इलाम । 
गत चैतमा भएको एसइई परीक्षा दिँदै गर्दा ज्वरो आएपछि इलाममा अस्पतालमा भर्ना भएका सदरमुकामस्थित ज्योति विद्या मन्दिरका विद्यार्थी ऋतिक घिमिरेको अहिले भरतपुर क्यान्सर अस्पतालमा उपचारका भइरहेको छ ।
यतिबेला घिमिरेको परिवार, छरछिमेक र शुभचिन्तकले ऋतिकको उपचारका लागि सहयोग जुटाइरहेका छन् । घिमिरेको शरीरमा रगत उत्पादनको मात्रा ज्यादै कम भएको भन्दै इलाम अस्पतालले थप उपचारका लागि झापाको विर्तासिटी अस्पतालमा पठायो । विर्तासिटीमा डाक्टरहरूले १४ वर्षीय बालक घिमिरेको रगतमा ‘ब्लड क्यान्सर’को आशंका गरेर भरतपुर क्यान्सर अस्पताल रेफर गरे । अन्ततः भरतपुरमा पु¥याउँदा घिमिरेलाई ब्लड क्यान्सर भएको पत्ता लाग्यो । घिमिरेको रगतमा (ब्ःीःघ तथउभ ) ५८ प्रतिशत पुगेको पाइएको घिमिरेकी दिदी फल्गुणा घिमिरेले जानकारी दिइन् । डाक्टरले उपचार सफल हुन्छ भनेका छन्, दिदी फाल्गुणाले भनिन्, ‘उपचार पछि ६ महिना सम्म नानीलाई अस्पतालमै राख्नु पर्ने र तीन वर्षसम्म निरन्तर डाक्टरको रेखदेखमा राख्नुपर्ने डाक्टरहरूको सल्लाह छ । घिमिरेको उपचारमा करिब ३० लाख रूपैयाँ भन्दा बढी खर्च हुने अनुमान रहेको फाल्गुणाको भनाइ छ । छोराको उपचारमा खर्च जुटाउनै मुस्किल परेकाले घिमिरे परिवारले उपचारमा सघाउन प्रभुबैंकमा रहेको १३२०१००१०१२६६००००००१ नम्बरको बैंक खातामा सहयोग उपलब्ध गराइदिन सबैमा आग्रह पनि गरिरहेका छन् । घिमिरेको उपचारार्थ निर्माण भएको सहयोग समितिले पनि साढे १४ लाख रूपैयाँ सहयोग संकलन गरेको समितिका गोपाल निरौलाले जानकारी दिए ।
घिमिरेको परिवारमात्र होइन माइजोगमाई–५ सोयाङका शेरबहादुर राईलाई क्यान्सरबाट थलिएकी श्रीमतीको उपचार खर्च जुटाउन अर्काे समस्या छ । खर्च अभावले अस्पताल समेत लान नसकेर घरमै सामान्य औषधि ख्वाइरहेका राईले त्यही औषधि किन्ने पैसा समेत नभएर खर्चको जोहो गर्न सदरमुकाम आएको बताए । जनस्वास्थ्य कार्यालयले पनि केही खर्च गर्छ अरे, राईले भने, ‘नगरपालिकाले पनि सहयोग गर्छ कि भनेर सदरमुकाम आएको, खर्च जुटाउनै नसक्दा उपचार गर्न सकिएन, क्यान्सरले थलिएको छ महिना भयो ।’
घिमिरे र राई जस्ता कडा किसिमका रोगका विरामीको संख्या इलाममा बढ्दो छ । गएको आर्थिक वर्ष ०७४÷०७५ मा दुई सय २२ जनाले जनस्वास्थ्य कार्यालयबाट विपन्न नागरिक औषधोपचार आर्थिक सहायताका लागि सिफारिस लगेका छन् । ती मध्ये क्यान्सरका ९६ जना, मुटु सम्बन्धी बिरामी ७२ जना, मृगौलाका ३६, स्पाइनल हेड इन्जुरीका १५, ब्रेन ट्युमरका दुई, पार्किन्सनका एक जना बिरामीको उपचारका लागि सिफारिस पठाइएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
अघिल्लो आर्थिक वर्ष ०७३÷०७४ मा क्यान्सरका एक सय ५२, मुटु रोगका ८९, मृगौलाका बिरामी २९ जना गरी दुई सय ७० जनाले जिल्लाबाट सिफारिस लगेको तथ्याकं जनस्वास्थ्य कार्यालयमा छ । आर्थिक वर्ष ०७२÷०७३ मा क्यान्सरका ७३, मुटुरोगका ३१, मृगौलाका २३, गरी एक सय २७ बिरामीले जिल्लाबाट सिफारिस लगेका थिए । यस्तै आर्थिक वर्ष ०७१÷०७२ मा क्यान्सरका ७३, मुटुरोगका २० र मृगौलाका ७ गरी एक सय जनाले जिल्लाबाट सिफारिस लगेका थिए ।
जिल्लाको चारवर्ष यताको यो तथ्याकंमा इलाम क्यान्सर, मुटु र मृगौला रोगका विरामीको संख्या वर्सेनि बढ्दो अवस्थामा छ । यी रोगबाट बालकदेखि वृद्ध उमेर सम्मकै व्यक्ति पीडित भएको देखिन्छ । यसबाहेक जिल्लामा उच्च रक्तचाप, मधुमेय, स्वासप्रस्वास सम्बन्धी विरामीको संख्या पनि उच्च रहेको कार्यालयले जनाएको छ । आर्थिक वर्ष ०७४÷०७५ को साउन–माघ महिना सम्म उच्चरक्त चापका विरामीको संख्या तीन हजार तीन सय दुई जना सोही समयमा मधुमेयका विरामीको संख्या एक हजार ७८, स्वासप्रस्वास (सीओपीडि) का विरामीको संख्या चार सय १७ रहेको थियो, जनस्वास्थ्य कार्यालयकी तथ्यांक सहायक सञ्जु कार्कीले भनिन् , ‘ त्यसयताको तथ्याकं स्थानीय तहबाट आएको छैन, तर, यस्ता किसिमका विरामीको संख्या धेरै बढेको छ । विपन्न नागरिक औषधोपचार आर्थिक सहायताबाट एक लाख रूपैयाँ सम्मको उपचार खर्च सरकारले व्यहोर्ने व्यवस्था छ । अस्पतालले रोग किटान गरी दिएको पुर्जी र विरामीको नागरिकता तथा वडा कार्यालयको सिफारिसमा जिल्ला समन्वय समितिका प्रमुख संयोजक रहेको समितिले यो रकम खर्च गर्न सिफारिस दिने गरेको छ । दैनिक खानपान, सुविधाभोगी जिवनशैली र अर्गानिक खानेकुराको कमिले यस्ता बिरामीको संख्या बढ्दो रहेको चिकित्सकहरू बताउँछन् । दैनिक व्यायाम नगर्ने, अस्वस्थकर खाना खाने जस्ता बानीले मानव शरीरमा रोग बढेको चिकित्सकको भनाइ छ ।


585 पटक हेरिएको 






