इलाम । विश्वमै महामारीको रुपमा देखा परेको कोरोना भाइरसले विश्वलाई नै तहस नहस बनायो । नेपालमा पनि यसले नराम्ररी प्रभाव पार्याे । कोरोना भाइरस र देशमा भएको तीन महिना भन्दा लामो लकडाउनका कारण अर्थतन्त्र डामाडोल बन्नुका साथै शिक्षा लगायतका हरेक क्षेत्रमा प्रत्यक्ष असर पार्यो ।
अर्थतन्त्र र शिक्षा क्षेत्रमा सबै भन्दा बढि असर पर्यो । महामारीबाट ग्रसित भइरहँदा विद्यालयहरु लामो समय देखि बन्द भए । सामाजिक दूरी कायम राखेर बल्लतल्ल केहि महिनायता विद्यालयहरु खुलेका छन् । पाठ्यपुस्तक व्यवस्थापन, नयाँ शैक्षिक कार्यपात्रो तथा कार्ययोजना निर्माण जस्ता कार्यहरुमा असर पार्न पुग्यो ।
कोरोना कहरको संत्रासका बिच सरकारी विद्यालयमा अध्यापन गर्ने सरकारी दरबन्दीका शिक्षकहरुमा राज्यबाट नियमित तलब भत्ता प्राप्त हुँदा सरकारी शिक्षकहरुले खासै समस्या भने भोग्नु परेन । निजी विद्यालयमा अध्यापनरत शिक्षक र सरकारी विद्यालयमा निजी स्रोतमा अध्यापनरत शिक्षकहरुमा विद्यालय बन्द हुँदा जागिर जोखिममा पर्ने र आफू बेरोजगार हुने चिन्ता बढ्दै गएको थियो ।
देशका धेरै जिल्लाका निजी विद्यालयका शिक्षकहरुले बिकल्प रोजेर अन्य काममा लागे । यता इलामका पनि केही निजी विद्यालयका शिक्षकहरु अन्य पेशामा लागे । तर जिल्लाका अधिकाँश निजी विद्यालयका शिक्षकहरु कोभिडको जोखिमपूर्ण अवस्थामा पनि विद्यालय खुल्ने आशमा र सम्बन्धित विद्यालयमै अध्यापन गराउने गरी धैर्य गरेर बसेका थिए ।
कोभिडका कारण लामो समयसम्म भएको लकडाउनले निजी विद्यालयहरु संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको बेला पनि आफू कार्यरत विद्यालयप्रति सकारात्मक भूमिका इलामका नीजि विद्यालयका शिक्षक तथा कर्मचारीले निभाएका थिए । यसैलाई मध्यनजर गरेर इलाम सदरमुकाममा शुक्रबार इलामनगर क्षेत्रमा रहेका निजी विद्यालयमा कार्यरत कर्मचारीलाई सम्मान गरीएको छ ।

निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन प्याब्सन इलाम नगर कार्य समिति इलामले निजी विद्यालयका शिक्षकलाई सम्मान गरेको हो । प्याब्सन नगरले इलाम नगर क्षेत्रभित्र रहेका प्याब्सनमा आबद्ध निजी विद्यालयका ३ सय ५० जना शिक्षक र कर्मचारीलाई सम्मान गरेको हो । प्याब्सन इलाम नगरका अध्यक्ष कुशबहादुर थेवेको अध्यक्षता एवं इलाम नगरपालिकाका मेयर महेश बस्नेतको प्रमुख आतिथ्यमा शिक्षक तथा कर्मचारीलाई सम्मान गरेको हो ।
कोरोनाको मारमा शैक्षिक क्षेत्र परिरहँद सरकारी विद्यालयले कोरोनाको समयमा विद्यार्थीलाई कुनै न कुनै माध्यमबाट शैक्षिक गतिबिधि अगाडी बढाउने काम गरेन । तर इलाममा रहेको निजी विद्यालयले भर्चुअल माध्यम सहित अन्य विभिन्न प्रबिधिको प्रयोगबाट भएपनि शैक्षिक गतिबिधिलाई निरन्तरता दिँदै अभिभावकको मन समेत जितेको थियो ।
यता सम्मान कार्यक्रममा इलामनगरपालिका ४ का वडाध्यक्ष नुतनदेव दुलाल, ५ का वडाध्यक्ष ठाकुरनारायण श्रेष्ठ, वडा नम्बर ७ का वडाध्यक्ष नरेश श्रेष्ठ सहित प्याब्सन इलामका जिल्ला अध्यक्ष बिकास कर्मचार्य समेतका बक्ताले कोभिडको समयमा निजी विद्यालय र निजी विद्यालयका शिक्षक कर्मचारीले शैक्षिक गतिबिधि अगाडी बढाउन पुर्याएको योगदानको चर्चा गरेका थिए ।


629 पटक हेरिएको 






