सन्दकपुरलाई नेपालकै पर्यटकीय गन्तब्य बनाइने

  सरलपाटी सम्वाददाता

 3990 पटक हेरिएको

इलाम । इलामको सन्दकपुर गाउँपालिलाई नेपालकै पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने भएको छ ।
संघीय सरकारले प्रत्येक प्रदेशको एउटा स्थानलाई पर्यटकीय गन्तव्य बनाउने योजना छ । त्यसमा १ नम्बर प्रदेशबाट सन्दकपुरलाई छनोट गरिएको हो । यो सन्दपुरलाई पर्यटकीय गन्तव्य बनाउन विभागले यस अघिनै गुरुयोजना बनाइसकेको छ । क्रमागत योजना अन्तर्गत सन्दकपुरमा पर्यटन विकासका कार्यक्रम सञ्चालन गरिने पर्यटन विभागका महानिर्देशक डुण्डुराज घिमिरेले बताए । ‘सन्दकपुरको पर्यटन विकास गुरुयोजना तयार भइसकेको छ,’महानिर्देशक घिमिरेले भने, ‘सोही गुरुयोजनाका आधामा त्यहाँ के के काम गर्ने भन्ने तयारी गर्दैछौ ।’
विभागले सातै प्रदेशबाट एउटा एउटा पर्यटकीय गन्तव्य बनाउने तयारी गरेको छ । प्रदेश नम्बर दुईबाट जनकपुर धाम, ३ नम्बरबाट इन्द्र सारोवर, ४ बाट पोखरा, ५ बाट भैरहवाको लुक्लिहवा, ७ बाट भादगाउँलाई पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न बजेट विनियोजन गरिएको महानिर्देशक घिमिरेले जानकारी दिए । सरकारले अहिले सात स्थानको लागि पाँच करोड रुपैयाँ विनियोजन गरेको छ । सातै वटा प्रदेशबाट चयन भएका ठाउँलाई पर्यटकीय गन्तव्य बनाउन दुई अर्ब रुपैयाँ भन्दा बढि रकम आवश्यक पर्छ । ‘अहिले विनियोजन भएको रकमले काम शुरु हुन्छ, यसलाई क्रमागत योजनामा राखेर वर्सेनि काम गर्दै जान्छौ,’उनले भने, ‘गुरुयोजना अनुसारको काम गर्न दुई अर्ब रुपैयाँ भन्दा बढी रकम लगानी हुन्छ ।’ विभागले भदौको अन्त्यसम्ममा टेण्डर आह्वान गरेर छनोट भएका ठाउँमा काम शुरु गर्ने जनाएको छ ।
गाउँपालिका अध्यक्ष उदय राईले गाउँपालिकाले पेश गरेको योजना अनुसार सन्दकपुरलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न योजना स्वीकृत भएको बताए । गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रमा भौतिक पूर्वाधार विकास, सम्पदाहरुको संरक्षण, पदमार्ग निर्माण, बहुजातिय संग्राहलय निर्माण लगायतको काम अध्यक्ष राई बताउँछन् । त्यस्तै विभिन्न किसिमका तालिम, जैविक विविधतताको संरक्षणका लागि समेत योजना पेश गरिएको उनी बताउँछन् ।
सन्दपुर गाउँपालिकामा भारतसँग सीमा इलामकै अग्लो सन्दकपुर सहित, छिन्टापु, माईपोखरी, टोड्के झरना, धापपोखरी, हागेथाम, जैवारी, चोयाटार, कालपोखरी, माबुथाम लगायतका पर्यटकीय क्षेत्र छन् । भौतिक पुर्वाधारको विकासको अभावमा त्यस क्षेत्रमा मनग्ये पर्यटक पुग्न सकेका छैनन् । सन्दपुरका धेरै पर्यटकीय क्षेत्रमा पुग्न राम्रो सडक बनेको छैन । सुरक्षाको पनि चुनौती छदैछ । अतिक्रमण पनि पर्यटकीय क्षेत्रको समस्याको रुपमा रहेको गाउँपालिका अध्यक्ष राई बताउँछन् । जैविक विविधता युक्त सन्दकपुर गाउँपालिका क्षेत्रमा नै लोपोन्मुख रेडपाण्डा पाइन्छ । सरकारले पर्यटकीय विकासकै लागि ५० करोड रुपैयाँ समेत विनियोजन गरेको छ । त्यसका लागि भने सवै स्थानीय तहको लागि प्रपोजल आह्वान गर्ने विभागले जनाएको छ । ‘प्रस्तावनाको आधारमा बजेट दिएर पर्यटकीय विकासको काम गर्छौ,’विभागका महानिर्देश घिमिरे भन्छन्, ‘हामी सवै स्थानीय तहको लागि प्रस्तावना आह्वान गर्ने चरणमा पुगेका छै ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार