
इलाम । ४० बर्ष भारतीय जेलमा वन्दी जीवन विताएर फर्किएका माई नगरपालिका–१० का दुर्गाप्रसाद तिम्सिनालाई मानव अधिकार मञ्च इलामले पोसाक, चप्पल र लड्डु प्रदान गरेको छ । साथै, मञ्चले तिम्सिनालाई नियमित मनोपरामर्शका लागि सहजीकरण समेत गर्ने भएको छ ।
मञ्चले मंगलबार उनको घरैमा पुगेर स्वास्थ्यअवस्थाबारे जानकारी लिदै उनलाई सहजीकरण गर्ने भएको जानकारी गराएको हो ।
मञ्चका उपाध्यक्ष वीर बहादुर खड्का र कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्मा सहितको टोली तिम्सिनाको घर पुगेको बताइएको छ । विगत र अहिले उनको स्वास्थ्य अवस्था कस्तो छ ? के कस्तो सहयोग गर्नु पर्नेछ भन्नेबारेमा समेत जानकारी लिइएको उपाध्यक्ष खड्काले बताए ।
दुर्गाप्रसादको स्वास्थ्य अवस्था पहिलेको भन्दा निक्कै राम्रो भएको भाई धर्मनन्द तिम्सिनाले बताए । सुरुमा राती चार पटकसम्म बाहिर लैजानु पथ्र्यो, अहिले भने एक पटक मात्रै लैजानु परेको उनको भनाई छ ।
पहिले शरीर कामीरहन्थ्यो अहिले भने धेरै मानिस भयो भने मात्रै काम्ने गरेको परिवारले जनाएको छ । पालिकाको सहयोगमा सकेसम्म चाडै विराटनगरको नर्सिङ्ग होम अस्पताल लैजाने तयारी समेत भईरहेको भतिजो गोपाल तिम्सिनाले जानकारी दिए ।

दुर्गाप्रसादलाई कोलकाता उच्च अदालतले जेलबाट गएको बुधवार रिहाको आदेश दिएको थियो । आदेश अनुसार तिम्सिना शनिवार बिहान साढे ११ बजे कोलकाताको दमदम जेलबाट छुटेका हुन् । व्यक्ति हत्या अभियोगमा सुनुवाइ विनै भारतको जेलमा ४० वर्ष बिताएर तिम्सिना गएको आइतवार आफ्नो घर आइपुगका हुन् ।
२०३७ साल माघमा घरबाट तोरी बेच्न भनी मङ्गलबारे बजार हिँडेको भन्दै घरबाट निस्केपछि बेपत्ता भएका तिम्सिना कहाँ छन् भन्ने कसैलाई थाहा पत्तो थिएन । यही कारण २०१७ साल साउनमा जन्मिएका उनलाई ६० वर्षको उमेरमा जिल्ला प्रशासन कार्यलय इलामबाट गएको बिहीबार नागरिकता प्रदान गरिएको हो ।


304 पटक हेरिएको 






