इलाममा भएको ‘इन्टर–डान्स च्याम्प सिजन–२’ को उपाधि जुविल्याण्ड इलाइट एकाडेमी तथा युनिभर्सल डान्स सेन्टरकी अस्मिता गुरुङले हात पारेकी छन् ।
शुक्रबार इलाम सदरमुकाममा सम्पन्न कार्यक्रममा अस्मिताले मारुनी गीतमा नृत्य गरेकी थिइन् ।यस्तै प्रतियोगितामा एभरलेण्ड इन्टरनेशनल एकाडेमीकी सञ्जु भुजेल र तेस्रो इस्ट पोइन्ट इंग्लिसका आशिष गुरुङ भएका छन् । प्रथम हुने अस्मिताले ३० हजार नगद,ट्रफी, मायाको चिनो र दोस्रो हुने सञ्जुले २० हजार नगद, तेस्रो हुने आशिषले १० हजार नगद हात पारेका छन् । अपांगता भएका विद्यार्थीको नाममा अक्षयकोष निर्माणार्थ गरिएको उक्त प्रतियोगितामा जिल्ला भरका ७० विद्यालयबाट तीन हजार पाँच सय जना विद्यार्थीले भाग लिएका थिए ।
यस्तै शुक्रबारै उक्त अक्षयकोषको नामाकरण समेत गरिएको छ । अक्षयकोषको नाम साथी–देवेन अक्षय कोष राखिएको छ । आउँदो वर्ष हुने अर्को सिजन सम्ममा ३० लाख रुपैयाँको कोष निर्माण गरेर अपांगता भएका विद्यार्थीलाई विभिन्न समस्यामा सहयोग गरिने योजना रहेको आयोजक संस्थाका अध्यक्ष देवेन्द्र शंकरले जानकारी दिए । यस्तै उक्त प्रतियोगिता प्रदेश नं.का सांसद राम रानाको प्रमुख आतिथ्यता तथा देवेन गहना गृहका देबेन्द्र शंकरको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति इलामका प्रमुख गणेशप्रसाद बराल, करुणा फाउन्डेसनका अजित योञ्जन, प्राज्ञ कोमल निरौला, इलाम रेडक्रस सोसाइटीका अध्यक्ष देवी गौतम,निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन इलाम(प्याब्सन)का अध्यक्ष विकास कर्मैचार्य लगायतको उपस्थिति थियो । कार्यक्रममा नृयाङ्गाना मिथिला शर्मा, महेश गोदारले नृत्यको निर्णायक मण्डलमा रहेका थिए ।


1229 पटक हेरिएको 






