इलाम ।स्थानीय तहलाई सबै अधिकार दिएपनि कतिपय अधिकारमा भने प्रदेश र केन्द्रले ‘अंकुश’ लगाएको एक कार्यक्रमका सहभागीले बताएका छन् ।
इलामको सन्दकपुर गाउँपालिकामा भएको कार्यक्रममा परिवर्तित कानुनको सन्दर्भमा भएको अन्तक्र्रिया कार्यक्रममा माथिल्ला निकायले लगाएको अंकुशकै कारण पर्याप्त रुपमा काम गर्न नसकेको जानकारी गराएका छन् । कार्यक्रममा सहभागील गाउँपालिकाले आफूले अत्यावश्यक कानुनका रुपमा कुन कुन कानुन निर्माण गर्नुपर्ने हो भन्ने बारेमा समेत कानुन व्यावसायीसँग सोधखोज गरेको थियो ।
यस्तै कार्यक्रममा न्यायिक समितिले के कस्ता मुद्दाहरु कसरी मिलाउने भन्ने बारेमा समेत छलफल भएको थियो । कार्यक्रममा मेलमिलाप केन्द्र पर्याप्त नभएको समयमा न्यायिक समितिले मात्रै कसरी मुद्दा हेर्ने भन्ने बारेमा कानुन व्यावसायीसित प्रश्न सोधिएको थियो । 
कार्यक्रममा जिल्ला न्यायधीश इन्द्रबहादुर चोङटेन्ली, जिल्ला न्यायधिवक्ता ऋद्धि निरौलाले सहजीकरण गरेका थिए । सन्दकपुर गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष उदयबहादुर राई, उपाध्यक्ष शोभा पराजुली, प्रमुख प्रशासकीय अधिकृत महेश राई, वडाध्यक्ष वर्तमान गुरुङ, राजनीतिक दलका प्रतिनिधि गणेश राई लगायतले बोल्नुभएको थियो । यसै अवसरमा गाउँपालिकाले गत वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई समेत पुरस्कृत गरिएको थियो । उत्कृष्ट नतिजा ल्याउने विद्यालय सरस्वती माध्यमिक विद्यालय सुलुबुङ, उत्कृष्ट छात्र विवेक खनाल र उत्कृष्ट छात्राम चन्द्रकला उप्रेतीलाई गाउँपालिका नगद, सम्मानपत्र र खादा लगाएर सम्मान समेत गरेको थियो । गाउँपालिकाले उत्कृष्ट विद्यालयलाई रु एक लाख प्रदान गरेको थियो भने उत्कृष्ट विद्यार्थीलाई जनही रु २५ हजार रुपैयाँ प्रदान गरेको थियो ।


941 पटक हेरिएको 






