
इलाम। पुवाखोलामा निर्माणधिन जलविद्युत आयोजनाले आफूहरुको मागलाई वेवास्ता गरेको भन्दै प्रभावित क्षेत्रका बासिन्दाले आयोजनाको काम रोकेका छन् ।
इलाम नगरपालिका वडा नं. १ र ४ मा पर्ने पुवाखोलामा निर्माणाधिन पिपुल्स हाइड्रोपावर कम्पनीको काम प्रभावित क्षेत्रका बासिन्दाहरुले शुक्रबारदेखि रोकेका हुन् । आयोजनासँग छलफल गर्नका लागि प्रभावित क्षेत्रका बासिन्दाहरु शुक्रबार निर्माण स्थलमा भेला भएका थिए । तर, आयोजनाका अधिकारिक व्यक्ति समयमै उपस्थित नभएपछि उनीहरुले प्रभावित क्षेत्रसँग सहमति नगरी काम नगर्नु भन्ने सूचना टाँस गरेर काम रोकेका हुन् । ‘प्रभावित क्षेत्रका लागि हामीले एक वर्ष अगाडि २५ बूँदे माग राखेका थियौं, सम्बोधन गर्छौं भने तर सम्बोधन गरेनन् ।’ इलाम नगरपालिका– १ साखेजुङ्गका भीम लोक्तामले भने, ‘हामीसँग छलफल गर्न पनि तयार भएनन् त्यसैले हामीले ढुवानी लगायतका काम रोकेका हौँ ।’
आयोजनासँग स्थानीयले सडक, वन, वातावरण, रोजगारी र स्वास्थ्यसँग सरोकार राख्ने माग राखेका थिए । तर, आयोजनाले दुई चारदिन बाटो खन्ने बाहेकको काम नगरेको स्थानीयको गुनासो छ । प्रभावित क्षेत्र र वातावरण विनाश गरे वापत आयोजनाले कति रकम बराबरको काम गर्ने हो भन्ने कुरा लुकाएर काम गरिरहेको स्थानीय टेक लोक्तामले बताए । ‘बरु नगरले लगानी गरेको बाटोमा ट्याक्टर कुदाएर बाटो विगारिरहेको छ, बनाउने काम गरेको छैन ।’ उनले भने, ‘गर्छौं भन्दाभन्दै दुई वर्ष वितिसक्यो प्रभावित क्षेत्रमा काम गरेको छैन ।’ प्रभावित क्षेत्रलाई गुमराहमा राखेर काम गरेकाले सहमित बिना काम अघि बढाउन नदिने स्थानीय बताउँछन् । स्थानीयलाई रोजगारको अवसरसमेत नदिएको उनीहरुको आरोप छ । यता आयोजनाका श्रीकृष्ण अर्यालले भने स्थानीयसँग सामान्य असमझदारी भएकाले छलफल गरे समस्या समाधान गर्ने बताए । ‘स्थानीय सरकारसँगको समन्वयमा प्रभावित क्षेत्रमा काम गरिरहेका छौं’ अर्यालले भने, ‘केही सडकका काम गरिरहेका छौं ।’ स्थानीयले भने नगर प्रमुख र वडाध्यक्षलाई देखाएर वास्तविक प्रभावित क्षेत्रलाई टार्न खोजेको गुनासो गरेका छन् ।
आयोजनाले सडक खन्नु भनेर इलाम नगरपालिका–१ वडा कार्यालयले मेशिन लगाएर सडक खने पनि त्यसको भुक्तानीसमेत नदिएपछि स्थानीय आयोजनासँग चिढिएको इलाम नगरपालिका– १ का वडाध्यक्ष अम्बिका गौतमले बताए ।
पुवाखोला दङ्गे बजार इन्टेक रहेर साविक सोखेजुङ्ग गाविस–१ मा पर्ने सोती बेसीमा पावर हाउस रहने गरी आयोजनाको निर्माण कार्य भइरहेको छ । ४३ सय मिटर लामो पेनस्टक रहने आयोजनाले जनाएको छ । आयोजनाबाट ५ मेगावाट विद्युत उत्पादन हुने बताइएको छ । उपभोक्ताहरुले आधा काम सकिएको भने पनि आयोजनाले भने २५ प्रतिशत मात्र काम भएको जनाएको छ । ९० करोडको लागतमा रहेको आयोजनाले लागतको शून्य दशमलब ७५ प्रतिशत अनिवार्य प्रभावित क्षेत्रमा काम गर्नुपर्ने प्रावधान छ । यसरी हेर्दा आयोजनाले प्रभावित क्षेत्रमा ६७ लाखभन्दा बढी खर्च गर्नुपर्ने हुन्छ ।
यस्ता आयोजनाले सार्वजनिक सुनुवाई गर्नुपर्ने, सरोकारवाला समिति गठन गर्नुपर्ने, आदिवासी जनजातिका प्रतिनिधि संस्थाहरुसँग स्वतन्त्रपूर्वक सुसूचित सहमिति लिनुपर्ने अन्तर्राष्ट्रिय मान्यता छ । तर, यहाँका अधिकांश जलविद्युत आयोजनाहरु यि कुनै प्रक्रिया पूरा गर्दैनन् । आफ्नो अनुकूलतामा वातावरण प्रभाव मूल्याङ्कन गराउने गरेका छन् । त्यसमा देखाइएका न्यून क्षतिसमेत प्रभावित क्षेत्रमा लगानी गर्दैनन् । प्रभावित क्षेत्रका बासिन्दाहरुलाई वातावरणीय प्रभाव मूल्याकंनको प्रतिवेदन र विस्तृत लागत प्रतिवेदनसमेत देखाउँदैनन् ।


814 पटक हेरिएको 






