विराटनगर । प्रदेश १ सरकारले ४ हजार ३४७ कर्मचारी आवश्यक पर्ने निष्कर्ष निकाल्दै संघीय सरकारसँग थप ६२६ कर्मचारी माग गरेको छ । प्रदेशमातहतका विभाग, निर्देशनालय र जिल्लाका सेवा कार्यालयलाई संघीय सरकारले पठाएको कर्मचारीले नपुगेकाले थप माग गरिएको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले बताए ।
प्रमुख सचिव केदार न्यौपानेको संयोजकत्वको समितिको प्रतिवेदनका आधारमा प्रदेश सरकारले थप कर्मचारी माग गरेको हो । संघीय सरकारले प्रदेश १ का लागि ३ हजार ७२१ कर्मचारी खटाएको छ । कार्कीका अनुसार संघीय सरकारबाट थप कर्मचारीको दरबन्दी स्वीकृत भएपछि प्रदेशमातहतका कार्यालयहरू धमाधम स्थापना हुनेछन् ।
प्रमुख सचिव न्यौपानेका अनुसार संघीय सरकारले कर्मचारीको संख्या मात्र पठाए पनि हालसम्म कर्मचारी भने पठाइसकेको छैन । मागअनुसारका कर्मचारी संघीय सरकारले नपठाएका तल्ला तहका कर्मचारीहरू प्रदेश आफैँले भर्ना गर्नुपर्ने बताए ।


546 पटक हेरिएको 






