मंसिरकाे १५ देखि आकाश खुला भएपछि अन्तुबाट सूर्योदयको मनमोहक दृष्य नियाल्न सकिन्छ । तर, सिजन शुरु नहुँदै अन्तुमा पर्यटकको भीड लागेको छ । तिहारपछि देखिनै सूर्योदयको दृष्यावलोकन गर्नका लागि पर्यटकहरु पुग्न थालेका छन् ।
साँझ अन्तुका होटल होमस्टेमा बसेका पर्यटक सवेरै सूर्योदय हेर्न अन्तुडाँडामा पुग्ने गरेका छन् । सूर्योदय हेर्न अघिल्लो दिनै पर्यटक अन्तुमा पुग्ने भएकाले होटल र होमस्टे निकै फष्टाएका छन् । ४० हाराहारी होमस्टे र दुई दर्जन होटल प्राय भरीभराउ हुने गरेको छ । ‘शुक्रबार र शनिबार आएका पर्यटक व्यवस्थापन गर्न धौ–धौ हुन्छ’–होमस्टे सञ्चालक रुद्र घिमिरेले भने–‘अरु बेला पनि कुनै खाली हुँदैनन् ।’
अन्तुमा पुगेका धेरैजसो पर्यटकको रोजाइमा होमस्टे पर्छन् । होमस्टेमा न्यानो स्वागत पाइने र कोलाहल नहुने भएकाले होमस्टे पर्यटकको रोजाइमा परेका हुन् । होटलभन्दा होमस्टे कम खर्चिलो हुने भएकाले पर्यटकले होमस्टेनै रोज्ने गरेको घिमिरे सुनाउँछन् । होमस्टेमा एक जना सुतेको एकसय ५० रुपैयाँ पर्छ । सादा खाना पनि एकसय ५० मानै पाइन्छ । अन्य खानेकुरा खाए त्यही अनुसारको बील भुक्तानी गर्नुपर्छ । तर, होमस्टेमा बस्नका लागि पहिलेनै बुकिङ गर्नुपर्छ । नभए होमस्टेमा बास पाउन गाह्रो छ । ‘यहाँ आइपुगेर होमस्टेमा बास पाउन गाह्रो रहेछ’–दिपिन राइले भने–‘होमस्टे नपाउ“दा अन्तु बसाइको स्वादै भएन ।’
अन्तु डाडामा रहेको भ्यु टावरको व्यवस्थापन गर्दै आएका दिपक राईले दैनिक तीन चार सय पर्यटक सूर्योदय दृष्यावलोकनको लागि पुग्ने गरेको बताए । ‘शुक्रबार र शनिबार अरुबारको भन्दा धेरै आउने गरेका छन्’–उनले थपे–‘मौषम खुला भएका दिन स्थानीय पनि आउँछन् ।’ सूर्योदय नियाल्नको लागि मात्रै होइन अन्तु पोखरी र रहरलाग्दो चियाबगानमा रमाउन दिउ“सो पनि पर्यटकको उस्तै भीड हुन्छ ।
कृषि ब्यवसाय गर्नेले अन्तुमा होमस्टे चलाएका छन् । धेरैजसोको चिया खेती छ । चिया टिपाइको सिजन सकिदै जाँदा अन्तुमा पर्यटनको सिजन शुरु हुन्छ । चियाको धपेडी सकिने भएकाले पर्यटकलाई स्याहार्न समय मिल्ने स्थानीय बताउ“छन् । ‘चियाको काम सकिने भएकाले पसल चलाउन पाइन्छ’–पोखरी छेवैमा पसल सञ्चालन गर्दै आएकी रेनुका घिमिरेले भनिन्–‘घरमा यसै बस्नभन्दा यहाँ रोज सम्म बसाउन सकिन्छ । चिया खेती गर्ने होस या मजदुरी गर्नेको टिपाई सकिएपछि खेतीको खासै काम हुँदैन । त्यसैले मजदुरहरुले समेत काम पाउँदैनन् ।
अन्तुसम्म कालोपत्रे बनेपछि त्यहा“ पर्यटक बाक्लिएका हुन् । राजमार्गबाट ४५ मिनेटको दुरीमा रहेको अन्तुमा पार्किङको भने समस्या छ । पर्यटकको भीड लागेका बेला सयवटा भन्दा बढि गाडी त्यहाँ पुग्छन् । तर, होटल देखि घुम्ने ठाउँहरुमा समेत व्यवस्थित पार्किङ नहुँदा समस्या हुने गरेको एकराज घिमिरेले बताए ।


678 पटक हेरिएको 






