खस्कदो शैक्षिक गुणस्तर: कति दोषी ?

लेख

   अरुण नेपाल

 846 पटक हेरिएको

अनौठो अनुभुति
केही समय अगाडिको कुरा हो । म काँधमा झोला भिरेर पढाउन हतार हतार क्याम्पस जाँदै थिएँ । एकजना अभिभावकले मलाई बाटैमा रोक्नुभयो । अनि एउटा गम्भीर गुनासो गर्नुभयो । तपाइहरुको क्याम्पसमा त पढाइ नै हुँदैन रे । तपाईहरु पढाउँदै पढानुहुन्न रे । पढाइ भएन भन्यो भने उल्टो झपार्नु हुन्छ रे । यस्तो पढाइ नै नहुने र गाली खाने क्याम्पसमा पढ्नु भन्दा त बरु नीजि क्याम्पसमा पढ्ने भन्दै एक गाडी विद्यार्थी त अन्तै लागे त । ती अभिभावकको यस्तो गुनासो सुनेर मलाई निकै अनौठो अनुभुति भयो । म एकाएक रातोपिरो भएँ । अक्क न बक्क भएँ । के भन्नु के नभन्नु भयो । यसो उसो, आँआँ, उँउँ गर्दै टारटुर गरेर त्यसदिनलाई कसो कसो उम्किएँ । ती अभिभावकसँग पुनः भेट भइहाल्ला कि भनेर दिनहुँजसो डर लाग्न थाल्यो । भेट भइहालेमा निकै हतार भए झैं गर्दै नबोली हिड्न थालें । तर मनमा कहिल्यै शान्ति भएन । मन भत्भत् पोलीरह्यो । म शिक्षकले नपढाएकै कारण विद्यार्थी अन्तै गए रे । पढाइ भएन भन्दा पनि मैले उनीहरुलाई उल्टो गाली गरें रे । आखिर तिनै विद्यार्थी पढाउन भनेर मैले सरकारी क्याम्पसमा जागिर खाएको हो । मैले भन्दा कम सेवा सुविधा लिएर नीजि क्याम्पसमा पढाउने मेरै साथीका क्याम्पसतिर ती विद्यार्थी हान्निए रे । मलाइ कसै गरे चित्त बुझेन । एक किसिमको अपराधबोध भयो । इमान्दारपूर्वक सकेको सेवा गर्छु भनेर मरिहत्ते गरेर सरकारी क्याम्पस प्रवेश गरेको मेरै बेइमानीका कारण आज क्याम्पसमा विद्यार्थी आउन छाडेर अन्तै गए रे भन्ने ती अभिभावकको अभिव्यक्तिले मलाइ सताउनसम्म सतायो । त्यो अपराधबोधबाट मुक्ति पाउन मैले ती अभिभावक र विद्यार्थीसँग सार्वजनिक रुपमा माफी माग्ने निर्णय गरें । आइन्दा त्यस्तो जघन्य अपराध नदोहो¥याउने वाचाबन्धन गरें । अब पाठ्यक्रमले तोके बमोजिमका उद्देश्य पूरा गर्न पाठ्यक्रमले नै निर्दिष्ट गरेका कृयाकलाप गरेर पाठ्यक्रममै उल्लेख भएका पूरा घण्टी प्राध्यापन गर्ने अठोट गरें । भविष्यमा मेरै अपराधका कारण मेरा क्याम्पसमा पढ्न चाहने विद्यार्थीलाई अन्य अपायक पर्ने ठाउँमा जानुपर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गरेरै छाड्ने कसम खाएँ । यति गरेर मेरो बानीमा सुधार ल्याउन खोजे पनि मैले सोचेजस्तो पठन पाठन कार्यमा खासै सुधार आउन सकेन । अनि म आफैंले केही बर्षदेखि प्राध्यापन गर्दै आएको अनिवार्य अंग्रेजी पढाउँदा भोगेका केही सत्य तथ्य आदरणीय अभिभावकवर्ग लगायत सम्पूर्ण सरोकारवाला समक्ष पस्केर जलेको मनमा मलमपट्टि लगाउने जमर्को गरेर यो लेख लेख्न तम्सिएँ ।

विषयगत उद्देश्य
त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय अन्तर्गत स्नातक तहमा अनिवार्य अंग्रेजी शिक्षण गर्नुको प्रमुख उद्देश्य विद्यार्थीको पठन र लेखन सीप विकास गर्नु हो । पठन र लेखन सीपसँगै अंग्रेजी व्याकरण र शब्दभण्डारमा बृद्धि गर्ने लक्ष्य समेत पाठ्यक्रममै किटान गरिएको छ । उक्त उद्देश्य पूरा गर्न आवश्यक शिक्षण विधि, मुल्यांकनका आधार र बर्षभरिमा पढाइ हुनुपर्ने न्युनतम १५० घण्टी समेत पाठ्यक्रममै उल्लेख गरिएको छ । पाठ्यक्रममै स्पष्टसँग उल्लेख भएका यिनै विधि, प्रकृया र आधारलाइ कार्यान्वयनमा उतार्न खोज्दा शैक्षिक शत्रको शुरुदेखि नै प्रभावकारी शिक्षणमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा नकारात्मक प्रभाव पार्ने केही गम्भीर समस्याको सामना गर्नु प¥यो । झट्ट हेर्दा सामान्य जस्तो लाग्ने ती केही गम्भीर समस्या निम्नानुसार छन् ।

विद्यार्थी भरना
तोकिएको समयमा सबै विद्यार्थी भरना नभइदिने हुनाले शैक्षिक सत्रको शुरुदेखि नै जमेर प्राध्यापन गर्न कहिल्यै पाइदैन । शुरुका कक्षामा दुइ चार जना विद्यार्थी मात्र उपस्थित भइदिने र भरना कार्यक्रम शैक्षिक शत्र भरि नै जस्तो भइरहने भएकाले प्रभावकारी शिक्षणमा नराम्रो असर पर्ने गरेको छ । बर्षेनी आउने यो समस्याका सम्बन्धमा क्याम्पसको नेतृत्ववर्ग, शिक्षक र विद्यार्थी कहिल्यै सम्बेदनशील नहुनु निकै उदेकलाग्दो विषय बनेको छ । अनौपचारिक गफगाफमा निकै पेचिलो ढंगले उठे झैं गर्ने यो समस्याको समाधानका सम्बन्धमा सरोकारवालाको उचित ध्यान जान किन नसकेको होला ? भन्ने प्रश्न निकै गहन र अर्थपूर्ण छ । अब यस बारेमा पनि अभिभावकज्यूहरु सचेत भइदिनु प¥यो । आफ्ना नानीहरुलाइ तोकिएकै समयमा भरना गरेर नियमित रुपमा कक्षामा उपस्थित हुन राम्ररी सम्झाइदिनु प¥यो ।

समुह विभाजन
दोश्रो अचम्मको कुरा के छ भने परम्परा पछ्याउँदै शैक्षिक शत्रको शुरुमै अनिवार्य विषयमा कम्तीमा दुईवटा समुह हुने गरी रुटिन निर्माण हुने गरेको छ । जोडी र विजोडी रोल्नम्बरका आधारमा हुने समुह विभाजन कार्य विद्यार्थीको भरनै नभइदिएपछि यसै अलपत्र पर्छ । शैक्षिक शत्रको शुरुमा विद्यार्थी उपस्थितिको तुलनामा भरना दर अत्यन्तै न्युन हुने गरेको छ । यसरी शैक्षिक शत्रको शुरुदेखि नै समुह विभाजनमै अन्योलता छाएपछि कसरी प्रभावकारी ढंगले प्राध्यापन गर्नु ? यसबारेमा पनि बर्षैपिच्छे ठूलै खैलाबैला हुन्छ । तर समस्याको दिगो समाधानका लागि हामी सरोकारवाला कहिल्यै प्रयास नै गर्दैनौं । बरु यस्तै अस्तव्यस्ततामै रमाउन अभ्यस्त भइसकेकाले होला यस्ता कुरालाइ झिनामसिना कुरा ठानी यसै उडाइदिन्छौं । उल्टो यस्तै अस्तव्यस्ततामा रमाएर निहित स्वार्थ पूरा गर्न अत्यन्तै अपारदर्शी ढंगले थप अपराधकर्म गर्ने प्रवृत्ति पछिल्लो समयमा निकै मौलाएर जान थालेको छ । आदरणीय अभिभावकवर्गलाइ पत्याउनै कठीन हुने र निकै सामान्य जस्तो लाग्ने यो अर्काे स्थायी समस्याका कारण पठन पाठन कार्यमा नराम्रो प्रभाव पर्ने गरेको छ ।

विद्यार्थी उपस्थिति
भरनामा हुने ढिलासुस्ती र समुह विभाजनमा हुने अन्योल चिर्दै येनकेन पठनपाठन शुरु गरेपछि कक्षामा हुने विद्यार्थीको उपस्थिति उस्तै निराशाजनक हुने गरेको छ । भरना भएका विद्यार्थी मध्ये झण्डै एक तिहाइ जति विद्यार्थी कक्षाकोठामा कहिल्यै प्रवेश नै गर्दैनन् । अर्काे एक तिहाइ विद्यार्थीको उपस्थिति पैतिस प्रतिशत भन्दा कम हुन्छ भने बाँकी एक तिहाइ जति विद्यार्थी मात्र मुश्किलले पैतिस प्रतिशत भन्दा बढि कक्षामा उपस्थित हुन्छन् । कक्षाकोठामा विद्यार्थीको उपस्थिति नै यस्तो निराशाजनक भएपछि शैक्षिक गुणस्तर कसरी उक्सन सक्छ ? भन्ने प्रश्न हामी सरोकारवालामाझ कहिल्यै नउठ्नु अर्काे आश्चर्यको विषय बनेको छ । त्यो भन्दा पनि अचम्मको कुरा त विद्यार्थी उपस्थित नभइदिएकाले सहजै जागिर पकाउन सकिने कुरा पो हामी शिक्षकको जीवनशैली जस्तो बन्न थालेको छ । यसरी शिक्षक र विद्यार्थी पाठ्यक्रममा तोकिए बमोजिम कक्षाकोठामा भेटै नभएपछि शिक्षाको गुणस्तर कसरी उक्सिएला र ? अनौपचारिक रुपमा निकै चर्चा हुने गरेको यो समस्याले पनि हामी सरोकारवालाको आवश्यक ध्यानाकर्षण गर्न पटक्कै सकेको छैन ।

लामो अवधिका बिदा
सुन्दै अचम्म लाग्ने अर्काे एउटा अभ्यास के हुँदै आएको छ भने, क्याम्पसमा जाडो, गर्मी र दशैं गरी बर्षेनी तिनवटा लामा बिदा हुने गरेका छन् । यी बिदा हुनु भन्दा लगभग सात दिन अगावैदेखि पठनपाठन कार्यमा प्रतिकुल असर पर्न थाल्छ भने बिदा सकिएको सात दिन पछिसम्म पनि त्यस्तै अवस्था हुन्छ । यसरी प्रत्येक लामा बिदाका शुरु र अन्त्यका समयमा थप पन्ध्र दिन पठनपाठन कार्यमा प्रतिकुल असर पर्ने कुराले पनि हामी सरोकारवालालाइ खासै छोएको छैन । बरु हामी यहि कुरामा अभ्यस्त भइसकेका छौं ।

परीक्षा
परीक्षाका कारण पठनपाठनमा पर्ने नकारात्मक असरका बारेमा त झन् खासै चर्चै हुन छाडेको छ । बर्षैभरि जस्तो यो वा त्यो तहको परीक्षामा निरिक्षक बस्नुपर्ने, प्रयोगात्मक परीक्षामा सामेल हुनुपर्ने, अभ्यास शिक्षणमा खट्नुपर्ने, पर्यवेक्षक बस्नुपर्ने कारणले पठनपाठन कार्य ओझेलमा पर्ने गरेको छ । अझ आफू प्राध्यापनरत क्याम्पस भन्दा बाहेक अन्य क्याम्पसमा समेत प्रयोगात्मक परीक्षा, अभ्यास शिक्षण र झण्डै महिना दिनसम्म चल्ने परीक्षामा पर्यवेक्षक बनेर जाने कुराले त पठन पाठन कार्य धेरै नै प्रभावित हुने गरेको छ । यसरी शिक्षक अन्य क्याम्पसमा जाने क्रममा कहिले कहि त पूरै विभागै खाली हुने अवस्था आएका निकै तिता अनुभव समेत छन् । त्यसमा पनि कतिपय अवस्थामा कुन शिक्षक कुन क्याम्पसमा गएको छ भन्ने कुरा स्वयं क्याम्पस प्रमुखलाइ समेत थाहा नहुने अपत्यारिला जस्ता लाग्ने घटना पनि प्रशस्त घटेका छन् । यसरी कुनै पनि विकसित मुलुक भन्दा ठीक विपरित ढंगले परीक्षालाइ पहिलो र पठन पाठन कार्यलाइ दोश्रो प्राथमिकतामा राख्ने गलत प्रचलन तोड्नुको सट्टा त्यही गलत प्रचलनसँगै सति जान हत्ते हाल्नु भन्दा दयनीय कुरा अरु के होला ?

निश्कर्ष
पठन पाठन कार्यमा प्रतिकुल असर पार्ने यी त केही प्रतिनिधि कारण मात्र हुन् । पठनपाठन कार्यलाई चुस्त, दुरुस्त, सहज एवं उत्साहजनक ढंगले हाँकेर लैजान प्रतिकुल असर पार्ने अन्य कारणको चर्चा गरेर साध्य नै छैन । त्यस्ता घटिया कारण यहाँ उल्लेख गर्दा अभिभावकवर्गले पत्याउँदा पनि पत्याउनु हुन्न । समयको प्रवाहसँगै ती सत्यतथ्य पनि कुनै दिन त पक्कै पनि सार्वजनिक होलान् नै । तर त्यतिञ्जेलसम्ममा धेरै सरकारी शिक्षण संस्थाको मृत्यु भइसकेको हुन सक्छ । परिस्थिति यति जटील र गम्भीर बनिसक्दा पनि सरकारी शिक्षण संस्थाका सरोकारवाला हामी कोही पनि कतिपनि सम्बेदनशील हुन नसक्नु निकै रहस्यमय कुरा भएको छ । सरकारी शिक्षण संस्थाको यस्तो हालत देख्दा सरकारी शिक्षण संस्थाको पतन नै सम्बृद्ध नेपाल र सुखी नेपालीको प्रमुख आधार पो हो कि क्या हो ? भन्ने निश्कर्श निकाल्नुपर्ला जस्तो भएको छ । निर्वाचनताका त्यहि नाराको पछि दगुर्ने पात्रहरु नै सरकारी शिक्षण संस्थाको हत्या गर्न न्वारनदेखिको बल निकालेर लागेको देख्दा सरकारी शिक्षण संस्थाको पतन बिना सम्बृद्ध नेपाल र सुखी नेपालीको सपना कुनै पनि हालतमा पूरा नहुने नै रहेछ भन्ने निष्कर्श निकाल्न बाध्य नै भइन्छ । जेसुकै निष्कर्श निक्ले पनि यस लेखको शुरुमै उल्लेख भए झैं सरकारी शिक्षण संस्थाको हालत खराव गर्नमा केन्द्रिय भुमिका निर्वाह गर्ने म शिक्षकका सम्पूर्ण दोषको जिम्मा लिन म तयार छु । अब मसँग थप दोषको भारी बोक्न सक्ने क्षमता छँदैछैन । मलाई मेरा दोष बमोजिमको दण्ड सजाय गर्न अलिकति पनि ढिला नगरियोस् । तर सरकारी शिक्षण संस्थाको जीवन रक्षा गर्न आदरणीय अभिभावकवर्गले देखाएको चासो र चिन्ता एउटा तार्किक निश्कर्षमा पुगेरै छाडोस् । शिक्षककै बेइमानीका कारण तपाइहरुका नानीहरु गाडी चढेर अपायक पर्ने नीजि शिक्षण संस्थातिर हानिनु पर्ने बाध्यात्मक अवस्थाको चाँडो भन्दा चाँडो अन्त्य होस् । बरु अन्य क्षेत्रका विद्यार्थीहरु बडेबडे गाडीमा हाम्रो क्याम्पसमा आउने वातावरण बनोस् । म शिक्षकका कारण यस क्याम्पसमा पढ्ने इच्छा भएका विद्यार्थी अन्यत्र गएको कुराप्रति म यहि लेख मार्फत क्षमा माग्न चाहन्छु । आशा एवं विश्वास छ, अभिभावकवर्गले अवश्य क्षमा गर्नुहुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार