
इलाम। निजी तथा आवासीय विद्यालयहरुको अर्गनाइजेशन (प्याब्सन) इलामले २९ औं स्थापना दिवशको अवसरमा साग प्रतियोगितामा स्वर्ण पदक विजेता दुई खेलाडी र एक शिक्षिकलाई सम्मान गरेको छ ।
इलामको गौतम बुद्धसभा गृहमा विहीबार आयोजित २९ औं प्याब्सन दिवशको अवसरमा आयोजित समारोहमा उसु खेलबाट स्वर्ण पदक जित्ने सुर्योदय नगरपालिकाकी जुली राई र फुटबलबाट स्वर्ण पदक जित्न सफल सन्दकपुर गाउँपलिका–५, जमूनाका छिरिङ्ग गुरुङ्गलाई नगद पाँच हजारसहित सम्मान गरिएको हो । यसरीनै प्याब्सनले २३ वर्षदेखि निरन्तर संस्थागत विद्यालयमा अध्यापन गर्दै आएकी शिक्षिका मुना श्रेष्ठलाई पनि सम्मान गरेको छ । हाल उनी हेरिटेज नेशनल एकाडेमीमा अध्यापन गर्दै आएकी छिन् ।
कार्यक्रममा नाट्य चेतना समूहका अध्यक्ष तथा नाटककार सुरेश पोर्तेललाई समेत सम्मान गरिएको थियो । सम्मानित सबैले कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले सम्मान पत्र प्रदान गरेका थिए ।
सोही अवसरमा संस्थागत विद्यालयबाट २०७५ को एसइईमा उत्कृष्ट जीपिए ल्याउने छात्र अशेषचरण भट्टराई र छात्रा नोनिता बराललाई प्रंशसा पत्र प्रदान गरिएको थियो । उनीहरुले हेरिटेज नेशनल एकाडेमीबाट ३ दशमलव ९ र ३ दशमलव ८ जीपीए ल्याएका थिए ।
कार्यक्रममा संस्थागत विद्यालयका विद्यार्थीहरुले आकर्षक गीत, नृत्य तथा नाटक प्रस्तुत गरेका थिए । दश पालिकाका एक–एक विद्यालयलाई शैक्षिक सामग्री पनि प्रदान गरिएको थियो ।

प्याब्सन इलामका अध्यक्ष विकास कर्माचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गणेश बराल, प्रमुख जिल्ला अधिकारी सीताराम कार्की, इलाम नगरपालिकाका प्रवक्ता ठाकूरनारायण श्रेष्ठ, प्याब्सन प्रदेश नं. १ का अध्यक्ष युवराज वाशिष्ठ, शिक्षक संघ प्रदेश नं. १ का अध्यक्ष पूर्ण गौतम, अभिभावक सागरमणि घिमिरेलगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा सुरक्षा निकायका प्रमुख, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रम प्याब्सन इलामका सचिव छवि लम्सालले सञ्चालन गरेका थिए ।


714 पटक हेरिएको 






