
इलाम । पूर्वी पहाडी जिल्लाका मृगौला रोगीलाई उपचारमा सहज भएसँगै टाढाको अस्पताल धाउनु पर्ने बाध्यता हटेको छ । इलाम अस्पतालमा पहिलो पटक मृगौला रोगीहरुको निम्ति डाइलोसिस मेशिन जडान गरिएकाले रोगीलाई उपचारका लागि अन्तरजिल्ला धाउनु पर्ने बाध्यता हट्ने भएपछि उपचारमा सहज हुने भएको हो ।
इलाम नगपालिका र रोटरी क्लव धरानको सहयोगमा आइतबार इलाम अस्पतालमा डाइलोसिस मेशिन जडान गरिएको हो । ४३ लाख ७५ हजार रुपैयाँको लागतमा मेशिन जडान गरिएको जिल्ला अस्पताल इलामका व्यवस्थापक छितिज खतिवडाले जानकारी दिए ।
उनका अनुसार, मेशिन खरिदको लागि इलाम नगरपालिकाले १५ लाख रुपैयाँ उपलब्ध गराएको छ । बाँकी रकम रोटरी क्लब धरानको पहलमा जुटाइएको हो । मेशिन सञ्चालनको लागि पालिकाले एक जना जनशक्तिको खर्च व्यहोर्नेछ । बाँकी जनशक्तिको व्यवस्थापन जिल्ला अस्पताल इलामले गर्नेछ । जिल्ला समन्वय समितिको नव निर्मित भवनमा मेसिन जडान गरिएको छ । डाइलोसिस गराउने ठाँउको लागि जिल्ला समन्वय समितिले निःशुल्क रुपमा भवन उपलब्ध गराएको हो ।
मेसिन सञ्चालनको लागि आवश्यक जनशक्तिलाई तालिम गराएपछि सेवा शुरु गरिनेछ । ‘दुई स्वास्थ्यकर्मीलाई धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठनमा तालिम गराएपछि मृगौला रोगीको डाइलोसिस सेवा शुरु हुन्छ’, रोटरी क्लवका कृष्ण साहले भने, ‘तालिम गराउने विषयमा प्रतिष्ठानसँग सम्झौता भइसकेको छ ।’ जिल्ला अस्पताल इलामले तालिममा पठाउने जनशक्तिको छनोट समेत गरिसकेको छ ।
एउटा डाइलोसिस मेशिनबाट चार घण्टामा एक जनाले सेवा लिन सक्नेछन् । तीन वटा मेसिन भए पनि एक पटकमा दुई जनालाई मात्रै सेवा दिन सकिने व्यवस्थापक खतिवडाले बताए । तीन मध्ये एक वटा मेसिन भने स्पायर राख्नुपर्ने हुन्छ, यसैले एक पटकमा दुई जनाले मात्रै सेवा पाउने उनले जानकारी दिए ।
सेवा शुरु भएपछि इलाम, पाँचथर, ताप्लेजुङ्ग, तेह्रथुमका बिरामीले इलामबाटै सेवा पाउनेछन् । इलाम अस्पतालमा सेवा शुरु भएपछि नियमीत डाइलोसिसको लागि तराई तथा अन्य जिल्लाका अस्पताल जानुपर्ने बाध्यता टर्नेछ । अहिले तीन वटा मेसिन जडान भएका छन् । भविश्यमा सात वटा मेसिन थप गरेर १० वटा बनाइने लक्ष्य रहेको पालिका प्रमुख तथा नेपाल नगरपालिका संघ एक नम्बर प्रदेशका संयोजक महेश बस्नेतले बताए ।
‘जर्मनी राजदुतबासले नेपाल नगरपालिका संघ मार्फत दुई सय वटा डाइलोसिस मेसिन दिने भएको छ, त्यस मार्फत प्राप्त सात वटा मेसिनको लागि हामीले आग्रह गरेका छौ, उनले भने ।’ ‘इलाममा मृगौला रोगीका लागि आवश्यक पर्ने डाइलोसिसको लागि उपकरण जडान भएपछि यसले मृगौला पिडीतको जीवनलाई सरल, सहज र लामो बनाउनेछ भन्नेमा हामी ढुक्क छौँ, उनले थपमा भने ।’
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले डाइलोसिस गर्ने उपकरण इलाममा जडान भएपछि पूूर्वी पहाडी क्षेत्रका बासिन्दाले ठूलो राहात मिल्ने बताए । ‘डाइलोसिस गराउनकै लागि तराईमा भएका अस्पताल या राजधानी जनुुपर्ने बाध्यता थियो, यसले अब त्यस्तो बाध्यता हटाउँछ’, प्रमुख बरालले भने ।
अस्पतालमा अहिले पनि विषेशज्ञ चिकित्सक लगायतका जनशक्तिको अभाव रहेको भन्दै उनले अन्य जिल्ला अस्पतालको तुलनामा इलाममा जनशक्तिको अवस्था राम्रो रहेको बताए ।
जिल्ला अस्पतालमा केही समय अघि मात्रै दुई वटा भेन्टिलेटर जडान गरिएको छ । अर्को एउटा भेन्टिलेटर समेत जडानको अन्तिम चरणमा रहेको बताइएको छ । यस अघि जिल्ला अस्पतालमा भेन्टिलेटर सुविधा नभएको अस्पतालको भनाई छ ।


494 पटक हेरिएको 






