पर्यटकीय क्षेत्र पाटेनागी नगरको प्राथमिकतामा

पर्यटकीय क्षेत्र पाटेनागी

  सरलपाटी सम्वाददाता

 766 पटक हेरिएको

 

इलाम । इलाम नगरपालिका ३ पुवामझुवामा रहेको पर्यटकीय क्षेत्र पाटेनागी  इलाम नगरपालिकाको प्राथमिकतामा परेको छ । पाटेनागी क्षेत्रमा नगरकार्यपालिकाको ९७ औँ बैठक सम्पन्न गर्दै, यसलाई प्रमुख पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने निर्णय गरेसँगै पाटेनागी नगरको प्राथमिकतामा परेको हो ।

सोहि क्षेत्रमा पुगेर आइतबार बसेको बैठकले यस क्षेत्रको विकासलाई दीर्घकालिन बनाउन गुरुयोजना निर्माण गरेको छ । साडे आठ हजार फिट अग्लो स्थानमा रहेको पाटेनागीबाट सगरमाथा, कञ्चनजङ्घा लगायतका हिमाल देख्न सकिन्छ । यस्तै प्रदेश १ का धेरै जिल्लाका रमणीय भू–भाग नियाल्न सकिन्छ भने विश्वमै दुर्लभ मानिएको रेडपाण्डाको अवलोकन गर्न समेत सकिन्छ ।

प्राकृतिक रुपमा पर्यटकलाई आकर्षण गर्ने यिनै विविध सम्भावनालाई पूर्ण बनाउने उद्देश्यले नै स्थानीयबासीसँग प्रत्यक्ष भेटेर बैठक सम्पन्न गरेको नगर प्रमुख महेश बस्नेतले बताए । उनले भने, ‘यस क्षेत्रमा केहि लगानी गरीसकेका छौँ, अब बाँकी लगानी निर्माण गरिएका गुरुयोजना बमोजिम नै गर्नेछौँ ।’

सूर्योदय र सूर्यास्तको दृश्य पाटेनागीबाट पनि देख्न सकिने भएकाले यसलाई इलामको सुर्योदयमा पर्ने श्रीअन्तु जस्तै बनाउने, यस क्षेत्रमा घना गुराँसे जङ्गल रहेकाले भएका गुराँसलाई संरक्षण गर्दै विभिन्न प्रजातिका अन्य गुराँस पनि रोप्ने, भग्नावशेष अवस्थामा रहेका केहि ऐतिहासिक घर पनि भएकाले त्यसको संरक्षणमा जुट्ने र स्थानियको व्यक्तिगत जग्गा पनि यस क्षेत्रमा रहेकाले ती जग्गाको पनि व्यवस्थापन गर्ने लगायतका पक्षलाई समेत नगरको गुरुयोजनामा समेट्नु पर्ने वडा नम्बर ४ का नुतन दुलालले बताए ।

इलाम नगरपालिकाको सदरमुकामबाट ४० किलोमिटर टाडा र बागखोर बजारबाट ६ किलोमिटरको यात्रापछि पाटेनागी पुग्न सकिन्छ । धनमाने देउराली, कुहिभिरको ओडारे ढुङ्गा, पाटेनागीको जङ्गल यस क्षेत्रका प्रमुख क्षेत्र मानिन्छन् । डा. के.आर खम्बूले पत्ता लगाए अनुसार, इलाममा मात्र पाइने विशेष प्रजातिको भ्यागुतोहरु जस्तो ‘लेकाली टिकटिके पाहा, ‘मालिङ्गे पाहा पाइन्छ । विगतमा यसको संरक्षणमा समेत लागी परेको उल्लेख गर्दै यस्ता लोप हुन लागेका र भएका वनस्पति र प्राणीहरुको संरक्षणमा जुट्नु पर्ने पक्ष पनि नगरको गुरुयोजनामा समेट्नु पर्ने वडा नम्बर ३ का वडाध्यक्ष तिर्थ गुरुङले बताए ।

बैठकमा जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी, पर्यटन समितिका पदाधिकारी, पत्रकार, स्थानीयबासी लगायतको उपस्थिती रहेको थियो । पालिका प्रमुख महेश बस्नेतको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । स्थानीयहरुले बैठकमा सहभागीलाई स्वागत समेत गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार