
इलाम । इलाम नगरपालिकाको वडा नम्बर सातमा शुक्रबार ‘जनतासँग मेयर कार्यक्रम’ सम्पन्न भएको छ । नगरपालिका प्रमुखले जनगुनासा र जनचासोका आधारमा नगरमा कार्य गर्ने उद्देश्यले ‘जनतासँग मेयर कार्यक्रम’ को छैटौ दिन नगरको वडा नम्बर सातमा सम्पन्न गरेको हो ।
कार्यक्रममा सहभागी भएका वडाबासीले फोहोरमैला व्यवस्थापनमा विशेष जोड दिन माग गरेका छन् । इलाम नेपालको दोस्रो सफा शहर । तर पछिल्लो समय फोहोर उठाउने गाडीको समयतालिका नहुदा इलाम नगरपालिकाका विभिन्न स्थानमा दुर्गन्ध फैलिएको र यसले पर्यटन वर्ष २०२० लाई प्रत्यक्ष रुपमा असर गर्ने उनीहरुको गुनासो थियो ।
यस्तै प्लाष्टिक मुक्त जिल्ला भनिएको भए पनि यात्रुले सडकमा पोलिथिन फ्याक्ने गर्छन् । यसको व्यवस्थापनमा नगरले प्राथमिकता दिदैन । यस्ता कमीकमजोरीका कारण घोषणा भएर नाम कमाएको जिल्लाको शाख जोगाउन नगरपालिकाले ध्यान दिन जरुरी रहेको छ । यत्ति मात्रै नभएर नगरले खानेपानीको पाइपलाई व्यवस्थित बनाउनु पर्ने, स्थानियको सहजताका लागि खनिएका बाटाहरु यात्रा गर्दा जाखिम नहुने बनाउनु पर्ने, सार्वजनिक शौचालयको व्यवस्था हुनु पर्ने, गाउँबाट दुःख गरेर आएका तरकारी व्यापारीहरुलाई व्यापारका लागि उचित स्थानको व्यवस्था मिलाई दिनु पर्ने, सुन्तलाबारीको क्षेत्रमा चोरी डकैती बढेकाले त्यस क्षेत्रमा सौर्य बक्ती र सिसि क्यामराको व्यवस्थापन हुनु पर्ने, शैक्षिक क्षेत्रमा बजेट छुट्याइनु पर्ने, महेन्द्र रत्न बहुमुखी क्याम्पसको समस्या समाधान गरिनु पर्ने, ट्याम्पुलाई व्यवस्थापन गर्नु पर्ने, लगायतका गुनासाको समाधान हुनु पर्ने ‘जनतासँग मेयर कार्यक्रम’ मार्फत सहभागीहरुले मेयर र वडाध्यक्ष माझ माग गरेका थिए ।
वडाबासीको गुनासालाई सम्बोधन गर्दै नगरपालिका प्रमुख महेश बस्नेत र सातका वडाध्यक्ष नरेश श्रेष्ठले हाम्रा कामकाबारेमा गुनासो सुन्न नै हामी यसरी कार्यक्रम मार्फत वडाबासी सामु आएको बताएका थिए । कार्यक्रममा आएका गुनासाको टिप्पणी गर्दै प्रमुख बस्नेतले पुरा गर्न नसकेको कामलाई यी सुझावका आधारमा हरेक कार्य सुधार्दै जाने प्रतिवद्धता जनाए । ‘विकास र प्रगति कछुवाको गतिमा हुन्छ,’‘यसलाई सबै नागरिकले साथ दिदै सँगै अघि बढेर जान हामी मञ्जुर छौँ उनले भने । यस्तै वडाध्यक्ष श्रेष्ठले प्राथमिकताका आधारमा जनगुनासालाई क्रमश समाधान गर्दै लैजाने बताएका छन् ।
गएको पुस ६ गतेबाट शुरु भएको ‘जनतासँग मेयर कार्यक्रम’ कार्यक्रम पालिकाको वडा नम्बर १,२,३,४,५ र ७ नम्बर वडामा सम्पन्न भई सकेका छन् । इलाम नगरपालिका नगरकार्यपालिकाको कार्यलय इलामको आयोजनामा भएको कार्यक्रम वडध्यक्ष नरेश श्रेष्ठको अध्यक्षता तथा पालिका प्रमुख महेश बस्नेतको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको हो ।
वडा सदस्य सञ्जिव राईले स्वागत मन्तव्य राखेको कार्यक्रममा नगर प्रवक्ता समेत रहेका वडा नम्बर ५ का वडाध्यक्ष ठाकुरनारायण श्रेष्ठले कार्यक्रमकाबारेमा प्रष्ट पारेका थिए । सहभागीहरुमध्ये १७ जनाले जनगुनासा राखेका थिए । ‘जनतासँग मेयर कार्यक्रम’ गतवर्षबाट शुरु गरिएको हो ।


509 पटक हेरिएको 






