
उहिल्यैको कुरा हो, अर्थात् म त्यस बेला यस्तै आठ दश बर्षको हुँदो हूँ । यतैको एउटा परिवारले माईखोलामा कुनै यज्ञ गर्ने भएछ ।
इलाम बजारका पनि निक्कैले निम्ता पाएर भगवती झरे । त्यसरी झर्नेमध्येमा एक पौढ महिला पनि रहिछन् । यज्ञ सम्पन्न हुन दिनभर लाग्ने भएकाले आयोजकका तर्पmबाट निम्तारुहरुका लागि फलाहारको व्यवस्था पनि गरिएको थियो । कतिले फलाहार गरे । ती प्रांैढ महिलाले भने म त पाति नचढाई केही खान्न भनेर फलाहार गर्न मानिनछिन् ।
उनलाई दिनभर भोकै बस्न गाह्रो होला भनेर आयोजकले राम्रोसँग अर्थात् निकै बाक्लो हुनेगरी तताएको दूध एक बटुको दिन लगाएछन् ।
बूढी मान्छेले दूध खाइन् तर एकाध घण्टापछि उनलाई पखाला चल्न थाल्यो अर्थात् उनले त्यो दूध पचाउन सकिनन् । पाँच सात पटक पखाला गएपछि बूढीमान्छे निकै सिकिस्त भइन् । आयोजकलाई प¥यो आपत । अस्पताल ल्याउन पनि आठ दश लाठे चाहिने भयो । अरु साधन केही थिएन, झोलुङ्गामा बोकेर ल्याउने तयारी भयो । त्यो थाहा पाएपछि त्यहाँ आएका पण्डितमध्ये एकले सबै कुरा बुझेर ती लाठेलाई केही बेर पर्खन भन्दै बगर छेउको जंगल पसेर केही जडिबुटी ल्याई बिरामीलाई खान दिएछन् । नभन्दै पखाला रोकियो ।
मिश्री पानी खान दिइयो । पाति चढाउने बेलसम्ममा बूढी मान्छे उठेर पाति चढाउने सक्ने भइन् । पछि घर आएर उनले भनिछन्– भन्से को लागेको थियो, मलाई त दूधमा हरिताल हालेर दिएछन् । झण्डै उतै मरेकी । धन्न, ती फल्ना पण्डितले ओखति दिएर बाँचेर आएँ ।
उस बेला त के हो के हो भयो, यादै भएन । अलिक पछि कसैले यो कथा फेरि भनेको सुन्दा भने मलाई खासै अनौठो लागेन । इलाम बजारमा बसेर किनेको दूध खाने बानी भएकी बूढीमान्छेलाई त्यस्तो दूध नपच्नु स्वाभाविक थियो । उस बेला इलाम बजारमा पाइने दुधलाई पानी हालेको दूध होइन, दूध हालेको पानी भन्ने गरिन्थ्यो । गौमाताको रसमा गंगामाताको जल नमिसाएको दूध पाउनु असम्भव प्राय थियो ।
यस्तै पिरले होला इलाम बजारभित्रै खासगरी मारवाडीहरुले समेत गाई पाल्ने गर्दथिए । चेतनास्तरको कुरा हो । उस बेला हरितालको कुरा सबैतिर व्याप्त थियो । अचेल पनि कतै कतै त्यस्तो सुन्न पाइन्छ गाउँघरमा । जनमत संग्रहका बेला गाउँ जाँदा मैले दुई तीन घर त्यस्तो भेटेको थिएँ जहाँ पानी खान पनि मानिस तयार हुँदैन थिए ती घरमा हरिताल पालेको हुन्छ भनेर ।
तर, सबैलाई चकित पार्दै म चाहिँ तिनै घरमा गएर पानी, चिया मागेर बजाइदिन्थें । मेरो ध्यान सरसफाइमा चाहिँ हुन्थ्यो ।
अँ, त्यसै अभियानमा एक पटक हामी आमचोकमा कार्यक्रम सकेर मंगलबारेतर्पm फिर्दै थियौं, एकतप्पा आइपुग्दा अँधेरो भयो । त्यहीँ बास बस्ने योजना थियो । उज्यालैमा बास बस्ने ठाउँ पुगौं भनेर निकै धावा हिँडेका थियौं । उकालो सकिएर अलिक वर बाटैमा एउटा घर भेटियो । तिर्खाले प्याक प्याक पारेको थियो । त्यस घरको आँटमा बसेर पानी माग्यौं । घरका बूढा मानिस हामी नजिक आएर हाम्रो यात्राबारे सोधखोज गर्न थाले । निकैबेर हुँदा पनि पानी पाइएन । त्यसैले मैले पानीका लागि तागिता गरें । त्यसपछि पो बूढा मान्छेले भने, पल्लो घरमा गएर खानुहोस् न पानी, हजुर । मैले भनें, किन तपाईहरुकोमा पानी छैन ? उनले भने, होइन हजुर हामी त …..। त्यसपछि दैलामा उभिएर हाम्रो कुरा सुनिरहेकी युवतीलाई मैले भनें, ए बहिनी तपाईंहरुको गाग्रीको पानी हिलो त छैन नि ? उनी फिस्स हाँसेको कुपीको उज्यालोमा अलिअलि देखियो । ल, जे होला, ल्याउनुहोस् पानी खाइदिउँ । मैले थपें ।
उनले भित्र गएर दुई लोहोटामा पानी ल्याएर हाम्रो अगाडि राखिदिइन् । कुपीको उज्यालामा लोहोटा टलक्क टल्केका थिए । दुई भाइले नबिसाई एक एक लोहोटा पानी खायौं र एकछिन गफ गरेर बाटा लाग्यौं । बुढा मानिस भन्दै थिए– नदिनु पाप लाग्छ भन्थे । आपैm खानुहुन्छ भने त हाम्रो के लाग्छ र रु पछि थाहा भयो भोलिपल्टदेखि त्यो घरका सदस्यहरु पनि वहुदलपट्टि लागेछन् । लाग्यो पानी खाएकै भरमा दुई चार भोट बढाइएछ ।
नेपाल कम्युनिस्ट पार्टीका दुईमध्ये एक अध्यक्ष कमरेड पुष्पकमल दहालले बोलेको भनेर सेतोपाटीमा छापिएको एउटा समाचार पढेपछि मलाई यो कथाको सम्झना भएको हो ।
ठूला नेताका कुरामाथि टिप्पणी गर्दा मुद्दा लाग्न सक्छ भनेर त्यो समाचार अंश जस्ताको तस्तै साभार गरेको छु, जो यस्तो छः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले देशमा बढ्दो महिला हिंसा र बलात्कारका घटना ‘सरकार र पार्टीबिरुद्ध नियोजित षड्यन्त्र हुनसक्ने’ बताएका छन् । कञ्चनपुरकी १३ बर्षीया निर्मला पन्तको बलात्कार र हत्याका दोषीलाई पक्राउ गर्न नसकेको भन्दै सरकारको चौतर्फी बिरोध भइरहेका बेला सत्तारुढ पार्टी अध्यक्ष दाहालबाट यस्तो अभिव्यक्ति आएको हो । सरकारले समृद्ध समाज, सुशासन, भ्रष्टाचारमुक्त समाजको संकल्प गरेका बेला यस्ता विकृति र विसंगतिका घटना देखिएको उनले उल्लेख गरे ।
अहिले हे¥यो भने एकातिर दुईतिहाइ बहुमतको सरकार छ । कम्युनिष्ट पार्टीले नेतृत्व गरिरहेको छ । समृद्ध समाज निर्माण यात्रामा बढ्ने संकल्प गरेका छौं । हामीले लगातार सुशासन, भ्रष्टाचारमुक्त समाज, तीव्र गतिमा देश विकास गर्दै समाजवादको आधार निर्माण गर्ने कुरा गरिरहेका छौं ।
अर्कातिर, दिनदिनै समाजमा विकृति र विसंगतिका घटना अझ बढेका हुन् कि भनेभैmं गरी देखिएको छ । चाहे महिला हिंसाका घटना हेरौं या कालोबजारीसँग सम्बिन्धित कुरा । तिनीहरु अझ नियोजित रुपले अगाडि आउन खोजेका हुन् कि यो सरकार र पार्टीबिरुद्ध एउटा षड्यन्त्रका रुपमा आउन खोजेको हो कि भन्याजस्तो गरी देखिन्छ ।
समाजमा घटेका घटनाका बारेमा जे जस्ता आशंका गरे पनि दाहालजी एउटा कुरामा भने इमान्दार देखिन्छन् । त्यो के भने हामीले यसो गरेका छौं, उसो गरेका छौं आदि केही नभनी यसो गर्ने उसो गर्ने संकल्प गरेका छौं मात्रै भनेका छन् । उनीजस्ता शीर्ष नेतालाई फगत संकल्पले देश बन्दैन त्यसका लागि त काम गर्नु पर्छ भनेर यो पंक्तिकारले सम्झाइरहने बिषय होइन ।
निर्मला हत्या प्रकरणले देशमा शान्ति सुरक्षा दिन सरकार सफल भइरहेको छैन भनेर नै देखाउँछ । शान्ति सुरक्षा गर्ने सरकारको एउटा संगठीत निकाय प्रहरी संगठन हो । यस बेला त्यही संगठनमा रहेका केही उच्च अधिकारीहरु नै शंकाको घेरामा परेका छन् । यस्तो अवस्थामा सरकारमा बस्नेहरुको ध्यान त्यो संगठन किन त्यस्तो भयो भनेर त्यसमा सुधार गर्नपट्टि लाग्नु पर्ने हो । केही समय अगाडि नेकपाकै एक महिला सांसदले यस्तो हिंसा प्रमुख प्रतिपक्षी कांग्रेसले मचाइरहेको छ भनेर सार्वजनिकरुपमा भनेकी थिइन् । त्यसपछि त्यही पार्टीका अर्का नेताले समेत त्यस्तै अभिव्यक्ति दिएका थिए ।
तर, अहिले दाहाल स्वयंले पनि त्यस्तै कुरा गरेपछि कम्युनिस्टहरुको मनोविज्ञान नै त्यस्तै शंकालु पो हुन्छ कि क्या हो भन्नु पर्ने अवस्था आएको छ ।
विगतलाई हेर्दा अपराध अनुसन्धानमा नेपाल प्रहरी अत्यन्त सक्षम देखिन्छ । समय सुहाउँदो औजार उपकरण र स्रोत साधनको अभावमै रहेर पनि नेपाल प्रहरीले गरेका अपराध अनुसन्धानका विगतका घटनाहरु आश्चर्यजनक रहेका छन् । राजनीतिक हस्तक्षेप भएन भने नेपाल प्रहरीले आश्चर्यजनक रुपमा काम गरेर देखाउन सक्छ भन्दा सायद कसैले अनौठो मान्दैन ।
सत्तारुढ दलका नेताहरुले देशमा दिनानुदिन बढ्दै गएका हिंसाका अत्यन्त अमानवीय घटनामा प्रतिपक्षी लगायतको संलग्नता छ भनेर आरोपित गरेको देख्दा भोली यस्ता आरोपमा छानी छानी कसैलाई फसाइने त होइन भन्ने आशंका समेत बढेको छ । निर्मला पन्त प्रकरणमा एउटा मानसिक रोगीलाई फसाइसकिएको थियो तर निर्मलाका आफन्त र स्थानीयको संगठीत प्रतिकारपछि उनी निर्दोष रहेको प्रमाणित भएको छ । यदि त्यस्तो संगठीत प्रतिकार नभएको भए ती मानसिक रोगी आजन्म कारावास बस्न वाद्य पारिने थिए । अपराधी आप्mनो कुत्सित धन्दालाई निरन्तरता दिइरहेको हुन्थ्यो यद्यपि ऊ अभैm फेला परेको छैन ।
अहिले सरकारको रवैया काम गर्नेभन्दा पनि प्रतिशोध साध्नेतर्पm केन्द्रित भएको भान हुन्छ । संघीय सरकारको रवैयाप्रति सत्तारुढ दलकै मुख्यमन्त्रीहरु सन्तुष्ट छैनन् न त स्थानीय सरकार प्रमुखहरु नै खुसी देखिन्छन् । धन्न संघ, प्रदेश र स्थानीय तहमा एउटै पार्टीको वर्चस्व छ । यदि संघ, प्रदेश र स्थानीय तहमा फरक फरक दलको वर्चस्व भएको भए देशको अवस्था कस्तो हुन्थ्यो होला ? जे होस्, राजतन्त्र गए पनि श्री पशुतिनाथले मुलुकको कल्याण गर्न छाडेका रहेनछन् ।


553 पटक हेरिएको 






