इलाममा तेस्रो चरणको कोभिशिल्ड खोप अभियान फागुन २३ देखि सुरु

तेस्रो चरणको खोप अभियान

  सरलपाटी सम्वाददाता

 401 पटक हेरिएको

इलाम । कोरोना भाईरस नियन्त्रणका लागि सञ्चालन भएको तेस्रो चरणको कोभिशिल्ड खोप अभियान इलाममा आगामी फागुन २३ गतेदेखि सुरु हुने भएको छ । जिल्लामा पहिलो चरणको पहिलो प्राथमिकता र दोस्रो प्रथमिकताकालाई लगाई सकिएपछि तेस्रो चरणको अभियान सुरु हुने भएको हो ।

स्वास्थ्य कार्यलय इलामका अनुसार, तेस्रो चरणमा ९० प्रतिशतलाई खोप लगाउने लक्ष्य राखेको छ । जसका लागि जिल्लामा दुई सय १४ वटा खोप केन्द्र स्थापना गरी अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यलय इलामका प्रमुख वृजकुमार दासले जानकारी दिए ।

उनका अनुसार, अभियान सञ्चालनमा जिल्लाका तीन सय जना स्वास्थ्यकर्मीलाई तालिम दिएर खोप केन्द्र पठाइनेछ । खोप केन्द्रमा एक जना तालिम प्राप्त स्वास्थ्यकर्मी र दुई जना स्वयमसेवक खटाइनेछ ।यस चरणमा १८ वर्ष भन्दा माथि उमेर समूहकाहरुलाई लगाइनेछ । यस उमेर समूहमा पनि गर्भवती महिला, रक्तश्रावको समस्या भएका, अन्य खोप लगाउँदा एलर्जी भएका र १८ वर्ष मुनिकालाई खोप नलगाउने प्रमुख दासले बताए ।

एक व्यक्तिले खोपको डोज पूरा गर्न दुई पटक खोप लगाउनु पर्ने र पहिलो पटकको खोप लगाएको चार हप्ता पछि पुनः खोप लगाउनु पर्नेछ । दीर्घरोगीहरु जस्तै मुटु सम्बन्धीका रोगी, मस्तिष्क सम्बन्धीका रोगी, फोक्सो सम्बन्धी रोगी, मृगौला सम्बन्धीका रोगी, क्यान्सर सम्बन्धीका रोगीहरुलाई समेत खोप दिन जरुरी रहेको खोप सुपरभाइजर गंगाधर पण्डितले बताए।

खोप अभियानमा इलाम पहिलो

खोप अभियानमा प्रदेश नम्बर १ को पहाडी जिल्ला मध्ये इलाम पहिलो भएको छ । पहिलो र दोस्रो चरणमा कोभिशिल्ड खोप लगाउने नागरिकको संख्या अन्य जिल्लाका तुलनामा इलाममा बढी भएकाले पहिलो भएको स्वास्थ्य कार्यलय इलामका प्रमुख वृजकुमार दासले बताए।

यस चरणमा जिल्लाका तीन हजार पाँच सय २५ जनाले खोप लगाएको उनको भनाई छ । जसमा पहिलो चरणमा आठ सय ९५ महिला र पाँच सय ७० जना पुरुष गरी एक हजार चार सय ६५ जनाले लगाएका थिए ।यस्तै दोस्रो चरणमा भने एक हजार पाँच सय ४३ पुरुष र पाँच सय १७ जना महिला गरी दुई हजार ६० जनाले लगाएको कार्यलयले जनाएको छ ।

यो अभियान जिल्लामा गएको माघ १४ गतेबाट सुरु भएको हो । दोस्रो चरणको भने गएको फागुन दुई गतेबाट सञ्चालन भएको थियो । तेस्रो चरणको भने नेपाल सरकारबाट पाँच दिन सञ्चालन गर्ने भनिए पनि इलाममा ८ दिनसम्म सञ्चालन गरिनेछ । जुन आगामी फागुन २३ देखि २७ गतेसम्म सञ्चालन हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार