
इलाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङले आन्दोलन होइन जनताको समर्थन रोज्नु पर्ने बताए । लोकतन्त्रमा छलफल हुन्छ, यसलाई अन्यथा मान्नु हुन्न । अहिले हामी छलफलमा छौँ, आन्दोलन किन गर्ने ? भन्दै घुमाउरो शैलीमा नेम्बाङले आन्दोलन गर्ने होइन चुनावको तयारी गर्नु पर्ने संकेत गरे ।
गृहजिल्ला इलाममा बिहीबार आयोजित चुम्लुङ हीम समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेम्बाङले भने, ‘म आग्रह गर्छु, सबै राजनीतिक दलले विनम्रताका साथ आफ्ना कुरा राखौँ । चिन्ता नलिऊ । जे हुन्छ सर्वाेच्चको फैसला अनुसार नै हुन्छ भन्दै आन्दोलनको आवश्यकता नरहेको उनको तर्क थियो ।
‘अहिले विभिन्न सभा समारोह भएका बेला हामी शाकाहारी आन्दोलन गर्छौँ भनेको कताकता सुन्छु,’ सभामा बोलिएका कुरालाई कटाक्ष गर्दै, उनले भने, ‘जनता आफैमा सबल बनीसकेका छन् अब दलले आन्दोलनमा होइन जनताको मन जित्नमा प्रतिष्पर्धा गर्नु पर्छ । यसैमा आ– आफ्नो भलाई हुने पक्का छ ।

आगामी फागुन १५ सम्ममा सर्वोच्चको फैसला हुन्छ । फैसलामा चुनाव गर्ने भन्ने निर्णय गरे सबै दल सेकेण्डकै भरमा चुनावमा उत्रने जिकीर गर्दै, उनले भने, सबै दल चुनावकै तयारीमा छन् । प्रतिक्षाको दिन आउन मात्रै बाँकी छ ।
उनले एक फरक प्रसंगमा भने, यस चुम्लुङ हीममा च्याब्रुङ् नाच र लिम्बू गीत मात्र हेर्न सुन्न पाइने होइन, आगामी दिनमा मारुनी, साकेवा सेली, तामाङ् सेलोको समेत प्रस्तुती यहि भवनबाट हेर्न पाउछौँ । फरक सस्कार सस्कृति रीतिरिवाज भए पनि हामी नेपालीमा एक हौँ भन्ने भावना छ भन्नेमा विश्वस्त बन्न सबैमा उनले आग्रह गरे ।
यस्तै इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले शासन व्यवस्था जनतामा निहित भएकाले चुम्लुङ हीम भवनको जग बसेको बताए । कार्यक्रममा बोल्दै उनले भने, पालिकाले भौतिक विकासलाई मात्रै होइन मानवीय पक्ष भाषा, सस्कार, सस्कृतिलाई जर्गेणा गर्ने कार्यमा समेत लगानी गरीरहेको छ । र आगामी दिनमा पनि गर्छ उनले प्रतिबद्धता जनाए ।
कार्यक्रममा समाजसेवीद्धय गोविन्द पौडेल, गंगा भूर्तेल, वडा नम्बर पाँचका वडाध्यक्ष तथा पालिका प्रवक्ता ठाकुरनारायण श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
भवन समुद्घाटनकै अवसरमा भवन निर्माणमा सहयोग पु¥याउने मिन कुमार लिम्बू र जग्गादाता खड्ग बहादुर लिम्बूलाई प्रमाण पत्र र दोसल्ला ओडाएर सम्मान समेत गरिएको छ । केन्द्र, प्रदेश र स्थानिय तहको सहयोगमा ८० लाख भन्दा बढीको लगानीमा भवन निर्माण सम्पन्न भएको बताइएको छ ।

भवन इलाम नगरपालिका वडा नम्बर ५ मा किरात याक्थुङ चुम्लुङ गाउँ शाखाले जग्गा खरिद गरी भवनको निर्माण कार्य सम्पन्न गरेको हो । भवन सभा, सम्मेलन, विवाह, भोज, चाडपर्व लगायत विभिन्न कार्यक्रम सञ्चालनका लागि प्रयोगमा ल्याइनेछ ।
किरात याक्थुङ चुम्बुलुङ अध्यक्ष प्रेमराज लिम्बूको अध्यक्षतामा भएको कार्यक्रमलाई ढोल बजाएर नेम्बाङले उद्घाटन गरे । कार्यक्रममा लिम्बू नृत्य तथा गायन समेत प्रस्तुत गरिएको थियो । आज नै भूमी सम्बन्धी समस्या समाधान आयोगको जिल्ला कार्यलय उद्घाटन समेत नेम्बाङबाटै गरिएको थियो ।



431 पटक हेरिएको 






