सबैभन्दा धेरै चिया व्यावसायी इलाममा

  सरलपाटी सम्वाददाता

 883 पटक हेरिएको

इलाम ।  चिया भन्ने बित्तिकै प्रायः इलामलाई नै सम्झिने गरिन्छ । चियाको राजधानी नाम रहेको यो इलाममा देशकै सबैभन्दा बढी चिया व्यावसायी भएको जिल्ला रहेको पनि एक तथ्यांकले देखाएको छ ।
चियाको राजधानी मानिने इलाममा देशमै सबैभन्दा बढी चिया किसान रहेको पाइएको छ । यहाँका ५ हजार ५ सय ८२ साना किसान (६०.६ प्रतिशत) चियाको व्यावसायिक खेती गरिरहेको तथ्यांकले देखाएको हो । इलाममा ठूला चिया बगान र उद्योग नै १६ वटा छन् । व्यावसायिक चिया किसानमध्ये पनि इलामका ५३ प्रतिशत किसानको मात्रै मुख्य आम्दानीको स्रोत चिया हो । केन्द्रीय तथ्यांक विभाग र नेपाल चिया तथा कफी विकास बोर्डले गरेको अध्ययनअनुसार देशका ९ हजार २ सय ३६ किसानले व्यावसायिक रूपमा चियाखेती गरिरहेका छन् ।
तीमध्ये चिया खेती गर्ने किसान इलाममै सबैभन्दा बढी देखिएका हुन् ।
चियाखेतीमा आबद्ध निजी क्षेत्रका संघ–संस्थाले २५ हजार हाराहारी किसान यसमा आबद्धरहेको जनाएपनि सरकारी तथ्यांकले भने चियामै व्यावसायिक किसानको यो तथ्यांक फेला पारेर सार्वजनिक गरेको छ । व्यावसायिक चिया खेती गर्ने किसानको संख्याका आधारमा दोस्रो स्थानमा रहेको झापामा १ हजार ५ सय ३२ किसानले चिया खेती गर्छन् । पाँचथरमा साना(ठूला चिया किसान÷बगानको संख्या ७ सय ७२ छ । यो संख्या तेहूथुममा ३ सय १६ र धनकुटामा ३ सय १२ रहेको तथ्यांकले देखाएको छ । नेपालमा चियाको व्यावसायिक खेती भइरहेका १४ जिल्लामध्ये सबैभन्दा कम चिया किसान÷बगान रहेको जिल्ला सिन्धुपाल्चोक हो । त्यहाँ एउटा मात्रै चिया बगान छ ।
तर, चिया उत्पादनका हिसाबले सबैभन्दा ठूलो जिल्ला झापा हो । झापामा ठूला बगानको संख्या ६९ छ । झापाको ७ हजार १ सय ९५.१५ हेक्टरमा भइरहेको खेतीबाट ८२ हजार ५ सय १७ मेटिूक टन हरियोपत्ती वार्षिक रूपमा उत्पादन भइरहेको छ । इलाममा भने ३ हजार ३ सय ९३ हेक्टरमा भइरहेको चियाखेतीबाट वार्षिक १५ हजार ९ सय ७१ मेटिूक टन हरियो चियापत्ती उत्पादन हुने गरेको तथ्यांक छ । झापामा ६ करोड ३५ लाख चियाका बोटबाट हरियोपत्ती उत्पादन हुने गरेको छ भने इलाममा यो संख्या ४ करोड ५८ लाख छ । नेपालमा चाहिँ कुल १२ हजार ६७ हेक्टरमा ११ करोड ६७ लाख ५१ हजार चियाका बोटबाट हरियो पत्ती उत्पादन हुने गरेको तथ्यांकमा उल्लेख छ । इलाममा अर्गानिक खेती सुरु भएपनि झापामा अर्गानिक उत्पादन छैन । इलामका किसानले चाहिँ राम्रो बजार र मूल्य पाउने भएपछि चियालाई अर्गानिक बनाउन थालेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार