२३ सेन्टिग्रेट भन्दा माथि तापक्रम हुँदा चियामा किराहरुको प्रकोप समेत बढि हुन्छ ।’ बाँझी भएको चियाको पात फाल्दा चाडो उत्पादन हुने भएपनि यहाँका किसानमा बाँझी पत्ति पाल्ने चलननै नभएको उनको भनाई छ ।
चिया विस्तार आयोजनाका चिया प्राविधिक विवेक भण्डारीले भने चियाको मुना नपलाएको भएपनि यसलाई प्राविधिक रुपमा बाँझी भन्न नमिल्ने बताए । ‘यसलाई टेक्निकल्लि बाँझी भनिंदैन’–भण्डारीले भने–‘प्लकिङ्ग (टिपाई) र प्रुनिङ्ग (काँटछाँट) समस्या हुँदा चिया नपलाएको हो ।’ चार पात एक सुइरो हुँदासम्म चिया नटिपे चिया बाँझी हुने उनको भनाई छ । ‘अधिकांश किसानले चिया काँटछाँटको राउण्ड साइकल मिलाएका छैनन्’–उनले अघि भने–‘त्यसले चियाको उत्पादन ह्रास हुन्छ ।’ अधिकांश किसानले चियाको लगातार स्किप गर्ने गरेको र त्यसले चियाको मुना सानो र गुणस्तरको नहुने चिया प्राविधिक भण्डारीले बताए ।
चियामा मुना नहुँदा उत्पादन भएको हरियो पत्ति बेच्न समेत किसानलाई समस्या भएको छ । सूर्योदय नगरपालिकाले ४० प्रतिशत मुना भएको चिया मात्रै प्रशोधन गर्ने ब्यवस्था बनाएको छ । अहिले उत्पादन भएको चियामा २० प्रतिशत पनि मुना नहुने किसान बताउँछन् । ‘नगरपालिकाले ४० प्रतिशत मुना हुनुपर्ने अनिवार्य ब्यवस्था गरेको छ’–चिया किसान मुकुन्द पौडेलले भने–‘मुना कम भएपछि दुःखले चिया बेच्दैछौ ।’


908 पटक हेरिएको 






