पशुपतिनगरमा अध्यागमन स्थापनाको माग

इलाम/नेपाल–भारत सीमाना इलामको पूर्वी पशुपतिनगरमा अध्यागमन कार्यालय राख्न स्थानीयले माग गरेका छन् । अध्यागमन कार्यालय नहुँदा नेपाल–भारत पर्यटक आउ–जाउमा वर्षाैंदेखि समस्या छ । आर्थिक दृष्टिकोणले पनि पूर्वी पहाडको पशुपतिनगर नाकामा अध्यागमन आवश्यक रहेको स्थानीय व्यवसायीहरू बताउँछन् । इलाम, पाँचथर र ताप्लेजुङका लागि पनि यहाँ उत्पादित कृषि उपज भारत निर्यात गर्न पशुपतिनगर नाका निकै सहज हुने उद्योग वाणिज्य संघ इलामका महासचिव मदन श्रेष्ठ बताउँछन् ।
इलाम विल्याँटेका व्यवसायी कृष्णपौडेल पनि पशुपतिनगर नाकाबाटै जिल्लाको कृषि उपज निर्यात गर्दा ढुवानी खर्चदेखि छोटो बाटोले पनि सहज हुने बताउँछन् । ‘दैनिक सयौं ट्रक माल काँकडभिट्टा पु¥याउनुपर्ने व्यापारीको बाध्यता छ, यदि पशुपतिनगरबाट भारत निकासी मिल्नु हो भने तल पु¥याउँदाको खर्च कम्तिमा पनि किसानले खाने थिए’ पौडेल भन्छन् । तर, वर्षौंदेखि पशुपतिनगरमा अध्यागमन स्थापना मागको आवाज अहिले सम्म उस्तै छ । त्यसोत पशुपतिनगर बजार पनि भारतीय पर्यटककै भरमा रहेको छ । भारतको दार्जिलिङ टुरिजम वोर्डले पशुपतिनगरलाई आफ्नो ‘टुरिजम प्वाइन्ट’ भित्र राखिदिए पछि एक घण्टा पशुपतिनगर घुम्ने भारतीय पर्यटकहरूको भरमा वर्षौंदेखि पशुपतिनगर बजार अडिएको पशुपतिनगरका स्थानीय मिनल क्षेत्रीको भनाइ छ । ‘नेपाल सरकारले पशुपतिनगरलाई २०५६ सालमै वैद्य नाका बनाउने भनेर राजपत्रमा प्रकाशित गरेको छ’ क्षेत्रीले भन्नु भयो ‘अहिले सम्म यहाँको अध्यागमनको विषयमा सरकार मौन देखिएको छ, यदि यहाँ अध्यागमन हुने हो भने त्यसको फाइदा पशुपतिनगरलाई मात्र होइन पूर्वी पहाड र समग्र नेपाललाई पनि हुनेछ ।’
नेपाल–भारत आउ–जाउ गर्न नेपाली र भारतीयलाई मात्र सहज छ, तेस्रो मुलुकका नागरिकले भने अध्यागमनकै स्वीकृत लिएर नेपाल प्रवेश पाउँछन् । पर्यटक बाहेक पशुपतिनगर नाकाबाट दैनिक उपभोग्य खाद्यान्नका सामग्री मात्र भारतबाट आयात गर्न सजिलो छ, बाँकी पेट्रोलियम पदार्थ, कृषि बालीका लागि मल, बीउ जस्ता वस्तुहरूले भने नेपाल आउन पशुपतिनगरबाट प्रवेश पाउँदैनन् । नेपालतर्फ उत्पादन भएका अदुवा, चिया, कुच्चो, जडीबुटी, आलु, तरकारी जस्ता वस्तुहरू भारत निर्यात गर्न पनि पहाडी जिल्लाबाट झापाको काँकडभिट्टा नाकानै पु¥याउनु पर्नै बाध्यता छ ।
वषौंदेखि जिल्ला बासीले उठाएको अध्यागमनको विषयमा आफूले पनि भारतीय राजदूत मञ्जीवसिंह पुरीसँग राखेको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई बताउँछन् । ‘गत पुसमा झापा आएको मौकामा राजदूत पुरीलाई पशुपतिनगरको स्थलगत निरक्षण गराउँदा उनी अध्यागमन राख्न सकारात्मक देखिएका थिए’ प्रमुख राईले भने ‘यहाँ राखिने अध्यागमन सँगै भारततर्फ रहने क्वारेन्टाइन चेकपोष्टका लागि त्यहाँको खाली र खुल्ला जमिन नभएकाले अप्ठ्यारो परेको कुरा बुझियो ।’
राईले भने ‘पशुपतिनगरमा अध्यागमन र भारततर्फ क्वारेन्टाइन राख्ने विषयमा भारतको पहाडी इलाकाका बासिन्दाहरू सकारात्मक भएपनि भारतको तराईका बासिन्दा, त्यहाँको राजनीति तथा केन्द्र र राज्य सरकारको अलग–अलग चहानाले गर्दा पनि क्वारेन्टाइन राख्न समस्या भएको बुझ्न सकिन्छ ।’ तर, राजदूत पुरीले पशुपतिनगरको निरिक्षण गरेपछि माथिल्लो तहमा कुरा गर्छु भन्नुभएको नगर प्रमुख राई बताउँछन् ।
अध्यागमनको माग स्थानीयले उठाइरहेका बेला सूर्योदय नगरपालिकाले पनि पशुपतिनगरलाई विशेष महत्वका साथ लिएको छ । नगपालिकाले पशुपतिनगरलाई प्रमुख पर्यटकीय स्थलका रूपमा विकास गर्दै पर्यटकीय गुरूयोजना निर्माण गर्न थालेको नगरप्रमुख राईले जानकारी दिए । यो वर्ष पशुपतिनगरमा पर्यटकहरूलाई केन्द्रित गर्न कोशेली घर निर्माण गर्ने, नेपाल–भारत सम्बन्ध सुधार गर्दै दशगजा क्षेत्र भित्र रहेका दुवै तर्फका भौतिक तथा निजी संरचना हटाउन पहल गर्ने, पशुपतिनगरमा ज्येष्ठ नागरिक मिलन केन्द्र निर्माण गर्ने, पशुपतिनगरमा रहेका होटललाई व्यवस्थित गरि पर्यटकलाई सजिलोका लागि इ–बुकिङको व्यवस्था गर्ने जस्ता योजनाहरू शुरू गर्न लागिएको राईले बताए । तर, अध्यागनम नहुँदानै भारत आएका तेस्रो मुलुकका पर्यटक भित्र्याउन भने धेरै समस्या भएको राईको भनाइ छ ।
दार्जिलिङ, सिक्किम पुगेका तेस्रो मुलुकका पर्यटकहरू इलाम आउन र दार्जिलिङ सँगै जोडिएको इलामको पर्यटकीय स्थल सन्दकपुर पुग्न भने काँकडभिट्टा नाका भएरै प्रवेश गर्नुपर्छ । दार्जिलिङ पुगेका पर्यटक पुन काँकडभिट्टा पुगेपछि इलाम आउन झन्झट मानेर फर्कने गरेको इलामका पर्यटकन व्यवसायी गृष्म सुब्बा बताउँछन् । ‘तेस्रो मुलुकका पर्यटकले दार्जिलिङ, सिक्किमबाट फर्किएर पशुपतिनगरबाट नेपाल प्रवेश गर्न चाहान्छन, त्यहाँ इमिग्रेशन नहुँदा काँकडभिट्टाबाटै आउ भन्नु पर्छ, त्यो झन्झट व्यहोर्न उनीहरू मान्दैनन र अन्यत्रै लाग्छन्,’ हरियाली टुर्सएन्ड ट्राभल्स चलाइ राख्नु भएका सुब्बा भन्छन् ‘पशुपतिनगरमा अध्यागमन नहुँदाको फाइदा दार्जिलिङले उठाउँदै आएको छ, अब नेपालले त्यो फाइदा लिनुपर्छ भन्ने हाम्रो भनाइ हो ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार