प्रजातन्त्रको सबैभन्दा ठूलो आधारशिला वाक स्वतन्त्रता हो । हरेक नागरिकले आफुलाई लागेका कुरा सार्वजनिकरुपमा राख्न पाउँछन् । प्रजातन्त्रमा ‘प्रजातन्त्र’ काम लाग्ने पद्धति होइन, यसलाई खारिज गरेर अर्को पद्धति स्थापित गर्नु पर्दछ समेत भन्न पाइन्छ । यसरी कसैबाट व्यक्त बिचारमाथि उसरी नै टीकाटिप्पणी गर्ने छुट सबैलाई हुन्छ । बिना रोकटोक बैचारिक बिरोध र समर्थन गर्न पाइन्छ । हो, यसरी बिचार व्यक्त गर्दा सामाजिक मर्यादाको ख्याल भने गर्नै पर्छ । यो नैतिक पक्ष हो ।
मूलतः उसको आफ्नै कारणले नेपालको राजतन्त्र समाप्त भयो । अहिले मुलुकमा गणतन्त्र छ । गणतान्त्रिक पद्धतिलाई संवैधानिक दर्जा दिइएको छ । यस्तो अवस्थामा पनि राजतन्त्र फर्काउनु पर्छ भन्नेहरु छन् र उनीहरु त्यसो भनिरहेका पनि छन् । राजा प्रजापालक हुनुपर्छ भन्ने शास्त्रीय मान्यता छ । तर नेपालका पछिल्ला राजाहरु प्रजापालक भएनन् । पछिल्ला भनेर सात सालको क्रान्ति पछिकालाई भनिएको हो । त्यसपूर्व त राजाहरु नै राणा शासनका बन्दी सरह थिए ।
जहानियाँ राणा शासन फालेर मुलुकमा प्रजातन्त्र स्थापना गर्ने कार्यमा राजा त्रिभुवनको योगदान छ । उनले सात साल फागुन सात गते त्यस उप्रान्त मुलुकमा जनताले बनाएको विधान अनुरुप शासन चल्ने कुराको घोषणा गरेका थिए । तर त्यो घोषणालाई कार्यरुप दिनमा उनको रुची देखिएन । अहिले उनका बारेमा यति मात्रै भनौं । उनको असमयमै निधन भयो ।
त्यसपछि आए राजा महेन्द्र । राजा महेन्द्र प्रजातन्त्रका घोर बिरोधी थिए । सत्र सालको काण्डबाट उनको जनबिरोधी छवी छताछुल्ल भयो । भन्न त २०२८ सालमा उनको निधनपूर्व उनी आप्mनो गल्ति सच्याउने तयारीमा थिए भनेर पनि भनिन्छ तर उनी कसरी सच्चिने थिए त्यो देख्न पाइएन । उनले प्रजातन्त्रको पुनस्र्थापना गर्ने तयारी गरेका थिए भने त्यस बारेमा आफ्ना सुशिक्षित उत्तराधिकारीसँग उनले मनग्गे बिमर्श गरी उनको समेत सहमति लिएको हुनु पर्ने हो । तर उनको निधनपछि उनका उत्तराधिकारीले पनि आफ्नै पिताको जस्तो निरंकुशताको बाटो अवलम्वन गरेको देख्दा राजा महेन्द्र सच्चिन चाहान्थे भन्ने कथन शंकाको घेरामा पर्दछ ।
धेरैको अपेक्षा थियो, महेन्द्रका उत्तराधिकारी राजा बीरेन्द्र प्रजातन्त्रको पक्षपाति हुने छन् किनभने उनको समयमा संसारमा धेरै परिवर्तन भइसकेको थियो । प्रजातन्त्रको जननी मानिने मुलुक बेलायतमा रहेर उनले अध्ययन गरेका थिए । त्यसले पनि आप्mना पिता साँच्चै प्रजातन्त्रको पुनस्र्थापना गर्न चाहान्थे भन्ने देखेको भए आप्mना पितृको आत्माको शान्तिकै लागि भए पनि प्रजातन्त्रको पुनस्र्थापना गर्ने थिए । तर त्यस विपरित जनवलमा पुनःस्थापित प्रजातन्त्रका बिरुद्धमा पछिल्लो समय उनी षढयन्त्ररत थिए भन्ने कुरा लुकेको छैन ।
अहिले मुलुक बडो असहज मोडमा छ । यस बेला पनि असहज अवस्था हुनु दुर्भाग्यपूर्ण हो । संविधान सभाले बनाएको संविधान छ । जनताले चुनेको कम्युनिस्टको सरकार छ । लामो समय अस्थिरताबाट गुज्रेर स्थिरताका लागि दुर्लभ लाग्ने दुईतिहाइको सरकार छ । तर जनताका अपेक्षा अनुरुप केही हुन सकिरहेको छैन मात्रै होइन जे नहुनु पर्ने हो त्यही त्यही भइरहेको छ ।
त्यसैले गणतन्त्रका विपक्षीहरु अहिले एक स्वरले पुराना राजाहरुको महिमा गाउन कस्सिएका छन् । याद गर्नु पर्ने के छ भने महेन्द्रदेखि ज्ञानेन्द्रसम्म आइपुग्दाका तीन राजामध्ये तुलनात्मकरुपमा कम खराब बीरेन्द्र देखिन्छन् तर अहिले चर्चा उनको छैन । ज्ञानेन्द्रका नाममा ‘राजा आउ देश बचाउ’ भनेर आह्वान गरिँदैछ । महेन्द्रको राष्ट्रवादको कुरा उछालिँदैछ ।
अहिलेका शासकहरु ठीक देखिइरहेका छैनन्, यो सत्य हो तर त्यसो भनेर राजाहरु ठीक थिए वा पञ्चहरु ठीक थिए भन्नु वौलठ्ठीपन मात्रै हो । बरु अहिलेका शासकहरु राजाभन्दा पनि खराब देखिन थाले भन्न सकिन्छ । तर राजाको शासन नै राम्रो थियो । राजाका शासनमा शान्ति र समृद्धि थियो । राजाका शासनकालमा राष्ट्रियता खुब बलियो थियो भन्ने जस्ता कुरा गर्नु छट्टुपन र बेइमानी हो ।
महेन्द्रको कुरा गर्दा राष्ट्रवादको कुरा जोडेर ल्याइन्छ । अहिलेका प्रधानमन्त्री खड्गप्रसाद ओली पनि राष्ट्रियताको गफ निकै गर्छन् । त्यसैले होला महेन्द्र र ओलीको राष्ट्रवादलाई एउटै नजरले हेर्नेहरु पनि मनग्गे छन् । ओलीको राष्ट्रवादमा खोट औंल्याउनेको कमी छैन । त्यसैले ओलीको राष्ट्रवादको कुरा उठ्नासाथ महेन्द्रको राष्ट्रवाद तानिएर आउँछ । यसो भएको देख्दा ओली र उनका समर्थकलाई दुःख लाग्ला तर यथार्थ यही हो । आफ्नै वन्धुहरुमाथि अरिंगालको गोलो ओइर्याउन आतुर व्यक्ति कसरी सच्चा राष्ट्रवादी हुन्छ ।
राजा महेन्द्रलाई कसैले राम्रा गीतकार तथा कवि थिए भन्छ भने ठीकै छ । राजा महेन्द्र वडो मिजासिला थिए भन्छ भने पनि ठीकै छ । राजा महेन्द्र दारुका शौकिन थिए भन्छ भने पनि ठीकै छ, उनी सिगरेटका अच्छा अम्मली थिए भन्छ भने पनि ठीकै छ । शिकार खेल्न मरिहत्ते गर्थे भन्छ भने पनि ठीकै छ । यी उनका निजी जीवनका कुरा हुन् । तर कसैले महेन्द्रलाई राष्ट्रवादी थिए भन्छ भने त्यसमा यो पंक्तिकार पटक्कै सहमत छैन ।
राष्ट्रियताको कुरा गर्दा बुझ्नु पर्ने कुरा हो राष्ट्र केलाई भनिन्छ ? राष्ट्र भनेको जनता हुन् । राष्ट्र भनेको कुनै डाँडा काँडा वा खोला नाला होइन । हाम्रो सन्दर्भमा राष्ट्र भन्नाले नेपाली जनतालाई बुझ्नु पर्दछ । त्यसो भएपछि जे कुराले नेपाली जनताको हित हुन्छ त्यो राष्ट्रिय हित हो । जे कुरा गर्दा जनताको खति हुन्छ त्यो राष्ट्रिय खति हो । जनतालाई हटाएर राष्ट्रियताको कुरा गर्न सकिँदैन । राष्ट्रियताको केन्द्रमा जनतावाहेक अर्थोक किमार्थ हुन सक्दैन ।
हो, राजा महेन्द्रको शासनकालमा केही स्कूल कलेज खुले होलान्, केही बाटाघाटा अस्पताल आदि बने होलान् । उनकै पालामा केही उद्योग समेत खुले होलान् । केही मुलुकहरुसंग कुटनीतिक सम्बन्ध बढ्यो होला । समग्रमा मुलुकको केही विकास पनि भयो होला । तर उनकै कारणले कति नेपाली सपुतले ज्यान गुमाउनु पर्यो । उनकै कारणले कति नेपाली आमाको काख रित्तियो, कति नेपाली चेलीको सिउँदो पुछियो । यसको जवाफ कसले दिन्छ ?
राष्ट्र भनेको जनता हो भनेर मान्नु हुन्छ भने जसले जनताको हित गर्छ, जसले जनताको भलाई गर्छ ऊ राष्ट्रवादी हो । तर जनताको अहित गर्ने कहिल्यै पनि राष्ट्रवादी हुन सक्दैन । राजा महेन्द्रको प्रशंसा गरेर कसैले उनले आकाशका तारा खसालेका थिए भन्छ भने त्यो उनका लागि थियो होला, उनकी रानीका लागि थियो होला, उनका सन्तानका लागि थियो होला, उनका आसेपासे चाकडीवाजका लागि थियो होला । त्यो नेपाली जनताका लागि पटक्कै थिएन ।
नेपाली जनताका लागि त राजा महेन्द्र डाका थिए । सैनिक ताकतका भरमा नेपाली जनताको मौलिक अधिकारमाथि उनले डाका हानेका थिए । उनको शासनमा नेपाली जनता मनको कुरा बोल्न पाउँदैन थिए । जनताको वाणी नै हरण गरिएको थियो । जनताका मौलिक हक खोस्ने शासक कसरी राष्ट्रवादी हुन सक्छ ? आप्mनो नैसर्गिक अधिकारको कुरा गर्ने नागरिकलाई गोली ठोक्ने त हत्यारा पो हुन्छ । त्यस्तालाई कसरी राष्ट्रवादी देख्न सकेको हो, आश्चर्य लाग्दछ ।
नेपालको भू–अवस्थिति, नेपाली जनताको चेतनास्तर, नेपाली जनताको सामाजिक आर्थिक अवस्था आदिलाई ध्यानमा राख्दा संवैधानिक राजतन्त्र नेपालका लागि उपयोगी हुन्थ्यो भन्ने मान्यता राख्नेमा यो पंक्तिकार पनि पर्दछ । तर नेपाली राजाहरुले संवैधानिक भएर बस्न रुचाएनन् । प्रजातन्त्र र निरंकुश राजतन्त्रबीचमा रोजाइ गर्नु पर्दा प्रजातन्त्र नरोज्ने कि त अधिनायकवादी तानाशाह हो कि त पशु ।
राष्ट्र भनेको जनता हो भनेर मानिसकेपछि जनताको हित नै राष्ट्रवाद हो । चर्का र चिप्ला भाषण गरेर मात्रै राष्ट्रवादी बन्न सकिँदैन । त्यसैले जसले आपूmलाई राष्ट्रवादी ठान्छ त्यसले जनताको हित गर्नुवाहेकको विकल्प छैन । प्रजातन्त्र छ, बोल्न पाइन्छ भनेर राजा महेन्द्र जस्तालाई राष्ट्रवादी थिए भनेर जनतामा भ्रम छर्न खोज्नेहरु पनि राष्ट्रवादी हुन सक्दैनन् । जनताको अहितमा हुने कुनै पनि प्रकारको काम गर्ने कोही पनि राष्ट्रवादी हुन सक्दैन । राष्ट्रवादी त मनसा, वाचा, कर्मणा जनताको हित मात्रै सोच्दछ, जनतालाई बलियो पार्ने काम मात्रै गर्दछ ।


711 पटक हेरिएको 






