
इलाम । कलिलै उमेरदेखि बालबालिकामा फुटवलको खेल कौसल बढाउँन अखिल नेपाल फुटवल संघ एन्फाले तालिम गराउन थालेको छ । एन्फाले शनिबारदेखि त्यस्ता सात हजार बालबालिकालाई तालिम गराउन शुरु गरेको हो । देशभरमा ४५ जिल्लामा शनिबार देखि तालिम शुरु गराइएको एन्फाका केन्द्रीय सदस्य निरोज खड्गीले जानकारी दिए । ग्रासउड तालिम कार्यक्रममा आठ वर्षदेखि १२ वर्षसम्मका बालबालिका सहभागी छन् ।
साताको दुई दिन उनीहरुलाई तालिम गराइने छ । इलामको सदरमुकाम सहित देउमाई नगरपालिका र सूर्योदय नगरपालिकामा फुटलवल तालिम गराइने आयोजकले जानकारी दिएका छन् । एन्फाको तालिमलाई सघाउन स्थानीय तहले समेत बजेट विनियोजन गरेका छन् । सूर्योदय नगरपालिकाले चार लाख रुपैयाँ र रोङ गाउँपालिकाले तीन लाख रुपैयाँ रकम विनियोजन गरेको खड्गीले जानकारी दिए । कार्यक्रम अन्तर्गत एन्फाले १० जिल्लालाई खेल मैदान सुधारको लागि दश-दश लाख रुपैयाँ विनियोजन गरेको छ । इलामका लागि विनियोजित रकम करफोक खेल मैदान मर्मतमा लगाइने भएको छ । ३५ जिल्लाको लागि भने पाँच लाख रुपैयाँका दरले रकम छुट्याइएको छ । त्यो रकम पनि खेलमैदानमानै खर्च गरिने भएको छ । तालिम कार्यक्रमको लागि भने एन्फाले एक लाख रुपैयाँ बराबरको खेल सामग्री प्रदान गरिएको छ ।
इलाममा शुरु भएको तालिममा एक सय ६० जना बालकहरु सहभागी रहेको तालिम संयोजक सन्तोष भक्तराजले जानकारी दिए । ‘सदरमुकाम बाहिर पनि तालिम शुरु भएपछि यो संख्या निकै बढ्छ,–उनले भने–‘इलाममा चार पाँच सय बालबालिकाले तालिम लिन्छन् भन्ने अनुमान छ ।
तालिम साताको दुई दिन सञ्चालन हुने छ । शुक्रबार र शनिबार फुटवल तालिम गराइने जिल्ला फुटवल संघका अध्यक्ष महेश श्रेष्ठले बताए । फुटवल तालिम गराउनको लागि इलाममा एक जना मात्रै एन्फाका प्रशिक्षक छन् । फुटवल संघले अन्य स्वयमसेवी प्रशिक्षकको व्यवस्था गरेको छ । तालिमको लागि २० जना प्रशिक्षक चाहिने फुटवलसंघले जनाएको छ । तालिममा सहभागीहरुबाट उत्कृष्टलाई छनोट गरेर एकेडेमीमा थप प्रशिक्षण दिइने एन्फाले जनाएको छ । ‘एन्फाले सातै प्रदेशमा एकेडेमी बाउँदैछ–एन्फा सदस्य खड्गीले भने–‘यही कार्यक्रमबाट छानेर एकेडेमेमीमा राख्ने कार्यक्रम छ ।


626 पटक हेरिएको 






