काठमाण्डौ । सरकारले पहिलो चरणमा कोभिड–१९ (कोरोना भाइरस) विरुद्धको खोप लगाएकालाई दोस्रो मात्रा आउँदो वैशाख ७ देखि १५ गतेसम्म लगाउने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रवार आयोजना गरेको ‘कोभिड–१९ खोपको विज्ञान र नेपालमा खोप अभियान’ विषयक छलफल कार्यक्रममा मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले पहिलो खोपको मात्रा लगाएको आठ हप्तापछि दोस्रो मात्रा लगाउनु पर्ने भएकाले आउँदो वैशाख ७ देखि १५ गतेसम्म दोस्रो मात्रा लगाउने तयारी गरिएको बताए।
माघ र फागुनमा पहिलो मात्रा लगाएको आठ हप्ता पुगेपछि सबैलाई वैशाख ७ गतेदेखि नै खोप लगाउने थालिएको हो । पहिलो चरणको खोप अभियान अन्तर्गत माघ १४ देखि ३० गतेसम्म लगाएका स्वास्थ्यकर्मी, अग्रपङ्क्तिमा काम गरेका सुरक्षाकर्मी, पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलगायतलाई ‘कोभिशिल्ड’ को दोस्रो मात्रा वैशाख ७ देखि १५ गतेसम्म लगाइने भएको छ ।
पहिलो चरणको खोप अभियान माघ १४ देखि फागुन पहिलो हप्तासम्म झण्डै चार लाख २९ हजारलाई कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाइएको थियो । त्यस खोप अभियानमा कुल जनसङ्ख्या १ दशमलव ४ प्रतिशतलाई खोप प्रदान गरिएको थियो । सरकारले ७२ प्रतिशत जनसङ्ख्यालाई खोप लगाउने लक्ष्यका साथ खोप किन्ने प्रक्रियासमेत अगाडि बढाएको मन्त्रालयका सहप्रवक्ता अधिकारीले जानकारी दिए ।
उनका अनुसार थप ५० लाख मात्रा खोप खरिद गर्ने प्रक्रियासमेत अगाडि बढाइएको छ । यस अघि भारतको सेरम इस्चिस्युट कम्पनीले उत्पादन गरेको ‘कोभिशिल्ड’ खोप २० लाख किनेको मध्ये १० लाख आइसकेको छ । त्यही खोप यही फागुन २३ गतेदेखि ५५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई लगाइने भएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले कोभ्याक्स संयन्त्र मार्फत एक करोड ३० लाख मात्रा खोप पनि आउने जानकारी दिए। उनले यसअघि खोप अभियान सञ्चालन गरेर दादुरा–रुबेला, बिफर, जापानिज इन्सेफेलाइटिस रोगलाई निवारण गरेको उल्लेख गर्दै कोभिड–१९ लाई पनि खोपद्वारा नै नियन्त्रण गर्ने बताए । उनले खोपबारे बुझाउन नसक्दा सुरुमा खोप नलगाउन मानिस हिच्किचाएको समेत बताए।
विश्व स्वास्थ्य सङ्गठन नेपालका नेशनल प्रोफेसनल अफिसर डाक्टर राहुल प्रधानले कोभिशिल्ड खोप नेपालसँगै विश्वका ५८ देशले प्रयोग गरिरहेकाले प्रभावकारी र सुरक्षित रहेको बताइएको छ। उनले विश्वमा २२ करोड ७६ लाख मानिसले लगाइसकेको समेत जानकारी दिए।
उनले विभिन्न अध्ययनले कोभिशिल्ड पहिलो मात्रा लगाएको आठ हप्तामा लगाए ७१ प्रतिशत र १२ हप्तामा लगाए ८१ प्रतिशत प्रभावकारी देखिएको बताए । गम्भीर रोग लागेकालाई शत प्रतिशत केही नभएको समेत उनले स्पष्ट पारे । खोपमा एक डलर खर्च गरे ४२ डलर फिर्ता हुने उनको भनाइ रहेको छ ।


346 पटक हेरिएको 






