बाल्यकालको उछृंखल स्वभावबाट यसरी शिक्षा लिनुहोस्

  प्रकाश अधिकारी

 1158 पटक हेरिएको

बाल्यकाल भन्ने बित्तिकै बिभिन्न स्वभाव र क्रियाकलापहरुसँग जोडिएका विषयहरु मानसपटलमा खेल्न थाल्दछन् । त्यसमा पनि अलि अस्वभाविक कृयाकलापहरु सम्झनलाई समय लाग्दैन किन कि उक्त घटनाले पारेको प्रभावले क्रियाकलापलाई जीवन्त बनाइरहेको हुन्छ । यस्तै बाल्यकालका स्वभाव, घटना र ब्यवहारबाट आर्जित शिक्षा र ज्ञानका आधारमा सबै मानवले आफ्नो जीवनको यात्रा तय गरेका हुन्छन् । तात्कालीन परिवेश, साथीसंगी र पारिवारीक वातावरणले जीवनका गोरेटाहरु स्पष्ट बनाइरहेका हुन्छन् । औपचारिक शिक्षा, अध्ययन अनुसन्धान र अनुभवहरुले जीवन जीउने कलामा परिस्कृत मात्र गर्ने हा,े आधार त उही हामीले बाल्यकालमा बिताएका क्षण देखेका, भोगेका र संलग्न क्रियाकलापहरुबाट आर्जित धारणाले नै जीवनभर प्रभाव जमाइरहेका हुन्छन् ।
रमाइला र नरमाइला धेरै घटनाक्रमहरु हरेक मानिसका बाल्यकालसँग जोडिएका अवस्य हुन्छन् । तीनै घटनाहरुले निर्माण गर्ने धारणा र अनुरुप क्रियाकलापहरुको माध्यमबाट आर्जित ज्ञान र अवधारणा बयस्कतासम्म पुग्दा उसको स्वभाव र शैलीहरुमा झल्किरहेको अवस्य हुन्छ । त्यसैले हरेक मानिसले आफुलाई झकझक्याउन, जीवनयापनलाई समय सापेक्ष बनाउन साथै समाजमा आफ्ना मूल्य मान्यता र ब्यवहारहरुलाई समय–समयमा अवस्य परीक्षण गर्नै पर्दछ । जसका लागि आफ्नो बाल्यकालको परिवेश, संलग्न क्रियाकलापहरु अझ तिता मिठा र अनौठा सबै क्षणहरुलाई महत्वकासाथ स्मरण गर्नै पर्दछ । यहि मान्यतालाई आफ्नो जीवनमा समेत प्रयोग गर्ने सन्दर्भमा म आफुसँग सम्बन्धित बाल्यकालका उछृंखल पाँच घटनाहरुलाई यहाँ प्रस्तुत गर्न सान्दर्भिक ठान्दछु ।
घटना नं. १, म भर्खर–भर्खर स्कुल जान थालेको थिए । पानीको अलि दुःख थियो । एकदिन शनिबार बुवाले मलाई जंगलको धारामा नुहाउन र लुगाधुन लिएर जानुभएको थियो । शुरुमा मलाई नुहाइदिनु भयो अनि लुगाधुन थाल्नुभयो । म चाहीँ यो पानी कहाँबाट आउदोरहेछ भन्ने कौतुहल मेट्न खोल्सै खोल्सा जंगल भित्र लागे बुवालाई पत्तै भएन । फलामको पाइप पछ्याउदै एउटा काठको डुढमा पानी संकलन गरिएको स्थानमा पुगे । त्यहाँबाट अगाडि पाइप थिएन । राम्ररी नियाल्दा त्यहीँ प्वाल बनाएर जोडिएको रहेछ । डुडबाट पाइपमा पानी छिर्दा हल्का घुमेर जाने भएका कारण मलाई असाध्यै रमाइलो लाग्यो । कहिले हातले प्वाल छोप्न,े कहिले झारपात चुढेर डुढमा हाल्दा घुमेको हेर्दै रमाउने, कहिले लामो लौराले डुढको पानी हल्लाउँदा लेउ र झ्याउहरु समेत घुम्ने एकछिनमा सङलिने, धुमिलिने दृश्य बढो रोचक लाग्यो । धेरैबेरसम्म रमाए । अब चाहीँ बुवाले लुगाधोइ नुहाई सक्नुभयो होला । घरजाने बेला भयो भनेर धारातर्फ जादै थिए बुवा त म भएतर्फ हातमा लाठो बोकेर नुहाउदा नुहाउँदैको अवस्थामा मेरो क्रियाकलापबाट आजित भएर ठुलो–ठुलो स्वरले मलाई गाली गर्दै आउनु भएको देखें र गल्ती भएको महसुस गर्दै म तीब्र गतिमा भागेर घर पुगेको थिए ।

घटना नं. २
राष्ट्रिय पञ्चायतको चुनाव थियो । म कक्षा ७ मा पढ्दै थिए । हाम्रो बिद्यालयमा मतदान केन्द्र परेका कारण बिदा गरिएको थियो । बिद्यालय ३÷४ दिनदेखि झकिझकाउ थियो । मैले सोधें । यो चुनावको दिन बिद्यालयमा के कति र कस्ता मानिसहरु आउँछन् । गाँउभरीका धेरै मानिसहरु मतदान गर्न आउने दिनभर जस्तो भीडभाड हुने भन्ने सूचना पाएका कारण उक्त बिद्यालयको कम्पाउण्डमा सानो पसल थाप्ने मैले निर्णय गरे । घरमा अभिभावकसँग परामर्श गर्दा स्वीकृति मिलेन तर मैले आफ्नै तयारी र जिद्धिका कारण पसलका लागि चकलेट, बिस्कुट, दालमोढ, मुराई, भुजियालगायत करीव आठ सय बरावरको सामान खरिद गरेँ । चुनावको दिन ग्राउण्डमा प्लाष्टिकको पालमा पसल शुरु गरेँ । मतदान केन्द्रमा आफ्ना अभिभावकसँग मतदान केन्द्रमा आएका स्कुलका साथीहरुलाई यसै गरिएको वितरण साथै दिनभरको ब्यापार गर्दा सौदा चाहीँ अलिअलिमात्र बचेको थियो सबैले मेरो प्रशंसा गर्दै थिए । दिनभरको ब्यवसायबाट करिव २५० रकम जम्मा भएछ बाँकी समान बोकेर म घरपुगे । भोखिपल्टबाट उब्रेको सामान भनेर छरछिमेकमा समेत बितरणबाट समान चुक्ता गरियो ।

घटना नं. ३
म कक्षा ८ मा पढ्दै थिए । घरमा बुवाले चढ्ने एउटा पुरानो साइकल थियो । म करिव एक डेढ बर्ष देखि साइकल कहिले चलाउने भनेर मौका कुर्दै थिए । प्रायः जसो बुवा घरमा नबस्ने साइकल लिएरनै हिँड्नु हुन्थ्यो । कहिले काही घरमा साइकल छाडेर बुवा कतै जानुभएको अवस्थामा आफ्नो तीब्र इच्छा पुरा गर्ने रहरले साइकल चलाउन खोज्दा चाबि लगाएको हुने अवस्थाले म आजित थिए । एक दिन दिउसो आफ्नो पनि स्कुल बिदा भएका कारण घरमै थिए । बुवाको साइकल घरमा थियो बुवा खै कता जनुभएको थियो आमा घर बाहिरको काममा ब्यस्त हुने भएका कारण घरमा प्राय हजुआमा हुने गर्नुुहुन्थ्यो । मैलै साइकल चलाउन खोज्दा चााबीले दिएन । हजुरआमाको छेउमा गएर धेरै अनुनय बिनय गरेर साइकलको चाबी मागे वहाँले बिल्कुलै दिनु भएन म सँग छैन भरे बुवा आउछ अनि भन्दीउला । अलि ठुलो भएपछि बुवाले सिकाइ दिन्छ, अहिले कुदाउन सक्दैनस भन्दै हजुरआमाले चाबी खोज्न सघाउनु पनि भएन र मलाइ चाबिपनि दिनु भएन । मैले घरमा राखेको साइकललाई एउटा डोरी ल्याएर बाँधे अनि तान्दै घिसार्दै मलखाडी सम्म पुर्याए र सोत्तरले पुरिदिए र गाँउतिर हिडें ।
घटना नं. ४ म कक्षा १० मा पढ्दै थिए । आगामी २०४८ सालको एसएलसी परीक्षाको तयारीमा म थिए । त्यसबेला बिज्ञान बिषय अनिवार्य थिएन । ऐच्छिक बिषयका रुपमा पढ्नु पथ्र्यो। त्यसमा पनि ऐच्छिक गणितसमेत राखेका कारण म बिहान ट्युसन जान्थे । बिहान छ बजे करीब एक घण्टा हिँडेर सरको घरमा पढ्न पुग्नु पर्ने हुन्थ्यो । बिहान तीन बजेबाट उठेर दुई घण्टा घरमै पढेर पाँच बज्दा म ट्युसन हिडिसक्ने मेरो समय तालिका अनुसारको दैनिकी थियो । रातीनै उठेर पढ्छ, ट्युसन जानु आउनु यसलाई गारो भयो भन्ने बुझेर आमा पनि बिहान मसँगै उठ्नु हुन्थ्यो र मलाई चिया खाजा बनाइदिनु हुन्थ्यो । म बिहान पढ्दापढ्दैं चिया खाजासमेत खाएर पाँचबजे ट्युशन हिँड्थे । अघिल्लो दिनको कामको चापले होला एक दिन आमा ढिलो उठ्नु भएछ । आमा भन्दै हुनुहुन्थ्यो आज अलि ढिलो उठेछु । हतार–हतार गरेर मलाई चिया खाजा बनाउन भान्सा घरमा खै के–के गर्दैं हुनुहुन्थ्यो । पाँच बज्यो । म तयार भएर ट्युसनका लागि निस्के । आमाले धेरै ढिपीगरेर चिया खाजा पाकिसक्यो खाएर जा भरे भोक लाग्छ भन्नुभयो । मैले आमाको कुरा सुन्दै नसुनी ढिलोभइसक्यो अव चिया खाजा खान भ्याइन्न भन्दै तर्किदै बाटोलागे ।
घटना नं. ५ दानाबारीको शुक्रबारे बजार छेउमा रहेको ढालापानी खोलाको बगरमा बार्षिक रुपमा लाग्ने एकादशी मेलाको भब्य तयारी चलिरहेको थियो । संयोगले म पनि मेलाबजार ब्यवस्थापन समितिको सदस्य थिए । मेलाबजारलाई भब्य र ब्यवस्थित गर्ने सन्दर्भमा हामी धेरैजना आ–आफ्नो ढंगबाट लागि परेका थियांै । धेरै घर टहराहरु बनेका थिए । ब्यापारीहरु आ– आफ्नो टहरा निर्माणमा ब्यस्त थिए । यतिकैमा मलगायत हामी चारभाई साथीहरुले पनि एउटा टहराको निर्माण गर्यांै । त्यसमा के गर्ने भन्दाभन्दै एक जना साथीले मेला बजारमा डाइस खेलाउनु पर्छ, रमाइलो पनि हुने पैसा पनि कमिने भनेर हामी तीनै जनालाई सहमत गरायो । हामीले चार–चार हजारका दरले रकम संकलन गरेर डाइसको पर्दा गोटी लगायतका आवश्यक सबै सामग्रीहरुको जोहो गरेर मेला बजारको शुरुकै दिन निकै उत्साहका साथ डाइस खेल शुरु भयो । केही काम परेर म एक छिन अन्यत्रै ब्यस्त भए करीव दुई घण्टापछि फर्केर आउदा टहरो खाली थियो । खेल्ने खेलाउने कोही थिएनन् । आश्चर्य लागेर छेउको पसलेलाई सोधे । मेरा साथीहरु त डाइसमा सबै रकम स्वाहा पारेर मेला बजारबाट घर फर्किसकेका रहेछन् । उनले भन्दै थिए ५÷६ जना केटाहरु आएर डाइस खेल्न थाले उनीहरु डाइसमा माहिर रहेछन सबै पैसा मारेर बोकेर हिडे ।
यहाँ घटना एकले आफु रमाउने धुनमा अन्यत्र असर परेको बिषयमा ख्याल नपुग्नाका कारण असहजता निर्माण भएको देखिन्छ । घटना दुईले अभिभावकको सल्लाह विपरितको जिद्धिपनाको परिणामले आफैंलाई हानी पु¥याउने अवस्था बुझ्न सकिन्छ । घटना तीनले तीब्र मायाका नाममा अभिभावकले आफ्ना नानीहरुको विकास र रुचिलाई ख्याल नगर्दाको आक्रोसलाई दर्शाएको पाइन्छ । घटना चारले अभिभावक र नानीहरु बीचमा देखिने कमजोर संचारका कारण दुवै पक्षमा नकारात्मक असर प्रवाह भएको अवस्था पाइन्छ । घटना पाँचले आफ्नो क्षमताको आँकलन गर्न नसक्नु, होहोरेको भरमा कुद्दाको परिणामले सन्तुष्टि दिन कदापि सक्दैन भन्ने बुझाइलाई स्थापित गरेको देखिन्छ ।
उल्लेखित प्रतिनिधि घटनाहरुले मेरो बाल्यकालमा मात्र होइन यो लेख पढ्ने तपाईं पाठकहरुमा समेत विभिन्न खालका सोचाइ, जिज्ञासा र धारणाहरु अवस्य निर्माण गरेको हुनुपर्दछ । यी र यस्ता अनेकांै घटनाहरुका आधारमा बनेको हाम्रो धारणा अन्तत शिक्षाको रुपमा ग्रहण गरिन्छ । यहाँ उदाहरणका रुपमा प्रस्तुत केही उश्रृंखल घटनाहरुबाट समेत यतिका ज्ञान र शिक्षा आर्जन हुनसक्छ भने, तपार्इं हाम्रो जीवनमा घटेका असंख्य राम्रा र महत्वपूर्ण घटना वा क्रियाकलापहरुले तपार्इं हाम्रो वयस्क जीवनलाई समेत डोर्याइ रहेको हुन्छ । त्यसैले बाल्यकालमा गरिएका कुराहरु सामान्य हुन्छन् । महत्वहीन हुन्छन् । त्यसको प्रभाव बयस्क जीवनमा नगन्यहुन्छ भन्ने मान्यता गलत छ । अभिभावकहरुले नानीहरुको रुचि, जिज्ञासा साथै उनीहरुका क्रियाकलापहरुलाई उपयुक्त समयमा महत्वदिने र सहजीकरण गर्नाले नानीहरुको ज्ञान, सीप र धारणामा तीब्र विकास मात्र होइन नानीहरुमा स्वतः स्फुर्त अनुशासन समेत कायम रहन्छ । बाल्यकालका घटना र कृयाकलापहरुबाट आफुले आर्जन गरेको ज्ञान र शिक्षा स्मरण गर्दै आफ्ना नानीहरुका लागि उपयुक्त वातावरणको निर्माणमा सहयोग पुर्याउन सकिन्छ त्यो एउटा छुट्टै विश्वबिद्यालय बन्नेछ ।
saanuprakash@gmail.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार