साविक विजेता थ्रिस्टार क्लव माइभ्याली गोल्डकपको क्वर्टर फाइनलबाटै बाहिरिएको छ । हिमालयन शेर्पासंग ३–१ को गोल अन्तरले पराजित हुँदै प्रतियोगीताको पहिलो खेलबाटै थ्रिस्टार बाहिरिएको हो ।
थ्रिस्टारले शुरुवाती अग्रता लिएपनि त्यसलाई बचाई राख्न सकेन । खेलको सातांै मिनेटमा थ्रिस्टारका कप्तान अनिल गुरुङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । हिमालयन शेपाले पहिलो हाफमानै बराबरी गोल फर्कायो । सुनिल खड्काको क्रसमा विजय श्रेष्ठले खेलको २० औं मिनेटमा गोल गर्दै टिमलाई बराबरीमा पु¥याए ।
हिमालयन शेर्पाले दोस्रो हाफमा दुई गोल गर्दै अन्तिम चारमा स्थान सुरक्षित ग¥यो । विषन गुरुङले कर्नरबाट गरेको प्रहारलाई हेड मार्फत त्रिदेव गुरुङले जाली चुमाएपछि हिमालयन शेर्पाले एक गोलको अग्रता कायम ग¥यो । खेलको ७४ औं मिनेटमा सुनिल खड्काले थ्रिस्टारका रक्षापंत्तिका खेलाडीलाई छक्याउँदै पेनाल्टी क्षेत्रबाट गरेको प्रहार गोलमा परिणत भएपछि हिमालयन शेर्पाले ३–१ गोल अन्तरको जित निकालेको हो । पहिलो गोलपछि नै दवाबमा परेको थ्रिस्टारले सिर्जना गरेको मौका समेत सदुपयोग गर्न सकेन । शुसील राईले विपक्षीको पेनाल्टी क्षेत्रमा पाएको बलमा गोल गर्न सकेनन् । उनैले डि एरियाबाट गरेको शसक्त प्रहार हिमालयन शेर्पाका गोल रक्षक किशोर गिरीले उत्कृष्ठ बचाउ गरेका थिए ।
थ्रिस्टारका प्रशिक्षक मेघराज केसीले हिमालयन शेर्पाका खेलाडीले मेहेनत गरेर खेल्दा जीत निकालेको प्रतिक्रिया दिए । उनले आफ्नो नियमित खेलाडी नहुँदा निर्धारित खेल अवधिभर मैदानमा तुलनात्मक रुपमा फिट पनि नदेखिएको बताए । ‘हिमालयन शेर्पाका युवा खेलाडीले आज असाध्यै मेहेनत गरेर खेले, उनीहरुले टिमको स्प्रीट क्याच गरेर खेले’ केसीले थपे, ‘हाम्रो टिममा पाँच–सात जना नियमित खेलाडी नहुँदा ग्याप देखियो, नयाँ खेलाडीले टिमको स्प्रीट क्याच गर्न सकेनन्, ९० मिनेट फिट पनि देखिएनन् ।’
हिमालयन शेर्पाका प्रशिक्षक विजेन्द्र पुडासैनीले पहिलो गोल पछि पनि खेलाडीले आश नमारेकाले जीत निकालेको बताए । ‘हामीलाई जसको पहिलो स्कोर हुन्छ उसले जित्छ भन्ने थियो, पहिलो गोल थ्रिस्टारले गरेपछि पनि हाम्रो खेलाडीले आश मारेनन्, जित्ने मनोविज्ञानमा खेल्दा नजिता हाम्रो पक्षमा आयो’–पुडासैनीले भने । जितसँगै हिमालयन शेर्पाले सिमरा गोल्डकपमा थ्रिस्टारसँग भएको पराजयको बदला लिएको छ । सिमरा गोल्डकपको सेमीफाइनलमा हिमालयन शेर्पा १–० गोल अन्तरले पराजीत भएको थियो । बुधबारको खेलको म्यान अफदि म्याच हिमालयन शेर्पाका अफ्रिकन मुलका उर्लिस सुइ (राम्सि) घोषित भए । उनले दश हजार रुपैयाँ नगद प्राप्त गरेका छन् । बिहीबारको खेल सशस्त्र प्रहरीको एपिएफ क्लव र क्यामरुनको दाउफिन्स क्लबबीच हुनेछ ।


758 पटक हेरिएको 






