मुख्यमन्त्री राईले आज विश्वासको मत लिने

  सरलपाटी स‌ंवाददाता

 331 पटक हेरिएको

प्रदेश १ को मुख्यमन्त्री राजेन्द्र राइले आज विश्वासको मत लिने भएको छ। आज बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री राईले विश्वासको मत लिन लागेका हुन् । मंगलबार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दको कारण बैठक बस्न नसकेपछि आजको लागि बैठक सरेको हो। प्रमुख प्रतिपक्ष दलका एक जना पनि सांसद उपस्थित नभएको भन्दै सभामुख प्रदीपकुमार भण्डारीले आज बस्नेगरी बैठक स्थगित गरेका थिए।

नेकपा एमालेले भने विप्लव समूहको बन्दका कारण सांसदहरु आउन नसक्ने भन्दै बैठक स्थगित गर्न माग गरेको थियो । बैठक स्थगित भएपछि मुख्यमन्त्री राजेन्द्र राईले सभामुखको भूमिकामा प्रश्न उठाएका थिए। सभामुखले एमालेको कार्यकर्ताको जस्तो भूमिका निर्वाह गरेको आरोप लगाएका थिए । तत्कालीन मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीका नेता राईको नेतृत्वमा कात्तिक १६ मा नयाँ प्रदेश सरकार बनेको थियो।

पाँच दलीय सत्ता गठबन्धनमा ५० सांसद छन्। ९३ सदस्य रहेको प्रदेशसभामा हाल कायम संख्या ९२ छ। गठबन्धनमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मञ्चका १ गरी ५० सांसद छन्। मुख्य विपक्षी एमालेसँग ४१ सांसद छन्। एक जना सभामुख र एक जना फरार सांसद घटाउँदा उसको मत संख्या ३९ मात्रै हुन्छ। त्यसैले सत्ता गठबन्धनले सजिलै विश्वासको मत आर्जन गर्ने अवस्था छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार