दक्षिण कोरिया । चिनको वुआनप्रान्तबाट पहिलो पटक संक्रमण सुरु भएको मानिएको कोभिड – १९ अर्थात कोरोना भाइरस विस्तारै विश्वभर महामारीको रुपमा फैलियो र प्राय सबै मुलुक अछुतो रहन सकेन ।
धेरै मुलुकले संक्रमण रोक्नका लागि अनेक प्रयास गरे बाह्य तथा आन्तरिक लकडाउन गरे यसले सामाजिक तथा आर्थिक क्षेत्रमा अत्यन्तै नकारात्मक प्रभाव पार्यो । कुनै बेला चीन पछि सबै भन्दा छिटो र धेरै संक्रमण भएको मुलुक थियो दक्षिण कोरिया तर स्मरण रहोस् सबै भन्दा छिटो संक्रमणलाई तत्काल सुन्य अवस्थामा पुर्याउने मुलुक पनि दक्षिण कोरिया नै बनेको थियो ।
उसो त अन्य देशको तुलनामा संक्रमित र भाइरसका कारण मर्नेहरुको संख्या न्यून नै रहेको छ भन्दा फरक नपर्ला । भाइरस नियन्त्रणका लागि आन्तरिक लकडाउन नै त गर्न परेन तर सामाजिक दुरी कायम राख्न र सुरक्षित रहनका लागि भने सरकारले धेरै पटक प्रयास गरिरह्यो ।पछिल्लो पटक कोरोना भाइरस नियन्त्रणका लागि अनिवार्य कोरोना परीक्षण गराउनु पर्ने र त्यसको लागि सरकारले निःशुल्क रुपमा विभिन्न ठाउँमा शिविरहरु सञ्चालन गरिरहेका छन् ।
विषेश गरी रोजगारी,अध्ययन,व्यापार व्यवसाय लगायत विभिन्न पेसाका लागि कोरियामा रहेका सबै विदेशी नागरिकहरुलाई अनिवार्य कोरोना परीक्षण गराउनु पर्ने गरी मन्त्रालयबाट दूतावासलाई पत्र आएका कारण सबै नेपालीहरुलाई आफ्नो पायक पर्ने ठाउँमा सम्पर्क गरी अनिवार्य कोरोना परीक्षण गराउन दुतावासले सुचना जारी गरेको हो । हाल कोरियामा कोरोना भाइरसको संक्रमण घट्दो क्रममा रहे पनि केही विदेशी नागरिकहरुमा लगातर संक्रमण बढेको पाइए पछि सबै विदेशी नागरिकलाई अनिवार्य कोरोना परीक्षण गराउनु पर्ने नियम लागू गरिएको हो ।
कोरोना परीक्षण गर्न अटेर गर्ने विदेशी नागरिकलाई कम्तिमा २० लाख कोरियन वोन जरिवाना सहित संक्रमण फैलाउन भुमिका खेलेको मानी थप कारबाहीको भागीदार हुनुका साथै आफू संक्रमित भएको खण्डमा आफू र आफु मार्फत संक्रमित सबै व्यक्तिको उपचार खर्च समेत व्यहोर्नु पर्ने नियम भएकोले कोरियामा रहेका सबै वैधानिक तथा अवैधानिक रुपमा वसोवास गर्ने सबै नेपाली नागरिकहरुलाई अनिवार्य कोरोना परीक्षण गराउन दूतावासले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।
विषेश गरेर अवैधानिक रुपमा बसोबास गरिरहेका नागरिकहरुले परीक्षण गराउन हिचकिचाउन सक्ने र संक्रमितको संख्या अझ बढ्न सक्ने आसंका गरिएको तर कुनै पनि नागरिकको बसोबासको अवस्थाकाबारेमा सोधखोज नगरिने भएकाले निर्धक्क भएर परीक्षण गराउन दूतावासले अनुरोध गरेको छ ।
यता कोरोना परीक्षण गराउनका लागि प्राय विदाको दिन समय सहज हुने भएकाले धेरै नेपालीहरुले विदाको दिन परीक्षण गराउन जाने गरेका छन् तर विदाको दिन परीक्षण गराउन जाँदा अत्यधिक भिडभाड हुने भएकाले ह्वासङ्ग स्थित फारानमा रहेको परीक्षण स्थलबाट २ दिनसम्म लामो समय लाइन बसेर पनि पालो नआए पछि तेस्रो दिन मात्रै परीक्षण गराउन सफल भएको रोजगारीको शिलशिलामा कोरियामा रहेका इलामका नितेश दुलालले बताए ।
यस्तै लामो समय कुर्नु पर्ने सुन्नमा आएपछी बिहान ५ बजे देखि नै लाइन लागेर आफुहरुले परीक्षण गराएको म्याग्दिकी नानू पून, झापाकी निशा लिम्बू र बाग्लुङकी जस्नी मगर गुनासो गर्छन् । विषेश गरी विदेशी नागरिकहरु बसोबास गरिरहेका ठाउँमा परीक्षणका लागि अत्यधिक भिडभाड हुने भए पनि राजधानी सौलस्थित तोङ्देमुनमा खासै भिड नभएको र चाडैं परीक्षण गराउन सफल भएको बौद्धका राज तामाङले बताए ।
दुतावासले पछिल्लो पटक जारी गरेको सूचनामा राजधानी सौल आसपासका क्षेत्रमा रहेका सबै नेपाली नागरिकहरुलाई मार्च १७ देखि मार्च ३१ सम्ममा अनिवार्य कोरोना परीक्षण गराउन अनुरोध गरिएको छ । करिब ५० हजार बढी नेपालीहरु रहेको कोरियामा अधिकांश नेपालीहरुले कोरोना परीक्षण गराई सकेको जानकारी सामाजिक संजालहरुमा पोस्ट गरिएको फोटो तथा भिडियोहरुले पुष्टि गरिरहेको छ ।
कोरियामा हालसम्म कोरोनाबाट संक्रमितहरुको संख्या ९८२०९ जना पुगेको छ भने एकजना विदेशी नागरिक सहित १६९३ जनाको मृत्यु भै सकेको छ । केही नेपालीहरुलाई समेत कोरोना संक्रमण भएको र उपचार पछि आ–आफ्नो कार्यस्थल फर्की सकेका छन् । कोरियाले कोरोना विरुद्धको भ्याक्सिन पनि केही समय अघि देखि लगाउन सुरु गरिसकेको छ ।


432 पटक हेरिएको 






