
पोखरा । आइतबार उपचारका क्रममा पोखरामा निधन भएका गीतकार एंव संगीतकार सुक गुरुङको आजै पोखरामा अन्येष्टि गरिएको छ ।
उनको ‘छेक्यो छेक्यो देउराली डाँडा’, ‘आँखैमा झलझली हितैको दौँतरी’, ‘भाइटीकामा भेट्न आउँला’, ‘दोष कसैलाई दिन चाहन्न’ जस्ता गीत लोकप्रिय छन् ।
उनको गीतमा अरुण थापा, नेपथ्य, शर्मिला बर्देवा, सुकमित गुरुङ लगायतले स्वर दिएका छन् । नयाँ र पुराना कलाकार सबैलाई माया गर्ने गुरुङ २०४८ सालदेखि मधुमेहको रोगबाट पीडित थिए भने पछि मिर्गौलाको समेत समस्या देखिएको थियो ।
२०२२ सालमा लमजुङमा जन्मिएका गुरुङको सांगीतिक यात्रा पोखराबाट सुरु भएको उनका साथी रमेश अधिकारीले बताए । उनका श्रीमती र दुई छोरा रहेका छन् ।


375 पटक हेरिएको 






