
इलाम/सबै बाली मासेर आँगनको डिलसम्म लगाएको अलैंची सखाप भएपछि निरास बनेका किसानलाई आधा दशकयता त्यही अलैंचीले आशा जगाइरहेको छ । नयाँ जातको अलैंची खेती गरेर किसानले बर्सेनि उत्पादन र आम्दानी बढाइरहेका छन् ।
हावापानी र उत्पादन क्षेत्र बढेकाले हरेक वर्ष अलैंची उत्पादन बढ्दो रहेको किसान बताउँछन् । परार सालभन्दा पोहोर र पोहोरभन्दा यो वर्ष अलैंची उत्पादन क्रमसः बढिरहेको उनीहरूको भनाइ छ । छिर्केफुर्के, गानो कुहिनेजस्ता रोगले देशमै ७० प्रतिशतभन्दा धेरै मासिइसकेको अलैंची पुनः ब्युँतिएपछि किसानलाई आर्थिक आम्दानीको आधार भरपर्दाे हुँदैछ । थोरै लगानी र मेहनतले एकैपटक राम्रो आम्दानी हुने भएकाले किसान पनि अलैंची खेतीप्रति आकर्षित भएका छन् ।
रोङ गाउँपालिका–३, कोल्बुङका किसान राम आचार्यको बगानमा यो वर्ष १८ मन (प्रतिमन ४० किलो) अलैंची फल्ने अनुमान छ । पोहोर साल १२ मन फलेको बगानमा यो वर्ष उत्पादन बढ्ने उनले बताए । ‘नयाँ लगाएको बगान भएकाले सालैपिच्छे उत्पादन बढिरहेको छ,’ उनले भने, ‘आउँदो साल अझ बढ्छ ।’ उनले ५० रोपनीमा अलैंची खेती गरेका छन् । ‘एकपटक त सबै मासिएर चिनोबानो थिएन,’ उनले भने, ‘केही वर्ष बारी त्यत्तिकै छाडेर नयाँ बिरुवा लगाएपछि उत्पादन बढिरहेको हो ।’ कोल्बुङकै भालुझोडाका अर्का किसान राजु एक्तेनको बगानमा पनि अलैंची उत्पादन निकै राम्रो छ । आफ्नो बगानमा २० देखि २२ मनसम्म अलैंची उत्पादन हुन थालेको उनी बताउँछन् ।
जिल्लाको तल्लो भेगमा थोरै सिँचाइमा पनि फस्टाउने जिर्मले जातको अलैंचीप्रति किसान आकर्षित भएका हुन् । तर, माथिल्लो भेगमा भने भार्लाङ जातको अलैंचीले नै राम्रो उत्पादन दिइरहेको किसानको भनाइ छ । माइजोगमाई गाउँँपालिका–६, प्याङका किसान लक्ष्मण काफ्लेले भार्लाङ जातको अलैंची उत्पादन बर्सेनि बढिरहेको बताए । ‘नयाँ जातको बिरुवाले रोपेको २–३ वर्षदेखि उत्पादन दिन थाल्छ,’ उनले भने, ‘पोहोर १ मन भएको बगानमा यो वर्ष २ मनजति हुन्छ होला ।’
उनले अन्य बालीनाली पनि खासै उत्पादन नहुने लेकाली ठाउँमा अलैंची नै आम्दानीको सबैभन्दा भरपर्दाे माध्यम भएको बताए । ‘अन्य बाली लेकाली क्षेत्रमा छैनन्, भएजति सबै अलैंची मासिएर हातमुख जोर्नै समस्या परेका बेला नयाँ जातको अलैंचले चाहिँ आशा जगाएको छ,’ उनले भने, ‘नयाँ जातको अलैंचीमा रोग पनि नदेखिएकाले केही वर्षसम्म यसले आम्दानी दिनेमा गाउँका किसान ढुक्क छन् ।’ यही गाउँका लीला काफ्ले, हेमन्त काफ्लेलगायतको बगानमा पनि अलैंची उत्पादन बढेको छ ।
दशकअघि अलैंचीकै आम्दानीले तराईमा लाखौं रुपयाँका घर–जग्गा खरिद गरेका पहाडी क्षेत्रका किसानलाई अलैंची मासिएपछि आम्दानीको बाटै हराएको थियो । गाउँमा खेतीपातीमा काम गर्ने युवासमेत नपाउँदा अन्य खेती गर्न नपाएका किसान ज्यादै कम मेहनतले उत्पादन हुने अलैंचीले पुनः राम्रो आम्दानी दिन थालेपछि हर्षित भएका छन् । अलैंची रोपेपछि वर्षमा एकपटक गोडमेल र ज्यादै खडेरी लागेमात्रै सिँचाइ आवश्यक पर्ने नत्र नपर्ने हुनाले थोरै लगानी र मेहनतमै अलैंची उत्पादन हुने गरेको छ ।
जिल्लाका सन्दकपुर, माइजोगमाई, रोङ गाउँपालिका तथा सूर्याेदय नगरपालिकामा अलैंची खेती बढी हुने गरेको छ । इलामसहित पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुमलगायत देशका ४२ जिल्लामा अलैंची खेती भइरहेको फिक्कलस्थित अलैंची विकास केन्द्रले जनाएको छ । केन्द्रले हरेक वर्ष अलैंचीको बिरुवा नर्सरी राखेर किसानलाई वितरण गर्ने गरेको छ । केन्द्रमा २ वर्षअघिसम्म बर्सेनि ५ लाख बिरुवाको नर्सरी राख्दा पनि किसानको माग धान्न समस्या थियो । तर, बिरुवा नर्सरी चाहिँ प्रत्येक वर्ष घट्दो क्रममा रहेको केन्द्र प्रमुख पदम अधिकारीले बताए । ‘किसानले आवश्यकताअनुसार अलैंची बिरुवा पुगेकाले पनि बिरुवा चाहिँ अचेल कमै लैजाँदै छन्,’ उनले भने, ‘तर, नेपालमा बर्सेनि अलैंची उत्पादन बढिरहेको छ ।’
नयाँ बिरुवाले आम्दानी दिएकाले उत्पादन बढेको उनले जनाए । अधिकारीले गतवर्ष ३ लाख र यो वर्ष २ लाख बिरुवा मात्रै बिक्री भएको पनि बताए । ‘यहाँ उत्पादन भएको अलैंचीको बिरुवा, इलाम, पाँचथर र बाजुरासम्म पुगेको छ,’ उनले भने, ‘इलामका किसानले चाहिँ केही वर्षअघि नै बिरुवा ढकाइसकेकाले यो वर्ष धेरै खरिद गरेनन् ।’ व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकमा नेपालबाट विदेश निर्यात हुने वस्तुको सूचीमा अलैंची दोस्रो स्थानमा छ । नेपालबाट बर्सेनि साढे ४ अर्ब रुपैयाँको अलैंची विदेश निर्यात भइरहेको केन्द्रको तथ्यांक छ ।


1124 पटक हेरिएको 






