इलाम/वेचविखनको लागि भारत पु¥याइएका ३२ जना महिला र बालबालिकाको उद्धार गरिएको छ । प्रदेश नम्बर १ का विभिन्न क्रियाशील माइती नेपालको कार्यालयहरुले एक वर्षमा सीमावर्ती भारतीय बजारहरुबाट उनीहरुको उद्धार गरिएको हो ।
इलामसंग सीमा जोडिएको ठाउँबाट उद्धार गरिएकाको संख्या झापा, मोरङ्ग र सुनसरीको भन्दा धेरै छ । पशुपतिनगर कार्यालयले इलामसंग सीमा जोडिएको भारतको मिरिक, दार्जिलिङ्ग कालेबुङ्ग लगायतका स्थानबाट १८ जनाको उद्धार गरिएको माइती नेपाल पशुपतिनगरका संयोजक होम ढकालले जानकारी दिए । झापाको काकडभिट्टा रहेको माइती नेपालले १० जना, मोरङ्गको जोगमनिको शाखाले चार जना महिलाहरुको उद्धार गरेको जानकारी दिइएको छ ।
माइती नेपालले एक नम्बर प्रदेशको विभिन्न नाकामा चार सय ७९ महिलालाई रोकिएको छ । सीमा पार हुन लागेका महिलाहरुलाई नाकामा रोकेर घर फर्काइएको जनाइएको छ । पशुपतिनगर नाकामा एक सय ९५ जना, काकडभिट्टामा एक सय ४६ जना र जोगवनीमा एक सय २० महिलालाई नाकामा रोकेर अविभावकको जिम्मा लगाइएको पशुपतिनगर शाखा संयोजक ढकालले जानकारी दिएका छन् । प्रहरीसंगको सहकार्यमा माइती नेपालले सीमा पार हुन लागेका महिलाहरुको निगरानी गर्ने गरेको छ । जोखिममा रहेको शंखा लागेमा महिलारुलाई नाकामानै रोकिने गरेको छ । पशुपतिनगर नाकाबाट मात्रै ५३ जिल्लाका महिलालाई रोकिएको माइती नेपालले जनाएको छ ।
प्रदेश नम्बर एकका विभिन्न जिल्लामा दुई सय ११ महिला र बालबालिका हराएको निवेदन परेको छ । हराएकाहरुलाई खोजीदिन आग्रह गर्दै माइती नेपालमा उजुरी पर्ने गरेको भएपनि अधिकाशं फेला नै पर्दैनन् । हराएका मध्ये ७० जना मात्रै फेला परेका छन् । इलाममा ६३ जना हराएको निवेदन परेकोमा २२ जना मात्रै फेला परेका छन्, झापामा ८६ जना हराएकोमा ३० जना फेला परेका छन्, मोरङ्गमा २७ जना हराए भने ३ जना मात्रै फेला परेका छन् । सुनसरीमा ३५ जना हराएकोमा १५ जना मात्रै फेला परेको जानकारी दिइएको छ ।
इलामको पशुपतिनगर नाका मानव बेचविखनको लागि ट्रान्जिट बन्दै गएको प्रति सरोकारवालाले चिन्ता ब्यक्त गरेका छन् । भारतीय सीमा जोडिएको इलामको विभिन्न ठाउँमा ती सय हाराहारी गोरेटोहरु छन् । सीमामा प्रहरीको उपस्थिति कम भएकाले मानव बेचविखन बढ्दै गएको सरोकारवालाको भनाई छ । मानव बेचविखन नियन्त्रणको लागि छुटै संयन्त्र परिचालन गर्नुपर्ने सहभागीको निचोड । नेपाल पत्रकार महासंघ एक नम्बर प्रदेश समितिको आयोजनामा भएको कार्यक्रममा सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई, इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना, प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठ, पत्रकार महासंघका केन्द्रीय सदस्य उद्धव तिम्सिना, प्रदेश उपाध्यक्ष सोम सुसेली, इलाम शाखाकी अध्यक्ष कोकिला ढकाल, सूर्योदय उद्योगा वाणिज्यसंघका अध्यक्ष प्रमोद राई लगायतले मानव बेचविखनको समस्याका बारेमा आफ्नो धारणा राखेका थिए ।