मन्त्रीका कुराले श्रमिक विश्वस्त

माग पूरा गराउने मन्त्रीको प्रतिबद्धता

  किरण पौड्याल

 555 पटक हेरिएको

इलाम, ‘हामीले नयाँ कुरा मागेका होइनौ । सरकारले तोकको नियम अनुसारको ज्याला मात्र मागेका हौँ ।’ यहाँस्थित इलाम चिया कमानकी श्रमिक सरस्वती चम्लागाईंले भन्नुभयो,‘त्यहीँ माग गर्दा पनि कारखानाले दिएको छैन ।’
गत चैत १७ देखि आन्दोलनरत चिया श्रमिकले आज चिया कमानमा श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्ट सँग गुनासो गरेको भनाइ हो यो । ‘हामीले यही फ्याक्टीमा काम गरेको १९ वर्ष भयो । कहिले १० रुपैयाँ कहिले २० रुपैयाँ ज्याला बढ्छ । सधै सहेरै बसेका छौ’ चिया श्रमिक चौलागाईंले भन्नुभयो,‘राज्यले तोकेको ज्याला पाउन पनि कति गाह्रो ?नयाँ कानून आएपछि त नयाँ ज्याला दिनुपर्छ होइन र ?’
चौलागाईंले यस अघि पनि श्रमिकले तोकिएको ज्याला पाउन सङ्घर्ष नै गर्नुपरेकोे गुनासो पोख्नुभयो । यति मात्र नभइ उहाँले कारखानामा कारखाना व्यवस्थापनले भने बमोजिम नै खटेको समेत कुरा राख्न छुटाउनु भएन । ‘हामीले कहिले विहान ४ बजे देखि कहिले तीनै बजेदेखि पनि टर्स बालेर काम गरेको छौ’ चम्लागाईंले थप्नुभयो,‘हामीलाई पनि त हाम्रो काम प्रति माया छ । त्यही ज्याला मागेको त होइन नि ?’
चम्लागाई मात्र नभई सरकारी तथा निजी कारखाना र बगानका श्रमिकको आवाज हो यो । नयाँ श्रम ऐन अनुसार आफूले ज्याला पाउनु पर्ने भन्दै आन्दोलन नै गर्नुपरेको गुनासो श्रमिकहरूको छ ।
सरकारले गत साउन १ देखि लागू हुनेगरी बगानमा काम गर्ने चिया श्रमिकको न्यूनतम् दैनिक ज्याला तीन सय ८५ रुपैयाँ तोकेको छ र उद्योगमा काम गर्ने श्रमिकलाई दैनिक ४२ रुपैयाँ थपेर चार सय २७ रुपैयाँ ज्याला तोकिएको छ । तर, नयाँ श्रम ऐन अनुसार आफूले ज्याला नपाएपछि श्रमिक गुनासो गर्दै नियम अनुसार ज्याला पाउनु पर्ने माग गर्दै आन्दोलनमा निस्किएका थिए ।
न्यूनतम ज्यालाकै माग गर्दै श्रमिकले कहिले थाल पिटेर आन्दोलन गरे भने कहिले तातो भूईमा सुतेर माग पूरा गर्न आग्रह गरे । तर, पनि माग पूरा हुन नसकेपछि श्रम मन्त्रीले एक साताअघि २४ घण्टे अल्टिमेटम दिएर चिया उद्योगीलाई ‘तोकिएको ज्याला दिन नसक्नुको कारण प्रष्ट पार्न’ अनुरोध गर्नुभयो । त्यसपछि पनि झापा र इलामका निजी तथा सरकारी चिया कारखाना खुलेपनि केही कारखाना बन्दको बन्दै रहे ।
तर, आज विहान श्रम मन्त्री गोकर्ण विष्टले नै सरकारले तोकेबमोजिमको ज्याला श्रमिकलाई दिन उद्योगलाई निर्देशन दिएपछि पूर्ण रूपमा श्रमिक काममा फर्किने भएका हुन् ।
‘हामी नयाँ नियम अनुसार श्रमिकलाई ज्याला दिने छौ । तर, केही समय लाग्छ’ सरकारी चिया बगान भाडाँमा लिएका सांघाईं ग्रुपका अध्यक्ष सुवास सांघाईंले भन्नुभयो,‘ राम्रो आम्दानी नै छैन । तर, पनि ज्याला दिन्छौ । मालिक बाचे श्रमिक बाच्ने हो र श्रमिक बाचे मालिक बाच्ने हो ।’
मन्त्री अनुगमनमा चिया बगान पुग्दा साथै पुगेका उद्योगका मालिक सांघाईंले सरकारको कानून विपरीत काम गर्न नखोजेको तर चियाको आम्दानी कम हुने भएकाले नयाँ नियम अनुसार ज्याला दिन नसकेको बताउनुभयो । उहाँले पछिल्लो समय इलामका केही बगान मासिने क्रम बढेको र चिया मर्दै गएकाले आम्दानी घटेको स्वीकार गर्नुभयो ।
साङ्घाईले कानून अनुसार ज्याला दिन आफू तत्पर रहेको बताए सँगै श्रम मन्त्री विष्टले कानून अनुसार ज्याला श्रमिकले पाउनु पर्ने र सरकार यसमा प्रतिवद्ध रहेको कुरा प्रष्ट पार्नुभयो ।
‘तपाईं(श्रमिक) हरूको गुनासो मैले बुझेको छु । तपाईंहरू ठुक्क हुनुहोस् । समस्या समाधान हुन्छ ।’ विष्टले भन्नुभयो,‘हजारौलाई रोजगार दिने, राष्ट्रलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन सहयोग गर्ने र हरियाली बनाउने चियाको समस्या समाधान गर्न हामी पनि लागि पर्छौ ।’ उहाँले रोजगारदाता र उद्योगीको समेत समस्या बुझेकाले सबै पक्षको सम्बोधन हुने प्रष्ट पार्नु भयो ।–––

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार