संसारका सम्बृद्ध मुलुकको इतिहास खोतल्दा ती मुलुकको सम्बृद्धिमा त्यहाँको शैक्षिक प्रणालीले केन्द्रिय भूमिका निर्वाह गरेको हुँदोरहेछ । ती देशको सम्बृद्धिमा सक्रिय भूमिका निर्वाह गर्न सक्ने ज्ञान, सीपले लैस योग्य नागरिक उत्पादन गर्ने प्रमुख जिम्मेवारी नै शैक्षिक क्षेत्रको हुँदोरहेछ । सम्बृद्ध मुलुक निर्माणका आधारहरू पहिचान गर्ने कार्य शिक्षाविद्, अनुसन्धानकर्ता र प्राज्ञिक वर्गको नै हुँदोरहेछ । यसरी सम्बृद्ध मुलुक निर्माणका आधार पहिचान गरेपछि तत्तत् क्षेत्रमा आवश्यक पर्ने प्राविधिक, व्यावसायिक र अन्य आवश्यक जनशक्तिको आवश्यकता किटान गरी योजना निर्माण गर्ने कार्यमा पनि उनै प्राज्ञिक वर्ग जुट्दारहेछन् । त्यसरी सम्बृद्ध मुलुक निर्माणका मौलिक आधार पहिचान गरी तिनै क्षेत्रमा कुशलतापूर्वक कार्य सम्पन्न गर्न सक्ने ज्ञान सीपयुक्त जनशक्ति उत्पादन गरेपछि शैक्षिक बेरोजगारीको समस्या नै नहुँदोरहेछ । आ—आफ्नो चाख र रूची बमोजिम जुन क्षेत्रमा शिक्षा हासिल गरेको छ, त्यही क्षेत्रको प्रमाणपत्र हात लाग्नासाथ उसले सम्बन्धित क्षेत्रमा रोजगारी पाइहाल्दोरहेछ । उसले त्यसरी रोजगारी पाउनु भनेकै यो वा त्यो रूपमा सम्बृद्ध मुलुक निर्माणमा उ प्रत्यक्ष सहभागी भइहाल्ने कुरा नै हुँदोरहेछ । कुनै पनि सेवामा प्रवेश गर्नासाथ उसको कार्यक्षमता र इमान्दारिताको उचित कदर गर्दै थप सेवा सुविधा उपलब्ध गराउने बैज्ञानिक र पारदर्शी व्यवस्था हुँदोरहेछ । सम्बृद्ध मुलुक निर्माणका आधारको पहिचान, ती आधारलार्इ अघि बढाउन सक्ने जनशक्ति र ती जनशक्तिले आ—आफ्ना योग्यता र क्षमताको भरपुर उपयोग गर्न सक्ने प्रणालीको विकास गर्न सक्नु नै सम्बृद्ध मुलुक निर्माणका प्रमुख पिल्लर रहेछन् ।
यदि सम्बृद्ध मुलुक निर्माणका प्रमुख पिल्लर यिनै हुन् भने सम्बृद्ध नेपाल निर्माणको अभियानमा कम्मर कसेर लागेका हामी नेपाली नागरिकले विकसित मुलुकले अपनाउँदै आएका ती अचुक उपाय अपनाउने वातावरण किन निर्माण नगर्ने ? हामीले हाम्रो मुलुक सम्बृद्ध बनाउने आधारको पहिचान किन नगर्ने ? ती आधारलार्इ लक्ष्य बमोजिम अघि बढाउन सक्ने ज्ञान सीपयुक्त योग्य जनशक्ति निर्माणको खाका किन नकोर्ने ? त्यस्ता ज्ञान सीपयुक्त जनशक्तिलार्इ उनीहरूको योग्यता र क्षमता अनुसार सम्बृद्ध मुलुक निर्माणको अभियानमा किन लामबद्ध नगर्ने ? उनीहरूको योग्यता, क्षमता, कार्यकुशलता र इमान्दारिताका आधारमा थप सेवा सुविधा उपलब्ध गराउने लोकतान्त्रिक र पारदर्शी उपायको अबलम्बन किन नगर्ने ? आदि, इत्यादि प्रश्नका बारेमा सम्बृद्ध नेपालको चाहना बोक्ने सचेत नागरिक किन नघोत्लने ? नेपालको वर्तमान शैक्षिक अवस्था र त्यसमा राजनीतिको अनावश्यक प्रभावलार्इ यस्तै गहन र मननीय प्रश्नसँग जोडेर सम्बृद्ध नेपालको बलियो धरातल निर्माण गर्न सकिन्थ्यो कि भन्ने आशयले यो लेखको जन्म भएको छ ।
सम्बृद्ध नेपालका आधार
सम्बृद्ध नेपाल निर्माणका प्रमुख आधार भनेकै कृषि, जलस्रोत र पर्यटन नै हुन् भन्नेमा सायदै दुर्इ मत होला । तर कृषिप्रधान देश नेपालमा सहजै उत्पादन हुन सक्ने फलफुल, तरकारी तथा खाद्यान्न नै अन्य मुलुकबाट आयात गर्नुपर्ने अत्यन्तै लज्जाजनक अवस्थाबाट हामी गुज्रनु परेको छ भने अन्य बहुमुल्य जडीबुटी र सम्भावनाका बारेमा त हामी झन् धेरै नै अनभिज्ञ छौं । प्रकृतिका उपहारका रूपमा रहेका त्यस्ता बहुमुल्य चीजको पहिचानसम्म गर्न नसकी भोकभोकै वा सामान्य बिरामी भएर अनाहकमा मृत्युवरण गर्नुपर्ने दुःखलाग्दो अवस्थाले सम्बृद्ध मुलुक निर्माणका अभियन्ताको ध्यानाकर्षण भएको छ कि छैन ? मुलुकभर छरिएर रहेका शक्तिशाली भनिएका सयौं सरकार आ—आफ्ना प्रदेशमा प्रकृतिको उपहार स्वरूप प्राप्त त्यस्ता प्रचुर सम्भावनाका बारेमा के कति जानकार छन् ? जलस्रोत र पर्यटनका माध्यमबाट गर्न सकिने प्रगतिका सम्बन्धमा उनीहरूले कति चिन्तन गरेका छन् ? कृषि, जलस्रोत, पर्यटन लगायत अन्य सम्भावित क्षेत्रमा के कति जनशक्ति आवश्यक छ भन्ने कुरा सम्बृद्ध नेपाल निर्माणका अभियन्तालार्इ कति जानकारी छ ? तत्तत् क्षेत्रमा रमाउन सक्ने सम्भावित जनशक्तिको पहिचान र व्यवस्थापन गर्ने उनीहरूसँग के कस्तो योजना छ ? उत्पादित जनशक्तिलार्इ प्रमाणपत्र हात पर्नासाथ निश्चित विधि र प्रकृया पुर्याएर तत्काल रोजगार प्रदान गर्न सकिने सम्भावना के कति छ ? आदि प्रश्नको सहज, विश्वासयोग्य र व्यावहारिक उत्तर मिल्ने तत्कालिन्, मध्यकालिन्, र दीर्धकालिन् योजनाको स्पस्ट खाका सयौं सिंहदरबारमा कोरिएका छन् कि छैनन् ? यदि आजसम्म त्यस्तो खाका कोरिएको छैन भने अब कोर्ने कि नकोर्ने ?
त्यतिमात्र होइन, परम्परागत रूपमै चल्दै आएका शैक्षिक संस्थाले सम्बृद्ध नेपाल निर्माणमा के कति योगदान पुर्याउन सक्छन् ? ती शैक्षिक संस्थामा गर्न सकिने र गर्नैपर्ने आवश्यक सुधार र परिवर्तनका कुरा के के हुन् ? आवश्यक सुधार र परिवर्तन गरेर पूराना शैक्षिक संस्थालार्इ सम्बृद्ध नेपाल निर्माण अभियानमा कसरी जोड्न सकिन्छ ? ती शैक्षिक संस्थालार्इ विकृति र विसंगतिको दलदलमा जाक्ने गलत प्रवृत्तिका मुल जरा कसरी छेदन् गर्ने ? विकृति र विसंगतिका जरा छिनाउन सम्पूर्ण सरकार विशाल छाती बनाएर शाहसिक ढंगले प्रस्तुत हुने कि नहुने ? लोकतन्त्रका प्रमुख आधार शुशासन र पारदर्शीताको नमुना प्रत्येक शैक्षिक संस्थाले व्यावहारिक रूपमै प्रदर्शन गर्न सकेमा मात्र सम्बृद्ध मुलुकको बलियो जग निर्माण हुन सक्छ भन्ने ध्रुव सत्य कुराका सम्बन्धमा शक्तिशाली सिंहदरबारहरू के कति गम्भीर छन् ? जग नै कमजोड भयो भने सम्बृद्ध नेपालको कल्पना दीवास्वप्न मात्र हुन सक्ने खत्तराप्रति ती सिंहदरबारको ध्यान कति गएको छ ?
सामन्ती राज्यको बाह्य संरचनामा केही परिवर्तन भए पनि ती संरचनामा कार्यरत पात्रको सामन्ती सोच र चिन्तन ज्यूँकात्यूँ बाँकी रहेको कुराप्रति सम्बृद्ध नेपालका अभियन्ता कति चिन्तित छन् ? त्यस्तो सामन्ती सोच र चिन्तनले जरा गाडेको जंगल फाँडेर लोकतान्त्रिक सोच र चिन्तनको ब्याड राख्ने सबभन्दा मलिला फाँटहरू भनेकै देशको कुनाकाप्चासम्म छरिएर रहेका शैक्षिक संस्था मात्र हुन् भन्ने सत्यलार्इ सम्बृद्ध नेपाल निर्माणको नेतृत्व गर्छौं भन्नेहरूले कति हेक्का राखेका छन् ? यी केही पेचिला प्रश्नको बारेमा मात्र सरोकारवालापक्ष घोत्लने हो भने पनि सम्बृद्ध नेपालको बलियो जग बस्ने सम्भावना थोरै नै भए पनि बढ्थ्यो कि ? आखिर कुनै पनि सम्बृद्ध मुलुकको चट्टानी जग भनेकै त्यस देशको समग्र शैक्षिक प्रणाली, त्यस मुलुकका शैक्षिक संस्था, ती शैक्षिक संस्थामा अध्ययनरत अनन्त सम्भावना बोकेका विद्यार्थी र ती बिद्यार्थीमा अन्तर्निहित क्षमताको प्रस्फुटन गराउन आतुर, नैतिकवान, परिश्रमी, पेशाकर्मी, इमान्दार र प्रेरणाका श्रोत महान र आदर्श शिक्षक नै त रहेछन् । यति सम्म कि समग्र मुलुक हाँक्ने नेता, चिन्तक, प्राध्यापक, अनुसन्धानकर्ता, लेखक, कवि, कलाकार, कर्मचारी, डाक्टर, इन्जिनियर, आदि, इत्यादिका मन मष्तिसकको गहिराइ चुमेर उनीहरूलार्इ तत्तत क्षेत्रमा तिखारिन उत्साहित गर्ने जस्तो अन्य पेशा व्यवसायका व्यक्तिले निर्वाह गर्न असम्भव जस्तो लाग्ने अत्यन्तै गहन जिम्मेवारी र जवाफदेहिता शिक्षककै काँधमा हुँदोरहेछ । त्यही भएर त फिन्ल्याण्ड जस्ता विकसित मुलुकमा शिक्षण पेशालार्इ सबभन्दा अब्बल पेशा भन्दै पहिलो दर्जाको सम्मान दिइएको रहेछ । अनि सम्बृद्ध मुलुक निर्माणका अभियन्ता लगायत सबैजसो जनशक्तिकै मन मष्तिस्कमा गुणात्मक परिवतर्न ल्याउन सक्ने शिक्षा जस्तो सम्बृद्धिको प्रमुख पिल्लर मानिने शैक्षिक क्षेत्रमा हुर्किएको बीष वृक्षको मुल जरो नै छेदन नगरी सम्बृद्ध नेपालको पट्यारलाग्दो रटानले मात्र सम्बृद्ध नेपाल बन्ला र ? यो प्रश्न सम्बृद्ध नेपाल निर्माण अभियानकर्ताको मष्तिस्कमा प्रवेश गरेको छ कि छैन ?
सम्बृद्ध जग निर्माण
नेपालको शैक्षिक क्षेत्रलार्इ ध्वस्त बनाउने सबभन्दा बुढो र खत्तरनाक बीषको रूख भनेकै शैक्षिक क्षेत्रमा हावी गलत राजनीतिक प्रवृत्ति नै हो भन्ने कुरामा अब कुनै दुविधा रहेन । त्यो बीषालु रूखलार्इ संरक्षण गर्ने भनेका पनि नेपालका प्रमुख राजनीतिक दल नै हुन् भन्ने अर्को कुरा पनि उत्तिकै ध्रुव सत्य हो । विशेष गरेर शक्तिशाली राजनीतिक दलका लाइसेन्स गोजीमा बोकेर समग्र शैक्षिक क्षेत्र ध्वस्त बनाउने विकृति र विसंगतिका मुल श्रोत भनेकै शैक्षिक क्षेत्रमा हावी तत्तत् पाटीका सक्रिय सदस्यहरू नै हुन् भन्ने कुरा दिनको घाम जत्तिकै छर्लङ्ग छ । त्यसमा पनि अमुक राजनीतिक दलको फेर समाएर शैक्षिक संस्थाका प्राज्ञिक मुल्य र मान्यताको धज्जी उडाउँदै न्युनतम कर्तव्यलार्इ तिलाञ्जली दिएर पेशागत धर्मलार्इ धुजाधुजा बनार्इ केवल पद र पैसाका लागि शिक्षण संस्थाभित्र अनेक खुरापाती, छलछाम र षडयन्त्र जस्ता चरम अपराधजन्य व्यवहार प्रदर्शन गर्ने पात्र र प्रवृत्ति नै सबैजसो सरकारी शिक्षण संस्थामा मौलाएका बीषबृक्ष हुन् । अझै पनि ती खत्तरनाक बीष बृक्षका मुल जरामा बञ्चरो प्रहार गर्न हातखुट्टा कमाउनेहरूले सम्बृद्ध मुलुकको गीत गाउनु भनेको नेपाली जनतालार्इ झन् ठूलो धोका दिनु र देशप्रति नै गद्दारी गर्नु बाहेक अरू केही पनि हुने छैन । सम्बृद्ध नेपाल निर्माणका सक्कली अभियन्ताको समय नघर्कदै चेत खुलोस् ।
निश्कर्ष
सामन्ती सोच र चिन्तनले ग्रस्त सबैजसो सरकारी शिक्षण संस्थामा मौलाएको खत्तरनाक बीष वृक्षको जंगललार्इ जरैदेखि फाँड्न र ती बीष वृक्षका ठाउँमा नवीन एवं एक्काइसौं शताब्दी सुहाँउदा लोकतान्त्रिक सोच र चिन्तनले लैस अमृत वृक्षको ब्याड राख्न सकिएमा मात्र सम्बृद्ध मुलुकको बलियो जग निर्माण हुन सक्ने सत्यप्रति अब कसैलार्इ भ्रम छ जस्तो लाग्दैन । आज विश्वकै सबभन्दा शक्तिशाली मुलुकको रूपमा उदाउँदै गरेको चीन सम्बृद्ध हुनु भन्दा अगाडि त्यहाँ किन निकै अप्रिय जस्तो लाग्ने साँस्कृतिक क्रान्ती हुनु परेको रहेछ भन्ने कुरालार्इ सम्बृद्ध नेपाल निर्माण पक्षधर सम्पूर्ण सक्कली अभियन्ताले पटक पटक मनन् गरून् । सामन्ती संरचनालार्इ ध्वस्त गर्न जति सजिलो छ, त्यो भन्दा कयौं गुणा कठीन त सामन्ती सोच र चिन्तनले ग्रस्त प्रवृत्तिलार्इ ठेगान लगाउन छ भन्ने ऐतिहासिक सच्चाइलार्इ हल्का टिप्पणी र संस्लेषणको रूपमा मात्र नबुझौं । बरू ती गलत संस्कार संस्कृतिको छाप हटाउन हरेक शैक्षिक संस्थामा लोकतान्त्रिक सोच र चिन्तनलार्इ जगाउने अमृत वृक्षको ब्याड राख्न कति पनि ढिला नगरौं । ती लोकतान्त्रिक मुल्य मान्यताबाट संस्कारिएका ज्ञान सीपयुक्त तथा मानसिक एवं शारीरिक श्रमको उच्च सम्मान गर्दै स्वदेशमै श्रम गर्न रमाउने होनाहार युवा पङ्क्तिले मात्र सम्बृद्ध नेपाल निर्माणको शुन्दर सपनालार्इ बिपनामा परिणत गर्न सक्नेछन् भन्ने कुरामा अब कहिँ कतै भ्रम नरहोस् । सक्कली सम्बृद्ध नेपाल निर्माण अभियन्तालार्इ चेतना भया ।Ï


1307 पटक हेरिएको 






