एकल महिला र दलितको स्वास्थ्य बीमा गर्दै सूर्योदय

स्वास्थ्य बीमा

  सरलपाटी सम्वाददाता

 471 पटक हेरिएको

इलाम । प्रायः जसो आर्थिक अभाव र सामाजिक विभेद ब्यहोर्न बाध्य हुने एकल महिला र विपन्न दलितहरुका लागि इलामको सूर्याेदय नगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेको छ । विपन्न एकल महिलाहरुका लागि नगरपालिकाले स्वास्थ्य बीमा मार्फत स्वास्थ्य उपचारमा सहयोग गर्न लागेको हो ।

गतवर्ष नगरपालिकाले संञ्चालन गरेको गुनासो चौतारी कार्यक्रममा एकल महिलाहरुले आफूहरु एकल हुनुको पीडा र उपचारमा भएको समस्या राखेका थिए । एकल महिलाहरुको समस्यालाई मध्यनजर गर्दै नगरपालिकाले चालू आर्थिक वर्षमा विपन्न एकल र विपन्न दलित परिवारलाई स्वास्थ्य बीमा गरिदिएको नगरपालिकाले जनाएको छ । नगरपालिका भित्र रहेका २०४ विपन्न एकल विधवा महिला र ५७ विपन्न दलित परिवारको स्वास्थ्य बीमा गरिएको नगरपालिका उप–प्रमुख दुर्गादेवी भट्टराईले बताइन् ।

नगरपालिकाले एक जनाको स्वास्थ्य बीमा गराउँदा त्यसबाट पाँच जनाले उपचार पाउने व्यवस्था मिलाएको छ । यस वर्ष पनि १०५९ जना स्वास्थ्य बीमाबाट लाभान्वित हुने जनाइएको छ । स्वास्थ्य बीमा गर्न प्रति परिवार तीन हजार पाँच सय रुपियाँ खर्च हुने गरेको छ । नगरपालिकाले बीमा सुविधा दिएका सदस्यको वार्षिक नविकरण समेत गर्नेछ ।

नगरपालिकाले गतवर्ष ११७ विपन्न एकल विधवा महिलाको स्वास्थ्य बीमा गरिदिएको थियो । एकल भएर असहाय जस्तै बनेका महिलाहरुलाई नगरपालिकाले स्वास्थ्य बीमा गरिदिएर ठूलो सहयोग गरेको सूर्योदय नगरपालिका– १ की कमला खड्काले बताए । खड्का मात्र होइन गतवर्ष देखि बीमा सुविधा पाएका पशुपतिनगरकी प्रमिला राई, समालबुङ्गकी रीता राई, लक्ष्मीपुरका लक्ष्मी राई र ज्ञानकुमारी आचार्यले बीमाबाटै स्वास्थ्य उपचार समेत गराएको बताइएको छ ।

‘अघिल्लो वर्ष गुनासो चौतारीमा टोल–टोलमा जाँदा एकल महिलाहरुले स्वास्थ्य उपचारबाट बञ्चित भएको गुनासो गरेका थिए ।’ नगरपालिका प्रमुख रणबहादुर राईले भने ‘त्यही गुनासोलाई हाम्रो वार्षिक कार्यक्रममा समेटेर नयाँ कार्यक्रमका रुपमा कार्यान्वयनमा ल्याएका थियौं । त्यसको नतिजा राम्रो देखियो ।’

नगरपालिकाले आधारभूत स्वास्थ्य उपचार सेवाबाट कोही पनि बञ्चित हुन नपरोस भन्ने उद्देश्यले यो कार्यक्रम ल्याएको बताइएको छ । नगरपालिकाले ५९ वर्ष मुनिका एकल महिलाहरुको स्वास्थ्य बीमा गर्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार