
इलाम। नगर खेलकुद प्रतिष्ठानले आयोजना गरेको दोस्रो नगरस्तरीय फुटबल प्रतियोगिताको उपाधी वडा नं. ९ ले हात पारेको छ ।
सदरमुकामको ठूलो टुँडिखेलमा शनिबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा वडा नं. ९ ले वडा नं. २ सुम्बेकलाई फराकिलो जीत निकाल्दै उपाधी चुमेको हो ।
विभागीय टोलीका खेलाडी उतारेको वडा नं. ९ ले ६ गोल गर्दा वडा नं. २ ले कुनै गोल गर्न सकेन । खेल अवधिमा दुवै टीमले एक एक पेनाल्टीको अवसर पाएका थिए । वडा नं. ९ ले पेनाल्टीको अवसरलाई सुन्दर गोलमा परिणत गर्न सफल भयो भने वडा नं. २ ले पेनाल्टीको अवसर समेत गुमायो । वडा नं. ९ का खेलाडी प्रविण राईले पेनाल्टीलाई सहज ढंगले गोलमा परिणत गरेका थिए । वडा नं. २ का खेलाडी छुल्टिम तामाङ्गले प्रहार गरेको किक विपक्षीको गोल रक्षक प्रवेश श्रेष्ठले बचाएका थिए ।
दर्शकको राम्रो उपस्थितिका बीच सम्पन्न फाइनल खेलमा वडा नं. ९ का तर्फबाट प्रविण राईले २ गोल र सुशान्त केसी, विवेक बस्नेत, किश्मत लिम्बू, प्रदिप विष्टले १÷१ गोल गरेका थिए ।
प्रतियोगिताका विजेता वडा नं. ९ लाई प्रदेश सांसद राम रानाले एक लाख नगद, ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरेका थिए । यसरीनै उपविजेता वडा नं. २ लाई जिल्ला समन्वय समितिका प्रमुख गणेश बराल र इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले नगद, ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरेका थिए ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी वडा नं. ९ का सुशान्त केसी घोषित भएका थिए । यसरीनै उत्कृष्ठ गोलकिपर वडा नं. ९ का खेलाडी प्रवेश श्रेष्ठ, उत्कृष्ट मिडफिल्डर वडा नं. २ का खेलाडी अर्जुन गुरुङ्ग, उत्कृष्ठ फरवार्ड वडा नं. ९ काख खेलाडी प्रविण राई र उत्कृष्ठ डिफेन्स हरी सिटौला घोषित भएका थिए । फाइनल खेलको म्यान अफ द म्याच भने वडा नं. ९ का खेलाडी विवेक बस्नेत घोषित भएका थिए । उत्कृष्ठ खेलाडीहरुलाई वडा नं. ५ का वडाध्यक्ष ठाकूर नारायण श्रेष्ठ, वडा नं. ६ का वडाध्यक्ष माधव भट्टराई, वडा नं. ३ का वडाध्यक्ष तीर्थ गुरुङ्ग र वडा नं. ९ का वडाध्यक्ष श्यामकृष्ण घिमिरेले पुरस्कार प्रदान गरेका थिए ।
नगर खेलकुद प्रतिष्ठानका अध्यक्ष तीलक ठकूरीको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा प्रदेश सांसद राम राना, जिल्ला समन्वय समितिका प्रमुख गणेश बराल, इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत, सुरक्षा निकायका प्रमुख, वडाध्यक्षहरु तथा विभिन्न संघ संस्थाको उपस्थिति रहेको थियो ।
इलाम नगरपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता सम्पन्न गरिएको प्रतिष्ठानका सचिव गणेश खतिवडाले बताए ।


775 पटक हेरिएको 






