भद्रपुरमा मेची आँखा उपचार केन्द्रकाे सेवा विस्तार

  सरलपाटी सम्वाददाता

 650 पटक हेरिएको

झापा । आँखाको उपचारका लागि बिर्तामोडस्थित मेची आँखा अस्पतालले सदरमुकाम भद्रपुरमा उपकरणसहितको सेवा विस्तार गरेको छ ।

स्थानीय दानवीर सत्यनारायण सरियाले एक बिगाहा जग्गा निःशुल्क उपलब्ध गराएपछि भद्रपुर–५ मा भवन निर्माण गरी उपचार सेवा सुरु गरिएको हो ।

मेची आँखा अस्पताल संघका अध्यक्ष दिनेशकुमार मित्तलको अध्यक्षतामा आयोजित एक समारोहका बीच जग्गादाता सरियाले नै नवनिर्मित भवन र उपचार सेवा सञ्चालनको उद्घाटन गरे ।

उक्त समारोहमा अस्पतालका मेडिकल डाइरेक्टर पुरुषोत्तम जोशीले अस्पतालले प्रदान गर्दै आएको सेवाबारे जानकारी गराएका थिए । ‘तीन वर्षभित्र दुई लाख विद्यार्थीको आँखा परीक्षण गर्ने योजना छ’, उनले भने, ‘यसले विद्यार्थीको आँखाको अवस्था बुझिनेछ र सोहीअनुसार आँखाको हेरचाह गर्ने सुझाव दिइनेछ ।’

भद्रपुरमा स्थापित आँखा उपचार केन्द्रबाट दक्षिणी झापालगायत साीमावर्ती गलगलिया, किशनगंज, ठाकुरगञ्जसम्मका बिरामीले सहज ढंगबाट सेवा पाउने अपेक्षा गरिएको संघका सदस्य पराजुलीले बताए । अब भद्रपुरबाट पनि शल्यक्रियालगायतका सेवा प्रदान गर्ने गरी व्यवस्थापन अघि बढाइने अध्यक्ष मित्तलले बताए ।

एकतले उपचार केन्द्र भवन निर्माणका लागि ५५ लाख खर्च भएको छ भने विभिन्न मेशिनरी जडानका लागि ११ लाख खर्च भएको अस्पतालका प्रशासन प्रमुख सुरजकुमार रौनियारले जानकारी दिए । जग्गादाता सरियाले उपचार केन्द्र व्यवस्थापनका लागि आफ्नो तर्फबाट ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार