काठमाण्डौ । हवाई सेवा प्रदायक कम्पनीको छाता सङ्गठन वायु सेवा सञ्चालक सङ्घ नेपालले हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडामा केही वृद्धि गरेको छ ।
नेपाल आयल निगमले गएको फागुन ४ गतेदेखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर दुई रुपैयाँ बढाउने निर्णय गरेकाले हवाई इन्धनको मूल्य जे–जति घटबढ हुन्छ त्यही अनुपातमा स्वचालित प्रणाली अनुसार मूल्य लागू गर्ने निर्णय भएको सङ्घले शुक्रवार विज्ञप्ति मार्फत जनाएको छ ।
निर्णय अनुसार सङ्घमा आबद्ध वायु सेवा कम्पनीले फागुन ८ गतेदेखि नयाँ इन्धन मूल्य लागू गर्नेछन् । यस विषयमा नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृतसमेत प्राप्त भइ आएकाले हवाई इन्धनको मूल्य समायोजन गरिएको सङ्घले जनाएको छ । नयाँ मूल्य अनुसार साविकको प्रतिलिटर ६५ बाट वृद्धि भइ ६७ कायम गरिएको छ ।
हवाई इन्धनको मूल्य बढेकाले सबै गन्तव्यको उडानमा थोरै मात्रामा हवाई भाडादर वृद्धि गरिएको सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले बताए । उनका अनुसार हवाई इन्धनको मूल्य बढेअनुरूप सबैभन्दा लामो गन्तव्य अर्थात् काठमाण्डौ–धनगढीका लागि ९० रुपैयाँ बढेको छ ।
काठमाण्डौबाट सबै भन्दा नजिकको गन्तव्यमा न्यूनतम १० रुपैयाँ वृद्धि गरिएको छ भने काठमाण्डौबाट हुने पर्वतीय उडानमा ७० रुपैयाँ बढेको छ ।


479 पटक हेरिएको 






