इलाम । इलामको माइखोलामा निर्माणाधीन ९.५१ मेगावाटको माइबेनी जलविद्युत आयोजना विद्युत उत्पादनको तयारीमा पुगेको छ । लामो समय सम्म कोरोना भाइरस र त्यसको नियन्त्रणका लागि बन्दाबन्दीको चपेटामा परेको आयोजनाले फागुन भित्रै विद्युत उत्पादन गर्ने जनाएको छ ।
‘बन्दा बन्दीले धेरै असर ग¥यो । लक्ष्य अगावै काम सक्न दिनरात नभनि काम गर्दा फागुन भित्र पूर्ण उत्पादन गर्न सकिन्छ कि भन्ने स्थितिमा पुगेका छौं ।’ हाइड्रो पावरका आयोजना प्रवन्धक राजेन्द्रराज भारतीले भने ‘टनेल, सबस्टेशन लगायतका प्रायः सबै स्टकचरको काम सक्किएको छ । प्रसारण लाइन पनि सम्पन्न भयो । अब परिक्षणमा जाने छौं ।’
आयोजनामा करिब ३५० मिटर लामो पेनस्टक पाइपलाइन जडान जडान गरिएको छ । यस्तै एक हजार मिटर र एक हजार चार सय मिटर लामो दुई वटा सुरुङ निर्माण गरिएको छ । गत वर्षको असारबाटमात्र काम शुरु भएको आयोजनाको आगामी भदौ महिनामा काम सम्पन्न गर्ने लक्ष्य लिइएको भएपनि आयोजना छ महिना अगावै पुरा हुने अवस्थामा आइपुगेको भारतीले बताए ।
करिब एक अर्व ८६ करोडको लगानी रहेको आयोजनाको एसबीआइ बैंक र सिद्वार्थ बैंकले कूल लागतको ७५ प्रतिशत ऋण लगानी गरेका छन् । बाँकी २५ प्रतिशत स्वपूँजी लगानी रहेको जनाइएको छ । काबेली कोरिडोरमा जोडिने आयोजनाबाट वार्षिक ५३.२८ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ ।
यसअघि माइखोलामा सुलुबुङ–माइमझुवा–माबु बीचमा १२ मेगावाटको अपरमाइ हाइड्रो पावर र त्यसकै छ मेगावाटको क्यासकेटको सञ्चालनमा छन् । बरबोटे र सोयाङबीच पर्ने माइखोलाको दुधाङ बेंसीमा ७ दशमलव ८ मेगावाटको सुपरमाइ हाइड्रोले गतवर्षदेखि उत्पादन शुरु गरेको छ । माइखोलाकै राजदुवाली नजिक हिमाल दोलखा जलविद्युत् आयोजना ७ दशमलव ५ मेगावाट र चिसापानीमा २२ मेगावाटको सानिमा माइ हाइड्रो पावर तथा त्यसको ८ मेगावाटको क्यासकेट सञ्चालनमा छन् ।
सुपरमाइ, सुपरमाइ क्यासकेट, सगरमाथा, माइबेनी हाइड्रो र छ दशमलव दुई मेगावाटको पुवाखोला जलविद्युत आयोजना गरि इलामका ११ जलविद्युत आयोजनाको कुल क्षमता ८६.९७ मेगावाट रहेको छ ।


609 पटक हेरिएको 






