इलाममा तीनसय ४२ फौजदारी अपराध

  ख्याम भूजेल

 673 पटक हेरिएको


इलाम/एक वर्षको अवधिमा इलाम जिल्लामा तीन सय ४२ वटा अपराधको घटना भएको छ । जिल्ला प्रहरी कार्यालय इलाममा दर्ता भएको आपराधिक घटना अघिल्लो वर्षको तुलनामा केही कम हो ।
जिल्लामा आर्थिक २०७३/०७४ मा तीन सय ७७ वटा फौजदारी अपराधका घटना दर्ता भएका थिए । आव २०७२/०७३ मा तीन सय १७ वटा, २०७१/०७२ मा दुई सय ९७ वटा र आव २०७०/०७१ मा दुई सय ९२ वटा अपराधका घटना दर्ता भएको थियो ।
इलाममा सवैभन्दा आत्महत्याका घटना भएका छन् । वितेको एक आर्थिक वर्षको अवधिमा ९४ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । अघिल्लो वर्ष २०७३/०७४ मा एकसय आठ जनाले आत्महत्या गरेका थिए । हत्याहत्या रोक्नको लागि प्रहरीले बेलाबेला अभियानै चलाउने भएपनि जिल्लामा आत्महत्या घट्न सकेको छैन । जिल्लामा आत्महत्याका बारेमा अध्ययन हुनुपर्ने आवाज उठ्ने गरेको छ ।
इलाममा एक वर्षमा ७९ वटा सार्वजनिक अपाराधा घटना दर्ता भएका छन् । अघिल्लो वर्ष यसको संख्या ९९ वटा थियो । अरुनै प्रकृतिको घटना भएपनि सार्वजनिक अपाराधमा मुद्धा दर्ता गर्न निवेदन पर्ने भएकाले यसको संख्या उच्च भएको प्रहरीले जनाएको छ । आव २०७१/०७२ मा जिल्लामा ६० वटा मात्रै सार्वजनिक अपराधका मुद्दा दर्ता थिए । सार्वजनिक ठाउँमा हुने कुटपिट, तोडफोड, हुलहुज्जत, मादक पदार्थ सेवन गरेर हुने होहल्ला, सार्वजनिक ठाउँमा हुने गाली बेइज्जतीलगायतका घटनाहरु समेटिने सार्वजनिक अपराधका मुद्दा भने प्रमुख जिल्ला अधिकारीले किनारा लगाउँछन् । त्यस्तो घटनामा पक्राउ परेका उपर सात दिनभित्रमा मुद्दा दर्ता गरिसक्नु पर्छ भने ३५ दिनभित्रमा किनारा लगाइसक्नुपर्ने कानुनी ब्यवस्था छ । सार्वजनिक अपराधमा मुद्दामा पर्नेहरुमा धेरै किशोर–किशोरी छन्् । मादक पदार्थ सेवन गरेर उनीहरुले यस्तो घटनामा संलग्न हुने गरेको जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखाले जानकारी दिएको छ ।
भवितब्यका कारण इलाममा ५६ जनाको ज्यान गएको छ । आव २०७४/०७५ मा ५६ जनाको ज्यान गएको भएपनि कुनै मुद्दाको किनारा लागेको छैन । मृत्युको कारण खुल्न गए दुई वर्षसम्म जाहेरीको हदम्याद हुने भएकाले एकै वर्षमा घटनाको फछयौट नहुने प्रहरी उपरीक्षक माधव प्रसाद श्रेष्ठले बताए । अघिल्लो आव २०७३/०७४ मा पनि इलाममा ५६ वटा भवितब्य ज्यान सम्बन्धि घटना भएको उल्लेख छ । इलाममा १० वटा कर्तब्य ज्यानका मुद्दा दर्ता भएको छ । अघिल्लो आव २०७३/०७४ मा पाँचवटा मात्रै कर्तब्य ज्यानका मुद्दा दर्ता भएको थियो । ज्यान मार्ने उद्योगका ८ घटना दर्ता छन् । अघिल्लो आव २०७३/०७४ मा ज्यान मार्ने उद्योगका १० घटना दर्ता थिए । वितेको एक वर्षमा सवारी ज्याकने ४ मुद्दा दर्ता छन् । अघिल्लो आव २०७३/०७४ मा सवारी ज्यान सम्बन्धि १० वटा घटना दर्ता भएको थियो ।
इलाममा जवरजस्ती करणी, बहुविवाह जस्ता महिला हिंसाका घटना भने केही घटेको पाइएको छ । आव २०७३/०७५ इलाममा जवरजस्ती करणीका ३० वटा घटना दर्ता भएका थिए । पछिल्लो एक आर्थिक वर्षमा भने जवरजस्ती करणीका १९ मुद्दा दर्ता छन् । जवरजस्ती करणी उद्योगमा ११ घटना दर्ता भएको छन् । आव २०७३/०७४ मा पनि ११ घटना दर्ता भएका थिए । बहुविवाहका सात घटना दर्ता भएका छन् । अघिल्लो वर्षमा त्यो संख्या १० थियो ।
जिल्लामा हातहतियार खरखजनासम्बन्धी दुई, विष्पोटक पदार्थमा एउटा, लागु औषधका छ वटा, चोरीका १४, ठगीको एउटा, मानव वेचविखनको दुइवटा घटना दर्ता भएका छन् । त्यस्तै सवारी ज्यानको चारवटा, बेवारिसे ज्यानको एउटा, सवारी दुर्घटनाबाट भवितब्य ज्यान गएकोमा दुई, गौवधको दुई, डाकामा एक, आगो लगाएकोमा तीन, कुटपिटमा एक र गर्भपतनमा एउटा घटना दर्ता भएको छ ।
प्रहरीले अपराधको संख्या बढेको भन्दा पनि दर्ता हुने संख्या बढेको बताएको छ । ‘मुद्दा दर्तालाई आश्चार्य मान्नु पर्दैन’–जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्रेष्ठले भने–‘मानिसको चेतना बढेर उजुर दिनेको संख्या बढ्दै गएको छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार