सन्दकपुरः
सन्दकपुर समुद्री सतहबाट ३६३६ मीटरको उचाइमा अवस्थित इलाम जिल्लाकै सबै भन्दा अग्लो स्थान हो । इलाम र भारतको दार्जिलिङ्ग जिल्लाको सिमानामा अवस्थित सन्दकपुर नेपाल, भारत र नेपालका दर्जन बढी हिमशृङ्खलाहरुको रमणीय अवलोकन, सूर्योदय, प्राकृतिक सुन्दरता र जैविक विविधताको अवलोकनका लागि उतकृष्ट स्थानका रुपमा परिचित रहेकोछ । विगतमा भारतीय तथा तेस्रो मुलुकका पर्यटकहरुका लागि आकर्षक गन्तब्यका रुपमा रहेको यस स्थानमा भारतीय सिमावर्ती क्षेत्रबाट मात्रै सडक यातायातको सुविधा रहेको थियो । अहिले इलाम जिल्लाकै माबु गाविस कालापोखरी विखे भञ्ज्याङ्ग हुदै सन्दकपुर सम्म सडक यातायातको सुविधा शुरु भएको छ भने माइमझुवा गाविसको बुधबारे, गोरुवाले भञ्ज्याङ्ग हुदै सन्दकपुर सम्म पुग्ने मोटरबाटो निर्माण कार्य अन्तिम चरणमा पुगेकोछ । सन्दकपुरमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरी नेपाल र भारत तर्फ आधारभुत सुविधा सहितका होटलहरु सञ्चालनमा रहेकाछन् । सन्दकपुर देखि २ किलोमीटर पश्चिममा अवस्थित आहालडाँडा पनि प्राकृतिक दृश्यावलोकनका लागि रमणीय स्थान रहेकोछ ।
छिन्तापुः
इलामका उत्कृष्ट पर्यटकीय गन्तब्यहरु मध्ये समुन्द्री सतहबाट करीव ३२०० मीटरको उचाईमा अवस्थित एउटा मनोरम स्थान, जैविक विविधता र प्राकृतिक सम्पदाहरुको बेजोड समायोजनको स्थल–प्रकृतिको उपहार का रुपमा पाँचथर र इलामको माइमझुवा गाविसको सिमा क्षेत्रमा अवस्थित छिन्तापुलाई लिइने गरिन्छ । फाल्गुण चैत्र वैशाख महिनामा थरिथरिका गुराँसहरु फुलेर छिन्तापु क्षेत्रलाई नै रमणीय बनाउँछ । छिनछिनमा परिवर्तन हुने मौसम र चिसो बतासले आगन्तुकहरुसँग लुकामारी खेल्दछ । प्राकृतिक सुन्दरतामो अनुपम दृश्य हेर्ने अवसर छिन्तापु जानेहरुलाई नै प्राप्त हुन्छ । छिन्तापुको अर्को आकर्षण भनेको हिमश्रृंखलाहरुको जीवन्तः दृश्यावलोकन हो । कञ्चनजंघा, कुम्भकुर्ण, सगरमाथा लगायतका नेपाल, भारत र भुटानका हिमालश्रृंखलाहरुलाई नजीकैबाट अंगालो हाल्न सकिएला जस्तो गरी धित्मरुञ्जेल हेर्न सकिन्छ ।
यतिमात्र होइनसिमापारी सिक्किम, दार्जिलिङ, इलाम जिल्लाको अधिकांश भुभाग, तराईका फाँट, इलाम, पाँचथर र ताप्लेजुङ्गका मिलेका होचा अग्ला डाँडाकाँडा र बस्तीहरुको रमणीय अवलोकन रहेकोछ । लाली गुँरासको निकै ठूलो घनाजंगल, रेडपाण्डा, थार, चराचुरुङ्गी, जडिबुटी, र सुन्दर भौगोलिक बनावटको अवलोकन छिन्तापुबाट जति सहज र रमणीय तवरमा पाउन सकिन्छ शायदै अरु ठाँउबाट पाइएला । छिन्तापुकै डाँडामा दुईवटा सुन्दर पोखरीहरु रहेकाछन् । यसले यहाँको सौन्दर्यतालाई अझै थपेकोछ । छिन्टापु भन्दा केहि तल तालपोखरी, डढेली पोखरी, हाँस पोखरी लगायतका आधा दर्जन पोखरी, छाँगे झर्ना, धप्पर लगायतका दृश्यावलोकनका लागि उत्कृष्ट स्थलहरु समेत रहेकाछन् । यसका साथै माइमझुवाकै वडा नं. ७ मा अवस्थित फुस्रेपोखरी अर्को रमणीय स्थलका रुपमा रहेकोछ । माइमझुवामा राई तथा गुरुङ्गजातीको संस्कृति र परम्पराको समेत अवलोकन गर्न सकिन्छ । बसोबासका लागि होमस्टे तथा ग्रामीणबजार बुधबारे हटियामा सामान्य होटलहरु रहेकाछन् । छिन्टापु सम्म जानका लागि इलामकै माइपोखरी हुदै माइबझुवाको बुधबारे गोरुवाले सम्म गाडीमा गएर दुई घण्टाको पैदल मार्गको प्रयोग गर्न सकिन्छ । माइपोखरीबाट सिधै पैदल जान समेत सकिन्छ भने माइमझुवाकै वडा नं. ५ स्थित शेर्पेगाँउ हुदै पनि पैदल ५ घण्टामा छिन्टापु पुग्न सकिन्छ । माइमझुवालाई इलाम सदरमुकाम विब्ल्याँटे माइपोखरी हुदै कच्ची मोटरबाटोले जोडेकोछ ।
टोड्के झर्नाः
माइमझुवा गाविसको वडा नं. ३ मा समुन्द्री सतहबाट १६०० मीटर उचाईमा अवस्थित टोड्के झर्ना ८५ मीटर अग्लो छ । माइखोला भन्दा करीव ४० मीटर पश्चिममा रहेको यो झर्ना नेपालकै दोस्रो अग्लो झर्ना हो । झर्नाको अवलोकनका लागि सयौं आन्तरिक तथा बाह्य पर्यटकहरु वर्षेनी यहाँ आँउने गर्दछन् । जंगलका वीचमा पहराका वीचबाट झर्ने यो झर्ना निकै रमणीय पर्यटकीय गन्तब्यका रुपमा परिचित रहेकोछ ।
माईपोखरीः
इलाम जिल्लाको सदरमुकाम इलाम बजारबाट करीव १८ किलोमिटर उत्तरमा रहेको माइपोखरी नेपालकै एक आकर्षक पर्यटकीय गन्तब्य, धार्मिक आस्थाको केन्द्र र जैविक विविधताले धनी क्षेत्रका रुपमा रहेकोछ । माइपोखरी क्षेत्र इलाम जिल्लाको पर्यटकीय पर्यायका रुपमा रहदै आएकोछ । यस क्षेत्रको प्रमुख आकर्षण माइपोखरीलाई सन् २००८ मा विश्व रामसार सुची अन्र्तगत सुचिकृत गरी नेपालको नवौं र मध्यपहाडी क्षेत्रको पहिलो रामसार क्षेत्र घोषणा गरे पछि यसको विश्वव्यापी पहिचान समेत स्थापित भैसकेकोछ । नौवटा कुनामा फैलिएको माइपोखरीलाई माइपोखरीलाई प्रकृतिको सुन्दर सिर्जनाका रुपमा लिइने गरिन्छ । माइपोखरीको नामाकरणका बारेमा भन्नुपर्दा माइ अर्थात आमा र पोखरी अर्थात तलाउ जसबाट जल देवता अर्थात माताबाट भएको विश्वास गरिन्छ ।
माईपोखरीलाई साक्षात देवीका रुपमा मानिन्छ । तर बलिप्रथा भने निषेध रहेकोछ । मनोकामना पुर्ण होस् भनेर भाकल गर्ने र परेवा उडाउने प्रचलन रहेकोछ । धार्मिक आस्थाको केन्द्र रहेको यस क्षेत्रका बारेमा अनगिन्ति किम्बदन्तीहरु रहेकाछन् । माइपोखरीको इतिवृत्तमा टंक सुवेदीले लेख्नु भएको लेखका अनुसार मरुत राजाले यस ठाँउमा आएर नौवटा कुनामा नौवटै मन्दिर बनाई नवदुर्गाको पुजा गरी सो पुजा विसर्जन पश्चात पुजा स्थान सुरक्षित होस् भनी गंङ्गाजीको आराधना गर्दा जल उत्पन्न भएको जनश्रुति रहेकोछ । कुनै समयमा पोखरी वरिपरिका रुख विरुवाबाट पोखरीमा खसेका पातपंिङ्गरहरु चराचुरुंङ्गीहरुले टिपेर बाहिर फ्याँक्ने गरेको कुराहरु सुन्न पाइन्छ । कुनै समयमा पोखरीमा पञ्चेबाजा, शंखघण्ट बज्ने गरेको र हाल पनि पोखरीबाट आकस्मत अनौठो ज्योति निस्कने तुरुन्तै लोप हुने गरेको रहस्य स्थानीयबासीहरु व्यक्त गर्दछन् । द्वापार युगको अन्त्यमा पाँच पाण्डवहरु वनबास रहनेक्रममा बराहक्षेत्र, अर्जुनधारा हुदै माइपोखरी सम्म आई फर्किएको जनश्रुति समेत पाइन्छ । यसै गरी राजा मारुतका साथमा उनकी ‘इला’ नाम गरेकी छोरी पनि आएकी थिइन् र उनै ‘इला’ बाट यस जिल्लाको नाम नै इलाम रहन गएको हो भन्ने जनश्रुति समेत रहेकोछ । माइपोखरीलाई हिन्दु, बौद्ध र किराँत मुन्धुम धर्मको आस्थाका रुपमा लिइन्छ । माइपोखरी परिसरमा सत्यधुनी आश्रम, निर्मल माइआश्रम, टाँसी छोलिङ्ग गुम्बा, शिवालय, सरस्वती मन्दिर तथा भगवती मन्दिर रहेकाछन् । वैशाखे पुर्णिमा र ठुली एकादशीका दिन माइपोखरीमा विशेष पुजा अर्चना र मेला लाग्ने प्रचलन रहेकोछ । धार्मिक तथा सांस्कृतिक विविधताले धनी यस क्षेत्रका समुदायको माइपोखरी प्रतिको आस्था भने समान रहेकोछ । सबैधर्म संस्कृतिको संगम रहेको माइपोखरीले सिंगो इलामको सास्कृतिक सम्भयताको प्रतिविम्बित गर्ने कुरा सहप्राध्यापक युद्धप्रसाद बैद्यले माइपोखरीको इतिवृत्त नामक पुस्तक भित्र आफ्नो लेखमा उल्लेख गर्नु भएकोछ ।
माईपोखरी क्षेत्र जैविक विविधताका दृष्टिले समेत उत्तिकै महत्वपुर्ण रहेकोछ । यस क्षेत्रमा ४ प्रजातीका लालीगुँरास, ३ प्रजातीका चाप, कटुस, लौठ सल्ला, भद्रासे, सल्ला, १६ प्रजातीका सुनाखरी, ६२ प्रजातीका जडिबुटी सहित ३०० प्रजातीका फुलफुल्ने र नेपालमा मात्र पाइने गलैचे झ्याँउ ९क्उजबनलगm ल्भउबभिलकभ०, लेउ, उन्यू, लगायतका वनस्पति पाइन्छन् । लोपोन्मुख पानीगोहोरो ९ऋचयअयमष्भि क्बबिmबलमभच०, लोखर्के, ओत, भ्यागुत्ता, पाहा, चमेरो, मृग, सर्प लगायत १२ प्रजातीका जलचर, ६ प्रजातीका उभयचर, ३ प्रजातीका माछा, १४ प्रजातीका स्तनधारी र २०० भन्दा बढी प्रजातीका चराचुरुङ्गीहरु रहेकाछन् ।
माईपोखरीमा खास गरी तीन थरिका पर्यटकहरु आउने गर्दछन् । पहिलो धार्मिक आस्थाका आधारमा आउने, दोस्रो यहाँको प्राकृतिक सुन्दरता र सम्पदाको अवलोकन गर्न आउने र तेश्रो यहाँको सामाजिक, आर्थिक, साँस्कृतिक, तथा वातावरणीय पक्षको अध्ययन अनुसन्धान, संरक्षण र विकासमा लागि पर्ने मानिसहरु रहेका छन् । इलामको उत्तरी क्षेत्र प्रवेशको लागि एउटा सजिलो मार्ग भएका कारण समेत यस क्षेत्रमा पर्यटकहरु धेरै संख्यामा वर्षै भरि आउने गर्दछन् । यातायातको सुविधाले समेत यस क्षेत्रमा आउने जाने पर्यटकहरुलाई सजिलो भएकोछ । जिल्लाका अन्य गन्तब्यहरुसँग यसको सम्पर्क र सञ्जाल बनाउन सके आगामी दिनमा यस क्षेत्रको पर्यटकीय विकासमा थप टेवा पुग्ने देखिन्छ ।
हाँगेथामः
इलाम जिल्लाको उत्तरपुर्वी गाविस जमुनामा समुन्द्री सतहबाट २१७० मिटर उचाईमा अवस्थित हाँगेथाम प्रकृतिप्रेमी, संरक्षणकर्मी र पर्यटकहरुका लागि आकर्षक गन्तब्य हो । हाँगेथाम क्षेत्र प्राकृतिक सम्पदा, जैविक विविधता, आकर्षक भूपरिदृश्य , धार्मिक तथा पर्यटकीय दृष्टिले इलाम जिल्लाको उत्कृष्ट गन्तब्य पनि रहेकोछ । स्वच्छ चिसो हावापनी, छिनछिनमा परिवर्तन हुने मौसम, भुई कुहिरोको सेताम्य दृश्य, चराचुरुङ्गीहरुको चिरविर आवाज, घना वनजंगल र इलाम जिल्लाका अधिकांश भागको दृश्यहरुले यस क्षेत्रमा पुग्ने जोकोहिको मन आनन्दित पार्दछ । विश्वमै दुर्लभ मानिएको हाब्रे (रेडपाण्डा), थार, ध्वाँसे चितुवा, कालो भालु, चरीबाघ, राजपंखी, ठकठके लगायतका वन्यजन्तु, काँडेभ्याकुर, मुनाल, चिल, पानीहाँस लगायत मौसम अनुसार टाढाटाढाबाट बसाई सरी आउने चराचुरुङ्गीहरु ९ःष्नचबतयचथ द्यष्चमक०, र लालीगुँरास, चाप, लौठसल्ला, सुनाखरी, चिराइतो, बान्टे, बज्राठ, कटुस, लगायत धेरै जडिबुटीहरु यस क्षेत्रमा पाइन्छन् । चरा अवलोकनका लागि यो क्षेत्र विश्वमै प्रसिद्ध रहेको संरक्षणका पुस्तकहरुमा पढ्न पाइन्छ । जैविक विविधता सम्बन्धी अध्ययन, अनुसन्धान र अवलोकनका लागि विभिन्न देशहरुबाट मानिसहरु यस क्षेत्रमा आउने गरेकाछन् ।
हाँगेथाम क्षेत्रको धार्मिक र साँस्कृतिक महत्व पनि उत्तिकै रहेकोछ । हिन्दु बौद्ध, र किराँत समुदायले यस क्षेत्रलाई विशेष धार्मिक आस्थाले हेर्ने गरेकाछन् । नागपुजा, ल्होसारपर्वको अवसरमा विशेष पुजाआजा र भाकल गर्ने परम्परा रहदै आएकोछ । यस बाहेक जैविक विविधताको अध्ययन, अनुसन्धान र अवलोकन, पिकनिक, प्राकृतिक दृश्यावलोकन, स्थानीय संस्कृति, परम्परा र रहनसहनको अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटकहरु यहाँ आउने गरेकाछन् । हाँगेथाम क्षेत्रमा शेर्पा, राई गुरुङ्ग र तामाङ्ग समुदायको सानोबस्ती रहेको छ । यहाँ ग्रामीण रहनसहनको भरपुर आनन्द लिन सकिन्छ । इलाम सदरमुकाम नजीकै रहेको विब्ल्याँटे बजारबाट मोटरबाट जमुनाको स्कुलडाँडा सम्म पुग्न सकिन्छ भने त्यहाँबाट डेढ घण्टाको पैदल यात्रा पछि हाँगेथाम पुग्न सकिन्छ । हाँगेथामबाट भारतीय सिमावर्ती क्षेत्र कैयाकट्टा, गैरीबास, जौबारी र आसपासका क्षेत्रहरुमा जान सकिन्छ ।
चोयाटार सामुदायिक वनः
इलाम जिल्लाकै उत्तरपुर्वी गाविस जमुनामा अवस्थित चोयाटार सामुदायिक वन विश्वकै दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षण र ग्रामीण पर्यटनको प्रारम्भसँगै भर्खरै विकशित हुदै गएको पर्यटकीय स्थल रहेको छ । स्थानीय समुदायले यस वन क्षेत्रमा रेडपाण्डाको बासस्थान संरक्षण गरी आगन्तुक आनतरिक तथा बाह्य पर्यटकहरुको लागि रेडपाण्डा अवलोकन गर्ने व्यवस्था मिलाएकोछ । साथै स्थानीय स्तरमा होमस्टे प्रणालीको व्यवस्था गरेकोछ । चोयाटार पुग्नका लागि इलाम सदरमुकाम नजीकैको विब्ल्याँटे बजारबाट सडकयातायातको माध्यमले जमुनाको बुधबारे बजार हुदै इङ्ग्ला चोयाटार पुग्न
सकिन्छ ।
जौबारी, तुम्लिङ्ग र मेघ्माः
इलाम जिल्लाको जमुना गाविसको सुदुरपुर्वी भेगमा अवस्थित जौबारी सिमावर्ती व्यापारिक थलो र पर्यटकीय स्थल हो । इलाम जिल्लाका विभिन्न प्राकृतिक स्थानहरुको दृश्यावलोकन, सगरमाथा, कञ्चनजंघा लगायतका हिमश्रृंखलाहरुको दृश्यावलोकन तथा शेर्पा, भोटिया रहनसहन र संस्कृतिको अवलोकनका लागि जौबारी परिचित रहेकोछ । जौबारीबाट ४ किलोमिटर दक्षिणको भारतीय सिमावर्ती क्षेत्रमा अर्को सानो वस्ती तुम्लिङ्ग र त्यसभन्दा २ किलोमिटर दक्षिणमा मेग्मा अवस्थित रहेकोछ । यस क्षेत्रमा सिमावर्ती ट्रेकिङ ९द्ययबचमभच त्चभपपष्लन०, नेपाल तथा भारतीय क्षेत्रको दृश्यावलोकन, सिंहलिला नेशनल पार्कको अवलोकन प्रमुख आकर्षणका रुपमा रहेकाछन् । खास गरी भारतीय भूमि हुदै सन्दकपुर आउने भारतीय तथा तेश्रोमुलुकका पर्यटकहरु यहि मार्ग भएर जाने हुदाँ दिनहुँजसो यस क्षेत्रमा पर्यटकहरुको भहलपहल भइरहन्छ । पर्यटकहरुका खान तथा बस्नको आधारभूत सुविधा सम्पन्न होटहरु यस क्षेत्रमा रहेकाछन् । इलाम सदरमुकामबाट जमुना गाविस, नयाँबजार थुम्के हुदै वा पशुपतिनगर गोर्खे लामिधुरा हुदै यी स्थानहरु सम्म मोटरबाट या पैदलयात्रा गरी पुग्न सकिन्छ । (इलामको पर्यटन गुरुयोजना २०६७ बाट)


990 पटक हेरिएको 






