अहिलेसम्म तीन लाख ४० हजारले लगाए कोरोना विरुद्धको खोप

खोप

  सरलपाटी सम्वाददाता

 272 पटक हेरिएको

काठमाण्डौ । कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप अभियान अन्तर्गत तेस्रो प्राथमिकतामा परेकाहरुलाई खोप लगाउने काम आजदेखि सकिँदै छ ।

गएको आइतवारदेखि सुरु भएको यो अभियानमा पत्रकार, पालिकाका जनप्रतिनिधिहरु, सीमा सुरक्षा पोस्टमा खटिएका सुरक्षाकर्मी तथा पहिले छुटेका स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेवक, एम्बुलेन्स तथा शववाहन चालकहरु, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीलाई खोप लगाइएको छ ।

यसअघि माघ २४ गते पहिलो र ३० गते दोस्रो प्राथमिकतामा परेकाहरुलाई खोप लगाइएको थियो । पहिलो चरणको पहिलो प्राथमिकतामा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स, शववाहन चालक, कारागारका कर्मचारी, कैदी, सफाइकर्मीलाई खोप लगाइएको थियो ।

यस्तै दोस्रो प्राथमिकतामा पत्रकार, दूतावासका कर्मचारीहरु र राष्ट्रसङ्घको एजेन्सीमा कार्यरत कर्मचारीलाई खोप लगाइएको थियो । भारतीय सिरम इन्स्टिच्युटले उत्पादन गरेको दश लाख मात्राको कोभिशिल्ड खोप भारत सरकारले अनुदानमा दिएपछि माघ १४ गतेदेखि नेपालमा खोप अभियान सुरु भएको हो ।

अहिलेसम्म तीन लाख ४० हजार भन्दा धेरैले खोप लगाइसकेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले आउँदो २३ गतेदेखि दोस्रो अभियान सञ्चालन गर्ने भएको छ । दोस्रो अभियानमा ६० वर्षमाथिका नागरिकलाई खोप लगाउने सरकारको तयारी छ ।

उमेर समूह निर्धारण गरेर त्यसै अनुसार समुदायस्तरमा खोप लगाइने खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिए। खोप लगाएकै कारण कसैलाई पनि गम्भीर स्वास्थ्य समस्या नभएकाले ढुक्क भएर खोप लगाउन पनि उनले आग्रह गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार