इलाम । कतिले भन्छन्, बितेका कुरासँग के पछुतो ।’ तर जब विगत वर्तमानसँग जोडिन्छ तब मानिस विगतसँग पछुतो मान्छ । कतिपय त्यही विगतलाई सम्झन्छन्, वर्तमान र भविष्यलाई आफूले सोचे जस्तै, खोजे जस्तै बनाउन लाग्छन् ।
त्यस्तै मध्येका एक हुन्, लालीगुराँस नगरपालिका ९ सोल्मा तेह्रथुमका राजकुमार तेयुङ् लिम्बू । राजकुमारलाई परदेशमा बिताएको समय सम्झँदा आज पछुतो लाग्छ ।
उनले भने – ‘काम र कमाइ त नेपालमै रहेछ, मेरो ६ वर्ष अर्काको देशमा खेर गएछ ।’ हुन त आज उनको आफ्नै व्यवसाय छ । आफू मात्र हैन परिवार नै स्वरोजगार हुन पाएको छ । उनलाई आजसँग कुनै पछुतो छैन । तर परदेशमा बिताएको त्यो दुःख र समयसँग छ ।
राजकुमारको २०६४ देखि २०७० सालसम्म मलेसियामा बित्यो । मलेसियाको कोलालाम्पुरको केलाङ्स्थित ‘फर्निचर कम्पनी’मा काम थियो उनको । परदेशमा काम नगरी पैसा कमाइन्छ भन्ने सोचमा गएका थिए उनी । तर पुगेपछि सोचे भन्दा फरक भयो । सुरुका दिनहरू उनका निकै कष्टकर रूपमा बिते।
पहिलो महिना त, मात्र्र १२ हजार रुपैयाँ कमाइ भयो । आउने समयसम्ममा भने ८० हजार रुपैयाँ कमाइ हुन्थ्यो । परिवारसँग बिछोडिएर परदेशमा रहन मनले मानेन । अनि २०७१ मा राजकुमार नेपाल आए ।
‘पैसा मात्र ठुलो होइन रहेछ, परिवार, आफन्त र छर छिमेकीको माया नै ठुलो रैछ, यही मायाको भोको भएँ र म नेपाल आएँ,’ राजकुमार भन्छन् । विदेशबाट फर्केपछि उनले आफ्नै देशमा केही गर्ने योजना अनुसार होटेल व्यवसाय थाले । म्याङ्लुङ नगरपालिका १ तेह्रथुममा ‘इन्सेमा होटेल एण्ड लज’ सञ्चालन गर्छन् राजकुमार । उनले २०७५ सालमा दुई लाख रुपैयाँको लगानीमा यो काम थालेका हुन् ।

होटेलमा परिवारका तीन जनाले पनि काम पाएका छन् । ‘मेहनत गरे नेपालमा पनि कमाइ गर्न सकिँदो रैछ त, कमाई छ, सन्तुष्ट पनि छु, अहिले पो मलाई पछुतो लाग्छ,’ परदेशमा ६ वर्ष बिताएको समय सम्झँदा उनले दुखेसो पोखे ।
उनको अधिकांश समय सञ्चार, सङ्गीत र साहित्यिक क्षेत्रमा बित्छ । होटेल भने आमा, श्रीमती र छोरीको भरोसामा चलेको छ । राम्रो मुनाफा हुँदै थियो होटेलबाट । तर अचानक देशमा कोरोना महामारीका कारण लकडाउन भयो । यसको प्रत्यक्ष असर होटेलमा पर्यो । होटेल नचल्दा डेढ लाख घाटा भयो । यो समय भने उनलाई होटेल बन्द गरौँ झैँ लागेको थियो । तर अहिले ठिक छ । लकडाउन खुलेसँगै अहिले भने उनलाई सहज छ ।
महिनामा होटेल र कोठा भाडामा ३० हजार खर्च हुन्छ । खर्चको व्यवस्थापन गरेर केही रकम भने बच्छ । परदेश गएर कसैले पनि पछुताउन नपरोस् भन्ने लाग्छ राजकुमारलाई । युवालाई गाउँमै रोजगारको अवसर दिनु पर्छ भन्ने उनको सोच छ । अब बङ्गुर फाम सञ्चालनको तयारीमा छन् राजकुमार। २० वटा बङ्गुर राखेर फाम सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको राजकुमार बताउछन् ।
परदेशबाट फर्कँदा जब छिमेकीले चिनेनन्

राजकुमारलाई जस्तै पछुतो छ इलाम नगरपालिका १० गोदकका विक्रम सुन्दासलाई पनि । उनको १० वर्ष साउदीमा बित्यो । एसएलसी पछि उच्च शिक्षा हासिल गर्ने मन थियो । तर पढ्ने मनको रहरलाई पैसाले रोक्यो । आर्थिक समस्याका कारण मनको इच्छालाई कुल्चेर कलिलै उमेरमा परदेश जानु उनको बाध्यता थियो ।
१० वर्षपछि नेपाल आउँदा छिमेकीले यी बाबु को हुन्रु भन्ने प्रश्न गर्दा विक्रम झस्किएका थिए । ‘पैसा मात्रै सब थोक होइन रहेछ, भावनात्मक सम्बन्ध बलियो नभए बाच्न गाह्रो हुने रहेछ, विक्रम भन्छन्, ‘अहिले म आफ्नाको साथमा देशमै दुःख गरिरहेको छु ।’
साउदीको जुबेरस्थित ‘अलखोनाइनी पेट्रोलियम सर्भिस कम्पनी’मै उनको १० वर्ष बितेको हो । सुरुको महिना त उनले १६ हजार तलब पाए । नेपाल आउने बेला भने पद बढ्यो । त्यसै गरी तलब पनि बढ्यो । महिनामा एक लाख छ हजार रुपैयाँ पुगेको थियो तलब । तर पनि उनले त्यो कमाइ त्यागेर नेपाल आए । सोचे जस्तो कमाई छैन, तर परिवार, समाजको माया छ, अनि पसिना नेपालमै बगेको छ, मलाई यस मै गर्व छ,’ विक्रम भन्छन् । अहिले नेपालमा विक्रम अध्ययन र सञ्चार कर्ममा व्यस्त छन् । एसएलसीमै अड्किएको पढाई नेपाल आएपछि पुनः अघि बढाए ।
स्नातक दोस्रो वर्षमा अध्ययन गर्दै छन् अहिले । सँगै पढेका उनका १० जना साथी सरकारी जागिरे भए । उनको भने परदेशले पढाइ छुटायो । ‘पढाई मात्र होइन मैले अवसर पनि छुटाएँ, नेपालमै रहन पाएको भए जागिर नखाए पनि पढाइ त पूरा हुन्थ्यो होला,’ उनले दुखेसो पोखे । विक्रमको लक्ष्य सञ्चार कर्मसँगसगै व्यवसाय गर्ने र युवालाई रोजगारीको अवसर दिने रहेको छ ।
इलाम नगरपालिका ८ मा उनको ‘अनीश’ टेलर छ । अहिले भने उनकी श्रीमती सङ्गीता चाहारले सञ्चालन गरिरहेकी छिन् । समय मिल्दा उनले पनि सघाउछन् । ‘विदेशको १० वर्षको कमाइलाई नेपालमा तीन वर्षको कमाइले जित्यो, उनले आफैँसँग प्रश्न गर्दै भने, ‘अनि म कसरी खुसी हुन सक्छु त परदेशमा रु’
विक्रम झैँ फेदाप गाउँपालिका १ तेह्रथुमका कृष्ण तामाङ पनि विदेश गएकोमा पछुतो मान्छन् । आर्थिक समस्याका कारण पढ्दापढ्दै उनलाई विदेशिनु पर्यो । २०६९ मा मलेसिया गएका उनको कमाइ राम्रो नै थियो । पहिलो वर्ष महिनामा ४५ हजार रुपैयाँ कमाइ भयो । काम सजिलो थियो । नेपाल फर्कने समयमा महिनाको ८० हजार रुपैँया तलब थाप्थे उनले ।
तर मेहनत बिना कमाउन सकिन्न भन्ने भएपछि भने कृष्ण २०७१ मा नेपाल आए । विदेश कहिल्यै नजाने सोच बोकेर । दुई वर्षको कमाई ऋण तिर्न र सवारी साधन किन्दैमा सकियो । उनले भने, ‘ठोस उपलब्धि केही गरिन, समय चिनेँ, व्यवसाय गर्ने तरिका सिकेँ, अब भने यही ज्ञानलाई सदुपयोग गर्दै नेपालमै दुःख गर्न मन छ ।’
कमाइ कम तर सन्तुष्टि ज्यादा

दाम भन्दा पनि नाम राख्ने रहर उच्च छ राजकुमारमा । उनको, सञ्चार गीतसङ्गीत र साहित्यमा अहोरात्र खटाई छ । उनले तीन वटा गजल सङ्ग्रह प्रकाशित गरेका छन् । जुन २०६५, २०६९ र २०७१ मा प्रकाशित भइसकेका हुन् । अब अर्को प्रकाशनको तयारीमा छ ।
इन्द्र सुशिल र मनु नेम्वाङको आवाजमा रहेको ‘रातमा फुल्ने जुनेली’ बोलको गीतले बजार लिएपछि गीतसङ्गीतमा पनि उनको झुकाव बढेर गएको छ । बाँकी केही गीत रेकर्ड भएका छन् भने केही गीत रेकर्डको तयारीमा छन् । मलेसियामा पनि पत्रकारिता गरेका राजकुमार अहिले एफएम रेडियो मेन्छय्येम १०३।४ मेगाहर्जमा काम गर्छन् । रेडियोमा राजकुमार समाचार र मातृभाषाको कार्यक्रम उत्पादन र प्रसारण गर्ने गर्छन् । उनले भने, ‘कमाइ कम छ तर पनि म सन्तुष्ट छु ।’ राजकुमारले २०७२ बाट एफएममा काम गर्न थालेका हुन् ।
म्याङ्लुङ नगरपालिका १ मा रहेको एफएममा कार्यक्रम र समाचार मात्रै होइन व्यवस्थापकका रूपमा समेत काम गर्छन् राजकुमार । यसका साथै लालीगुराँस नगरपालिकाको प्रेस सल्लाहकारका रुपमा समेत काम गर्छन् ।
भाषा संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै राजकुमारले सम्मान समेत प्राप्त गरे। चोङबाङ स्मृति साहित्य पुरस्कार २०७६ बाट राजकुमार सम्मानित भए । , ‘जन्मभूमिको मायाले नेपाल नफर्किएको भए मैले गरेको कामको कदर कसरी हुन्थ्यो र रु हुदै हुदैन थियो नी उनले भने ।’ अब आफ्नै गाउँ, आफ्नै जन्मभूमि हराभरा बनउने मन छ उनलाई, पैसा भन्दा ठुलो आफन्त गाउँ र देश लागेकोले नेपालमै दुःख गर्ने लक्ष्य छ भन्छन् ।’
राजकुमार जस्तै इलामका विक्रम पनि आफ्नो काममा ज्यादै सन्तुष्ट छन् । सञ्चार क्षेत्रमा सन्तोष जनक कमाइ हुँदैन । तर अपार आत्मसन्तुष्टि भने पाइन्छ । उनले भने, ‘यसैमा आफ्नो भविष्य खोजिरहेको छु, मेहनत गरिरहेको छु ।’
अहिले विक्रम इलामको एफएम रेडियो चियाबारी एफएम ८८।२ मेगाहर्जमा कार्यरत छन् । समाचार र कार्यक्रम उत्पादन तथा प्रसारणको जिम्मेवारी सम्हाल्छन् । २०७५ बाट उनले एफएम रेडियोमा आबद्ध भएर मेहेनतको यात्रा सुरु गरेका हुन् । ‘गाउँमा स–साना नानीहरूले ‘म विक्रम जस्तै बन्छु’ भनेको सुन्दा जति आत्मसन्तुष्टि अरु केहिमा पनि मिल्दैन, असाध्यै खुसी लाग्छ,’ उनले आफ्नो खुशी व्यक्त गरे।
समय चिन्न र मेहनतको महत्व बुझ्ने हो भने, विदेश जानु नै राम्रो हो । तर दिगो प्रगति गर्ने भए युवालाई विदेश नजान विक्रमको सुझाव छ ।


334 पटक हेरिएको 






