सुर्योदय नगरपालिकाको जेष्ठ नागरिक देश दर्शन टोलीलाई शुक्रबार पूर्व प्रधानमन्त्री झलनाथ खनालले काठमाडौ स्वागत गरेका छन् ।
मंसिर ९ गतेबाट हिँडेको नगरका जेष्ठ नागरिकको टोलीले जनकपुर चितवनको देवघाट, लुम्बिनी,पोखराको भ्रमण सकेर बिहिबार काठमाडांै पुगेको हो । श्रीकृष्ण प्रणामी मन्दिर नौतनधाम काठमाडौंको सभाहलमा आयोजित कार्यक्रममा पुर्वप्रधानमन्त्री खनालले सबैलाई खदा ओढाएर स्वागत गरेका थिए । खनालले जेष्ठ नागारिक अनुभवको खानी भएको भन्दै जेष्ठ नागरिक प्रति देशमै नमुनाको रुपमा नगरले देखाएको सेवा सम्मानको उच्च प्रशंसा गरेका थिए । उनले जेष्ठ नागरिक देवतुल्य भएको कारण जीवनका वृद्धकालमा यसरी देश तथा धामहरु घुम्न पाउनु आफैंमा ठूलो उपलब्धी भएको बताए । कम्युनिष्ट सरकारले वृद्धवृद्धाहरुलाई विशेष सम्मान र आस्था जनाउने पनि उनले बताए । जेष्ठ नागारिक गङ्गामाया खतिवडाले यसरी देश हेर्न पाउला भन्ने आश मारिसकेको अवस्थामा देश दर्शन गराएर नगरपाकिलाले ठूलो गुण लगाएको बताइन् । अर्का जेष्ठ नागरिक हर्कधन राईले यो उमेरमा आफूले नसोँचेको ठाउँ घुम्न पाएकोमा खुशी व्यक्त गरे ।
यता श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल केन्द्रीय कमिटीले पनि जेष्ठ नानागरीकलाई स्वागत गरेको छ । देश दर्शन टोलीका संयोजक सुर्योदय नगरपालिका–९ का अध्यक्ष देवेन्द्र शर्माले देशभरीबाट यस कार्यको प्रशंसा भएको र टोलिलाई साथ दिने सबै संस्था, व्यक्तिप्रति आभार प्रकट गरेका छन् । मनकामना लगायतका स्थलहरुको दर्शन गर्दै टोली फर्कने जनाइएको छ ।
टोलीमा नगरका १४ वडाका ७० जना जेष्ठ नागरिक रहेका छन । आफंै खर्च गरेर घुम्न नसक्ने यस अघि कतै नघुमेका बिपन्न लाई देश दर्शन गराउने नगरको योजना अनुसार यो भ्रमण सुर्योदय नगरपालिकाले आयोजना गरेको हो ।


663 पटक हेरिएको 






